सामाजिक सञ्जाल स्क्रोल गर्दै गर्दा फिडमा एउटा भिडियो आयो । त्यो भिडियो हेरेपछि मेरो मथिङ्गल हल्लियो । एउटा पुरुष आफ्नी श्रीमतीमाथी यसरी झम्टिरहेको थ्यो मानौं त्यो उसको शिकार हो र उ महिनौंदेखि भोको छ । श्रीमतीलाई अर्धनग्न बनाएर पानीमा डुबाएर चोबल्दै निकाल्दै पिट्दैथ्यो । यस्तो लाग्थ्यो ती महिलाले सास पनि उसले अनुमती दिएपछि मात्रै फेर्न पाउँछिन । मरुन्जेल श्रीमती कुटेको हेर्ने रमिते समाज देखेर त झनै आक्रोशको ज्वाला दन्कियो ।
भिडबाट कसैले भिडियो खिचिरहेको छ भनेपछि मात्रै त्यो व्यक्ति अलि संयम देखियो । फेरि अलि पर पुगेपछि भकाभक पिट्न थाल्यो । यो त बाहिर सार्वजनिक रुपमा देखिएको दृष्य हो । हरेक दिन हरेक घण्टा ती महिलाले पाएको र खेपेको यातना कति र कस्तोसम्म होला भनेर म आफै खल्बलिएँ । मैले त्यहाँ पुरुषले एक महिला माथी गरेको हिंसा मात्र देखिन, हाम्रो समाजको प्रतिविम्व पनि देखें । त्यो श्रीमतीको सास रहुन्जेल त्यो समाज छेउमा जाँदैन, लास बनेपछि बल्ल आँशु चुहाउँदै उठाउन जान्छ ।
दिमाग ढलमल भइरहेका बेला फेसबुकमा तथाकथित साथी रहेका एक सज्जन भनौंदाले विष्णु सापकोटाको फेसबुक स्टाटसलाई लभ रियाक्ट गर्दै शेयर गरेछन, मेरो आँखा गयो, उनको प्रोफाईलमा गएर सरर पढें । त्यसमा आएका कमेन्टहरु हेरें । ए एलिनाले पो उनलाई भकुरेर नेपाल गएर बेपत्ता भईछिन् कि झैं गरी स्टे स्ट्रङ दाई भन्ने कमेन्ट टन्नै रैछन् ।
पछिल्लो समय हाईपमा आएको एलिना र विष्णुको सम्वन्धबारे शायद धेरैलाई थाहा होला । कसैका लागि यो हाँसो (कमेडी) को विषय भएको छ । कसैको लागि यही कुरा उठाएर, उछालेर, पल्टाएर पैसा कमाउने माध्यम बनेको छ । तर केहीलाई यसले साँच्चै नै प्रभाव पारेको छ ।
म एलिना वा विष्णु कसैलाई चिन्दिन । एउटा फरक, अब्बल, प्रष्ट र माझिएको आवाजकी धनी गायीकाको रुपमा एलिनालाई कभर गीतहरु गाएदेखि नै चिन्थे । विष्णुलाई त उनले बिहे गरेपछि चिनेकी हुँ । धेरैले एलिनाको पति भनेर नै चिन्ने र चिनिएका हुन् ।
पछिल्लो समय यो कन्ट्रोभर्सी उत्कर्षमा पुगेको देखियो । एलिनाले बिहे गरिन्, पतिसँग बस्न अस्ट्रेलिया गईन्, फर्केर आईन् । सम्वन्ध विच्छेदको हल्ला चल्यो, उनले होईन भनेर टारिरहिन् । पछि आफैंले फेसबुकमा स्टाटस लेखिन् हाम्रो सम्वन्ध सकियो भनेर । त्यसपछि उनीमाथी चौतर्फी प्रहार सुरु भयो । थाहा छैन यस्ता मान्छेहरुलाई अरुको पिडामा नुनचुक छर्न किन मजा आउँछ । परपीडकहरु फेक आईडी बनाएर हुँडारको शैलीमा आउँछन् र घोचेर जान्छन् ।
कलिलो उमेरमा, करियरको उच्च विन्दुमा भएको बेला, बुबाआमा आफ्ना आफन्तले सम्झाएको पनि नसुनी सारा संसार ठानेर उसैको पछि लागेर गएको मान्छेले नै फर्कन बाध्य बनाएपछि उनी माथी के बित्यो होला । मलाई त कल्पना गर्दा पनि सिरिंग हुन्छ । त्यति पीडामा हुँदा पनि मन भित्रै दबाएर मलाई ठिक छ भन्न उनले कसरी सकिन् होला ? तपाईंले कहिल्यै सोच्नुभएको छ ?
