काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नै नभएको दाबी गर्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण गरेर औपचारिक रुपमा एमालेको राजनीतिमा पुनरागमन गरेको घोषणा गरेपछि अध्यक्ष ओलीले सदस्यता नै नवीकरण नभएको दाबी गर्नुभएको हो । गत गत असार १४ गते मदन जयन्तीका दिन पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेर पार्टीको सक्रिय राजनीतिमा फर्किएको बताउनुभएको थियो ।
नेकपा एमालेको आज बसेको पोलिटब्युरो बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नै नभएको दाबी गर्नुभएको हो । उहाँले भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय गर्ने पनि जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा नफर्कने विश्वासका साथ दोस्रो पटक राष्ट्रपति बनाइएको स्मरण गर्नुभयो ।
उहाँले पार्टीमा ठूलो र संगठित हमला भइरहेको जिकिर गर्दै अराजकता रोक्नुपर्ने पनि बताउनुभयो । ‘पार्टीलाई ठूलो र संगठित हमला छ,’ अध्यक्ष ओलीले भन्नुभयो– ‘यही बेला पार्टी भित्रबाट पनि बबण्डर उठाउने कोसिस हुनु गलत हो । यो कुरा तत्काल रोकिनुपर्दछ । नरोकिए पार्टीले रोक्छ ।’
पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा पुनरागमन गरेर नेतृत्वको दाबी गरेपछि प्रधानमन्त्री ओलीले पार्टीमा बबन्डरको कुरा उठाउनुभएको हो । उहाँले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा आफूले पत्रिकाबाट थाहा पाएको र यस विषयमा छलफल हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कसैले उचालेका आधारमा पूर्वराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन नहुने समते बताउनुभयो ।









