१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

चालीस रोपनीमा गोलभेँडा फलाउँछन् कमल

चालीस रोपनीमा गोलभेँडा फलाउँछन् कमल
अ अ+ अ-

पाँचथर। आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन् । तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिना विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाइरहनुभएको छ ।

गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले मनग्य आम्दानी पनि गर्दै आएको छ । तिम्सिनाको दैनिकी आजभोलि सदाभन्दा केही फरक छ । बारीमा लटरम्म पाकेका गोलभेँडा टिपेर बाटोसम्म पुर्याउन उहाँको परिवारलाई भ्याइनभ्याइ छ । बीस रोपनी क्षेत्रफलमा लगाइएको गोलभेँडाको एक टिपाइ नसकिँदै अर्को टिपाइको बेला भइसक्छ ।

“आजभोलि सधैँभन्दा धेरै काम गर्नुपर्छ । अरु बेलाचाहिँ काम त गर्नुपर्छ, तर धेरै र गाह्रो काम हुँदैन”, तिम्सिनाले भन्नुभयो, “गाउँघरमा कामले भने कहिल्यै छाड्दैन ।”

तिम्सिना परिवारले याङवरक गाउँपालिका–६ रमिते र हिलिहाङ गाउँपालिका–१ फेदापामा करिब ४० रोपनी क्षेत्रफलमा खेती गर्ने गरेको छ । यो जमिन केही तिम्सिना परिवारको आफ्नै हो भने केही बन्दकीमा लिइएको हो । यहाँ गोलभेँडा, खुर्सानी, सुन्तलालगायत नगदेबाली लगाइएको छ । दुवैतर्फ घर छन्, जहाँ पशुपालन पनि छ । “पाँच जनाको परिवारले सबै काम भ्याउँदै आएका छौँ”, २७ वर्षका कमलले भन्नुभयो, “सब्जीखेती र पशुपालनबाट हुने आम्दानीले हामी सन्तुष्ट छौँ ।”

तिम्सिनाको परिवार ११ वर्षअघि ताप्लेजुङको चाक्सिबोटेबाट बसाइँ सरेर पाँचथर आएको थियो । मेची राजमार्ग नजिकै बसोबास गरेको तिम्सिना परिवारले व्यावसायिक रूपमा गोलभेँडाखेती गर्न थालेको १० वर्ष भयो । एक टिपाइमा तिम्सिना परिवारले २० देखि ६० क्यारेटसम्म गोलभेँडा उत्पादन गर्ने गरेको छ । एक क्यारेटमा औसतमा २३ किलोग्राम गोलभेँडा हुन्छ । एकै बिरुवाबाट तीनदेखि सातपटकसम्म गोलभेँडा टिपाइ हुने गर्छ ।

अहिले व्यवसायीहरूले प्रतिकिलो रु २० मा गोलभेँडा खरिद गरेर लगिरहेका छन् । तर १० वर्षको अवधिमा गोलभेँडाले कहिले प्रतिकिलो दुई रुपैयाँ ५० पैसा मूल्य पायो त कहिले रु ७० सम्म । ती सबै अनुभव यो परिवारसँग छ । “ गोलभेँडालाई रु २० वा सोभन्दा बढी दाम (मूल्य) आयो भने घाटा लाग्दैन”, तिम्सिनाले भन्नुभयो, “रु ३० भन्दा बढी मूल्यमा बिकेको समयमा राम्रो आम्दानी र बचत हुन्छ ।”

गोलभेँडाको मूल्य बजारमा कहिलेमाथि हुन्छ भने कहिले निकै कम । तर कहिल्यै हिम्मत नहारी तिम्सिना परिवारले खेती गरिरहेको छ । “मूल्य कम भए पनि हामीलाई ठीकै छ गोलभेँडाबाट, हामी सन्तुष्ट छौँ”, कमलले भन्नुभयो । यस वर्ष तिम्सिना परिवारले रु आठ हजार खुर्सानी र छ हजार गोलभेँडाका बिरुवा लगाएको छ । खर्च कटाएर वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी भइरहेको कमल सुनाउनुहुन्छ ।

यहाँ गोलभेँडा फागनु, चैत र भदौमा गरी दुईपटक लगाउने गरिएको छ । गोलभेँडामा सामान्य विषादी लगाउने गरिएको कृषक बताउँछन् । रोग कीराको अत्यधिक समस्या हुने भएकाले विषादी प्रयोग गर्ने गरिएको उनीहरूको भनाइ छ ।

उत्पादन भएको कृषि उपज सस्तो मूल्यमा भए पनि बिक्री भने भइरहेको छ । यहाँ गोलभेँडा, खुर्सानीलगायत कृषि उपज उत्पादन गर्ने किसानहरूले प्रायः एकै व्यवसायीलाई आफ्ना उत्पादन बिक्री गर्ने गर्छन् । जसकारण कम मूल्य भए पनि उत्पादित सामग्री उठ्ने गरेको छ ।

हुन त कमलले विदेश जाने कुरा नसोच्नुभएको भने होइन । तर आकर्षक रोजगारीमा जान लगानी धेरै लाग्ने भएपछि कमलको मन गाउँमै अडियो । “विदेश जानचाहिँ खोजेको हुँ । तर पछि मन लागेन । लगानी धेरै लाग्छ भनेपछि गाउँमै खेती गर्छु भनेर यतै बसेँ”, कमलले भन्नुभयो, “गाउँमा पनि आम्दानी ठिकै थियो, परिवारसँगै बसेर केही आम्दानी हुँदैछ भने किन विदेश जाने भन्ने लाग्यो ।”

कमलकी आमा टीकादेवी तिम्सिना छोरो विदेश नगई गाउँमै खेती गरिरहेकामा खुसी हुनुहुन्छ । “विदेश गए पनि दुःख उत्तिकै गर्नुपर्छ होला भन्ने लाग्छ । विदेश जाँदा पैसाचाहिँ अलि बचत हुन्थ्यो होला”, टीकादेवीले भन्नुभयो, “यहाँ जति आम्दानी भए पनि बचाउन मुस्किल पर्छ । तर घरमै बसेर पनि केही आम्दानी त भइरहेकै छ ।”

हुन त यो क्षेत्रका सबैले सब्जी खेती गर्दछन् । प्रत्येक घरले दुईदेखि तीन पिकअप गोलभेँडा उत्पादन गर्ने गरेको कमलका छिमेकी दिलबहादुर राईको भनाइ छ । किसानले राम्रो उत्पादन गरे पनि कृषि उपजले मूल्य नपाउँदा बेलाबखत आफूहरू निराश हुने गरेको राईको भनाइ छ ।

गत वर्ष रु एक सय ३० प्रतिकिलो बिक्री गरेको खुर्सानी अहिले प्रतिकिलो रु ३० मा बिक्री भइरहेको किसानहरू बताउँछन् । खुर्सानी टिप्ने कामदारले एक दिनमा ४० किलो खुर्सानी टिप्छन । कामदारलाई दैनिक रु पाँच सय ज्याला दिनुपर्छ । “अहिले खुर्सानीले साँवा पनि नउठाउने स्थिति छ”, कमलले भन्नुभयो, “गोजीको पैसा लगाएर भए पनि बारीमा लगाएको खुर्सानी खेर जान दिनु भएन । बजारमा पठाउनु त पर्यो नै । अहिले किसानलाई गाह्रो छ ।”