कति सजिलो छ भन्न मन मिलेन छुट्टियो सन्वन्ध सकियो किन निकालिरहन पर्यो ? अरे यार कोही कसैले सामान्य रुपमा गरेको अपमान त हामी जिन्दगीभर भुल्न सक्दैनौं ? आफ्नो सर्वश्व ठानेको मान्छेले बार–बार गरेको शारिरीक र मानसीक पीडा एउटी नारीले कसरी भुल्न सक्छे ? ममता काफ्लेको विषयमा बोल्नेहरु जिउँदो एलिनालाई किन बाँचिराछेस भनेर प्रश्न गरिराछ ? कि एलिना बाँचेको र हाँसेको देखेर औडाहा भयो ?
हामीले भरखर जन्मिएको बच्चाको हुर्काई हेरौं । हामी बाबुआमाले भरखर जन्मिएको बच्चालाई कति जतनले हत्केलामा बोक्छौं, काखमा बोक्छौं, कोक्रोमा हाल्छौं । बढ्दै जाँदा लड्ला कि चोट लाग्ला कि भनी कति चिन्ता गर्दै हुर्काउँछौं ।
एलिना र ममताहरुलाई पनि उनका आमाबुबाले यसैगरी पालन पोषण गरेर हुर्काएका हुन् । छोरीलाई खुशी राख्नुस् भनेर पूजा गरेर सुम्पिएका हुन् । जे मन लाग्छ त्यही गर यहाँ हामी पाल्न सक्दैनौ भनेर दान दिएका होईनन् । र यी भाँडाकुटी खेलौना होईनन्, सजिव मान्छे हुन् । खेलौना जसरी खेलाउन पाईएन भनेर कुच्याएर मिल्काउने ?
श्रीमान् र श्रीमती सहयात्री हुन् जिन्दगीको । यसको मतलव एउटै बाटोमा सँगै हिंड्ने हो, एउटा माथी एउटा तल भएर हिड्दा यात्रा असहज हुन्छ नै । एउटी छोरी मान्छेलाई सकेसम्म सम्वन्ध जोडिइसकेपछि घर बसाउने चिन्ता हुन्छ, घर बिगार्ने लालसा कहिल्यै हुँदैन । एलिनाले सकेसम्म घर बसाउने प्रयास गरेकी हुन्, उनका अन्तर्वार्ताहरु हेर्दा यस्तो लाग्छ उनी सम्वन्धप्रति अत्यन्तै चिन्तित पनि थिईन् । किनकी उ सँग बिहे नगर भन्नेहरुलाई देखाउनु थियो कि मैले सही मान्छे चुनेकी हुँ । सम्वन्ध राम्रो हुँदैन भन्ने बुबाआमालाई बताउनु थियो, हेर्नुस् त छोरीले कति सुख पाएकी छ ।
एकपटक बहुत कुटिल मुस्कानका साथ श्रीमतीलाई अँगालो हाल्दै उनको श्रीमानले भनेको सम्झन्छु , ‘यिनले मलाई पाई छाडिन् ।’ त्यहाँ उनको मैमत्व र घमण्ड सहजै देखिन्थ्यो । मलाई त्यतिबेलादेखि नै शंका थियो यो सम्वन्धमा को हावी हुनेवाला छ भनेर ।
एलिनाले संगै दिएका अन्तरवार्ताहरुमा पनि भनेकी थिईन् उहाँलाई मैले नै बढी मन पराएकी हुँ, अलि बढी जोडबल मेरै हो । मलाई अफसोच छ राम्रो मान्छे परेको भए उनको यो माया कति जतन गरेर राख्ने थियो होला । त्यसैले भनिएको होला जिन्दगीमा आफुले भन्दा पनि आफुलाई माया गर्ने मान्छेसँग बिहे गर्नुपर्छ ।
तर जसलाई मायाभन्दा बढी कसैसँग जोडिएर चर्चित हुने, धेरै धनी हुने, सबैसँग दाँत मात्रै देखाउने भित्र दारा किट्ने स्वभाव र लालसा हुन्छ, एउटा निश्चित बिन्दूपछि सम्बन्ध टुट्छ र टुटाउँछ नै ।
जब एलिनाले आफूलाई फेक आईडीहरुबाट आएको कमेन्टविरुद्ध अभियान थालिन् । उनले विस्तारै समर्थन पाउन थालिन् । अब पासा पल्टियो, नकारात्मक कमेन्ट आफूतिर सोझियो । अनि बल्ल स्टाटस आयो, मलाई मानसिक पीडा भयो । आफूले माया गरेको मान्छेलाई अरुले नानाथरी भन्दा चुपचाप लागेर, अझ मलाई बुढी चाहियो उठभन्दा उठ्ने बसभन्दा बस्ने भनेर टिकटक बनाउन सक्ने ।
एलिनाले बरु उहाँलाई केही नभन्नुहोला भनेर त्यतिखेर स्टाटस लेखेकी थिईन् । यिनको बत्तीसदन्तबाट एक पटक निस्केन यस्तो आवाज । उनले बर्षौंदेखि यस्तो खालको कमेन्ट र धम्की कति र कसरी भोगिन् होला भन्ने महशुस भयो कि नाईं महोदय ?
