काठमाडौं । प्रतिनिधिसभाका सांसद मोहन आचार्यले रसुवामा आएको बाढी पहिरो पीीडतलाई तत्काल राहत, उद्धार तथा पुनस्र्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद आचार्यले हिजो बसेको प्रतिनिधि सभा बैठकमा रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण बेपत्ताको खोजी, घाइतेलाई उपचार र उद्धार तथा पीडितको राहत तथा पुन:स्थापनामा जोड दिनुभएको हो ।
उहाँले बाढी आएको एक साता बित्न लाग्दा पनि बेपत्ताको खोजी तीव्र रूपमा अगाडि बढाउन नसकेको भन्दै यसतर्फ सम्बन्धित निकायको समयमा नै ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभएको हो ।
बैठकको विशेष समयमा सांसद मोहन आचार्यले बाढीका कारण ३० मेगावाट क्षमताको जलविद्युत् आयोजना नष्ट भएको, मितेरी पुल बगाएको, नेपालतर्फ २० जना र चीनतर्फ ११ जना बेपत्ता भएको, एक सयभन्दा बढी विद्युतीय सवारीसाधन बाढीसँगै बगेको उल्लेख गर्दै उद्धार, खोज तथा पुन:निर्माण छिटो गर्न सुझाव दिनुभयो ।
“नदी क्षेत्रमा धेरै संरचनाहरू बन्दा अहिले हामीले धेरै क्षति बेहोर्नुपरेको छ । प्राकृतिक प्रकोप आउँछ भन्ने अनुमान लगाएर विपद्मैत्री पूर्वाधार निर्माण गर्नुपर्छ”, सांसद आचार्याले भन्नुभयो, ‘जलवायु परिवर्तनले ल्याउनसक्ने जोखिमलाई ख्याल गर्दै अब हामीले अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ ।”










