६ श्रावण २०८३, बुधबार
,
Latest
अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शौचालय जाने बहानामा आइसोलेसनबाट संक्रमित भागे, क्वारेन्टाइनमा सर्पले टोक्यो



अ+ अ-

नेपालगंज । बाँकेको जानकी गाउँपालिकाको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेका छन्। क्वारेन्टाइनमा एक जनालाई सर्पले टोकेको छ। जानकी गाउँपालिका–२ जोगागाउँको श्रीमाध्यमिक विद्यालयको आइसोलेसनबाट मंगलबार बिहानै शौचालय जाने बाहानामा ३५ वर्षीय संक्रमित भागेका हुन्।

जानकीको आइसोलेसनमा राखिए पनि उनको घर भने नेपालगन्ज उपमहानगरपालिका-१२ हो। आइसोलेसनमा कार्यरत जनस्वास्थ्य निरीक्षक श्यामलाल बेल्वासेका अनुसार शौचालय जाने बाहानामा संक्रमित भागेका थिए। आइसोलेसनको पूर्वमा ठूलो फलामे ढोका र पश्चिम र उत्तरमा भवन बनाइएको छ। निर्माणाधीन भवनको दक्षिणतर्फ भने डोरीको मात्र बार लगाइएको छ। संक्रमितले भाग्नलाई त्यही बाटो प्रयोग गरेको हुनसक्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बताउँछन्।

आइसोलेसनबाट संक्रमित भागेको खबर मंगलबार बिहान ४ बजेतिर पाउने बित्तिकै उनको घरसम्म पुगेर खोजी गर्दा नभेटेको जानकी गाउँपालिका १ का वडाध्यक्ष मोहम्मद रजा राइले बताए। प्रहरीले दिनभर खोजी गर्दा पनि फेला पार्न सकेको छैन।

भारतको नानपारा ससुराली भएका ती युवा त्यतैतिर भागेको आशंका गरिएको छ। यसैबीच, जानकी गाउँपालिका –१ बढैयाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका सुन्दरलाल काँदुलाई सर्पले टोकेको छ। वडा नं. १ का वडाध्यक्ष मोहम्मद रजा राइका अनुसार सोमबार राति साढे १० बजेतिर सुतिरहेको बेला उनलाई गोमन सर्पले टोकेको हो।

सयममै एम्बुलेन्स नआएपछि मंगलबार बिहान ८ बजेतिर मात्र उपचारका लागि भेरी अस्पतालमा पठाइएको उनले बताए। सर्पलाई क्वारेन्टाइनमा बसेका अन्य युवाले मारेका थिए।

सर्पले टोकेका युवा अस्पतालबाट निको भएर दिउँसो घर फर्किएका जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए। सर्पले टोक्न थालेपछि क्वारेन्टाइन बसेका स्थानीयले घरजान पाउनुपर्ने भन्दै राति विरोध प्रदर्शन गरेका थिए।

पीसीआरबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आइसकेकाले सबैलाई मंगलबार नै घर पठाइएको थियो। उनीहरु ९ जेठदेखि क्वारेन्टाइनमा बसेका थिए। अन्नपुर्णपोष्ट दैनिक