अझ दाई नबोलेरै मन जित्यौ भन्नेहरु सुन् बोल्न ठाउँ हुन्थ्यो भने तिमीहरुको दाई पहिले नै बोल्थे । अहिले आफूलाई पर्दा बोल्न सक्दा रैछन् त । तिमीहरुको दाईप्रति माया नहुने थियो भने एलिनाले उतिखेरै पुलिस केस गर्न सक्थिन । निहुँ खोजेर उल्टै लान्छना र चरित्र हत्या गर्न खोज्छौ र गरिराख्छौ भने एलिनाले यो पनि गर्न सक्छिन् बिचार गर । अहिले त उनी आँशु रित्याएर, मायाको जंजालबाट मुक्त भएर, पीडाबाट निस्किएर धेरै पर पुगिसकिन् । यो उमेरमा यो सबै भोगेर खारिएकी परिपक्व र चेतनशिल नारी भईसकिन् ।
नाम विष्णु हुँदैमा भगवानले साथ दिँदैनन्, मायालु राख्दैमा सबैले माया गर्दैनन् भन्ने बेलैमा बुझम ।
मैले यति लेखेपछि गाली खाने पक्कै हो । म ढुक्क छु । न विष्णु न एलिना कसैको पक्षमा नलागि तटस्थ भएर सोच्दा यती चाहिँ सामान्य मान्छेको दिमागमा पनि आउँछ । अझ सोध्छौ होला तैंले पिटेको देखिस् ? निलडाम खोई भनेर ? यति बुझ्नु है घाँमडहरु पिटेको चोट देखाउँला भनेर मोबाइल लिएर कोही बस्दैन अनि बेडरुममा सिसिटिभी हुँदैन ।
मान्छेहरुका टिप्पणी हेर्छु ए कपाल तान्न पनि हुन्न रे, गोडा कुल्चिन पनि हुन्न रे । हो हुन्न, बिल्कुल हुन्न । पहिले पहिले यो सामान्य हो भनेर सामान्यीकरण गरेकै कारण हिंसा भनेको चाहिं निलडाम हुने गरी कुट्नु हो, लछार पछार गर्नु हो, लात्तै लात्ताले भकुर्नु हो भन्ने बुझाई छ ।
कसैलाई पनि मन नपर्ने, उसको व्यक्तित्वमा आघात पुग्ने गरी गर्ने कुनै पनि शारिरीक, मनोवैज्ञानिक र मानसिक दवाव पनि हिंसा हो भन्ने बुझौं । सम्बन्धमा सामन्जस्यता छैन, आफ्नोपन छैन, आत्मियता छैन भने घर परिवार आफन्त भनेर आफैलाई दवावमा राखेर जिवन नरक नबनाऔं ।
सिर्फ एक बार पाइन्छ जिन्दगी सिर्फ एक बार । आफ्नो खुशीको ख्याल गरौं । आफूलाई माया गरौं । जसले आफूलाई माया गर्छ उसले मात्र अरुलाई माया गर्न सक्छ । मैले यतिभन्दा अब मलाई न्यायाधीश भन्ने होलान् । मलाई पनि बालै फरर । ए अझ कतिपयले त यो ब्यक्तिगत विषय हो अरु किन बोल्नुपर्यो भनेको टिप्पणी देखेको थिएँ । हो त्यही भएर मैले अघि माथी भनेको एउटा दृष्यमा श्रीमानले श्रीमतीलाई भक्कुमार पिटेको थियो नि, त्यसमा चुपचाप हेर्ने त्यही समाजको तपाईं एक सदस्य भएकोले यो तपाईंलाई ब्यक्तिगत लाग्छ । तर मलाई लाग्दैन ।
र ,अन्त्यमा नचिने पनि नबोले पनि एलिनालाई यत्ति भन्न चाहन्छु तिमीले अत्यन्तै सुझबुझका साथ समयमै पाईला चाल्यौ र आज जुन आँट र दमका साथ आवाज बुलन्द गरेकी छौ, यसलाई कसैको दबाब वा प्रभावमा धिमा नबनाउनू । आफ्नो आमाबुबाको साथ रहेसम्म संसारमा कसैले गलाउन सक्दैन ।
तिम्रो कारणले धेरै छोरीहरुलाई सचेत बनाएको छ कि बिहे गर्न कहिल्यै हतार नगर्नु, कसैको मायामा यति अन्धो पनि नहुनु कि आफूलाई माया गर्नेहरुको मन दुखाउँदा पनि मतलव नहोस ।
सम्बन्ध लामो समय जाँदैन भन्ने लाग्छ भने एक बर्षमा होइन, एक महिनामा पनि छोड्न तयार हुनू । सम्वन्धमा आफ्नो आत्मसम्मान, स्वतन्त्रता र स्वाभिमानको ख्याल गर्नु । हो छोरीहरु अझै चिच्याउनू, निरन्तर चिच्याउनू, समाज तिम्रो पक्षमा लाग्न अझै समय लाग्छ । तर चिच्याउन नछोड्नू ।










