काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।
पार्टी कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
बैठकमा पार्टीको केन्द्रीय कमिटीको बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।
विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ ।
यसैगरी, पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने प्रस्ताव गरिएको छ । एमालेको केन्द्रीय कमिटी ३५७ सदस्यीय हुने व्यवस्था छ ।









