२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको ठहर गर्दै ध्यानाकर्षण गराएको छ ।  

कोरोना महामारीले पार्ने अल्पकालिन र दिर्घकालिन समस्याको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कांग्रेसले सरकारले कोरोना महामारी नियन्त्रण गर्न असफल भएको बताएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएपछि कांग्रेस नेता रमेश लेखकले नेपालमा संक्रमण देखिएको साढे चार महिना हुँदा पनि सरकारले तदारुकताका साथ काम गर्न नसकेको बताउनुभयो । सरकारले अग्रपंक्तिमा रहेर काम गर्नेहरुका लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाउन नसकेको, क्वारेन्टाइनहरुको उचित व्यवस्थापन गर्न नसकेको, उचित ढंगले परीक्षण नभएको उहाँले बताउनुभयो । लक डाउनको साढे २ महिनाभन्दा बढी समय वित्दा समेत सरकारले अस्पतालहरुको गुणस्तर सुधार गर्न नसकेको, मापदण्ड अनुसार आइसोलेसनको व्यवस्था गर्न नसकेको विषयमा कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले तत्काल आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन, अस्पतालको क्षमता र गुणस्तर वृद्धि गर्न, उचित ढंगले राहत वितरण गर्न सरकारलाई सुझाव दिएको नेता लेखकले बताउनुभयो ।

ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त सुझावहरुलाई गम्भिरताका साथ लिएको बताउनुभयो । कोरोना नियन्त्रणका लागि प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने आश्वासन पनि उहाँले दिनुभएको नेता लेखकले बताउनुभयो ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसको तर्फबाट नेता पौडेलसँगै प्रकाशरण महत, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड  र रमेश लेखक ध्यानाकर्षण पत्र बुझाउन पुग्नुभएको थियो ।