२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारको एक वर्ष : के हुन्छ भनेको थियो के भयो ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ । २०८१ साल असार २९ गते नेपाली कांगेसको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

राजनीतिक स्थिरता, संविधान संशोधन र सुशासनसहित नागरिकलाई सेवा प्रवाहको प्रत्याभूति दिने बाचासहित नेपाली कांग्रेसलाई साथमा लिएर ओली प्रधानमन्त्री बन्नुभएको थियो । संसद्का दुई ठूला दलले ७ बुँदे सहमति गरेरै सरकार गठन गरेको एक वर्ष पूरा हुँदा पनि उनीहरूका प्रतिबद्धता भने पूरा भएका छैनन् ।

सरकारले गठनको एक वर्षका बीचमा सरकारले ठोस र दीर्घकालीन महत्वका काम गर्न सकेको छैन । बरु राजनीतिक विवादमा फसेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि यो गठबन्धनले भने जस्तो काम गर्न नसकेको बताएको छ । कांग्रेस र एमालेले गठबन्धन केही गर्न नसक्ने भनेर आफूहरुले त्यसबेला भनेको भाष्य पुष्टि भएको उसको तर्क छ ।

ओली नेतृत्वको सरकार गठन भएपछि भ्रष्टाचार न्यूनीकरण हुनु साटो नयाँ नयाँ प्रकरण बाहिरिइरहेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलको आँकडामा भ्रष्टाचारको सूचकांकमा अघिल्लो वर्ष ३५ अंक पाएको देश यो वर्ष ३४ अंकमा झरेको छ ।

ओली नेतृत्वको सरकारसँग संसद्मा झन्डै दुईतिहाइ बहुमत छ । काम गर्न कुनै अप्ठ्यारो छैन । तर मन्त्रीहरू नै नागरिकले चाहेजस्तो काम गर्न नसकेको बताइरहेका छन् । सत्तारुढ दलका नेताहरू पनि सरकारको काममा पूर्ण सन्तुष्ट छैनन् ।

विपक्षी दलहरूलाई त झन् सरकारको शैली नै मन परेको छैन । चर्चा गर्न लायक काम सरकारले गर्न नसकेको उनीहरूको टिप्पणी छ । गठबन्धनभित्रको आन्तरिक व्यवस्थापनमै सरकार रुमल्लिइरहेकाले शिक्षा, स्वास्थ्य, रोजगारी लगायत जनताका आधारभूत आवश्यकतालाई सरकारले सम्बोधन गर्न सकेको छैन ।

सरकार गठन हुँदा प्राथमिकताका साथ उठाइएको संविधान संशोधनको मुद्दा समेत ओझेल पर्दै गएको छ । प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रिय सभामा बहुमत नभएको भन्दै पन्छिँदै आएका छन् । यो विषय अहिले प्रमुख दुई दलको प्राथमिकतामा नै नपरेको देखिएको छ ।

कांग्रेस र एमालेले सरकार गठन गर्दा देशको आर्थिक अवस्था सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । सरकार गठनको एक वर्षमा अर्थतन्त्र सुधारकै लागि भन्दै केही नीतिगत परिवर्तनका प्रयासहरु भए । तथ्यांकमा आर्थिक अवस्थामा केही सुधार भएको पनि देखिन्छ । तर नागरिकले त्यस्तो सुधारको सकारात्मक प्रभाव जीवनमा अनुभूति गर्न पाएका छैनन् ।

मुख्य रुपमा कमजोर रहेको देशको आर्थिक अवस्था उकास्ने सरकारको प्राथमिकतामा परे पनि सुधार देखिएको अवस्था छैन । आयात र निर्यातको असन्तुलन घट्न सकेको छैन भने बैंकमा थुप्रिएको रकम व्याजदर घटे पनि निजी क्षेत्रमा विश्वासको संकटका कारण लगानीमा आकर्षित हुन सकेको छैन । सरकारले लक्ष्य लिएअनुसारको राजश्व उठाउन नसक्दा र विकास निर्माणको गति सुस्त हुँदा बजार चलायमान हुन सकिरहेको छैन । उद्योगहरुको उत्पादन क्षमता ४० प्रतिशतभन्दा माथि उठ्न सकिरहेको छैन जसका कारण रोजगारीको अवसर संकुचित छ ।

अर्कोतर्फ सरकारले सामुदायिक शिक्षालाई बढावा दिने नीति लिए पनि व्यवहारमा त्यसो हुन नसक्दा आशा गरे अनुसार परिणाम अझै प्राप्त हुन सकेको छैन । एसईईको नतिजामा केही सुधार भएको छ । यो सरकारको सफलता हो तर यसमा निजी विद्यालयकै तथ्यांक बढी छ । अध्ययनका लागि विदेश जाने क्रमलाई भने सरकारले रोक्न सकिरहेको छैन ।

संक्रमणकालीन न्यायसम्बन्धी विषयमा कानुन निर्माण गर्नु र आयोग गठन गर्नु सरकारको एउटा सफलता हो । तर आयोगहरूले काम गर्ने वातावरण बन्न सकिरहेको छैन र यसमा सरकारले सहजीकरण समेत गर्न सकेको छैन ।

प्रधानमन्त्री बनेको एक वर्ष भइसक्दा पनि ओलीले छिमेकी मुलुक भारतसँग सम्बन्ध सुधार गर्न सक्नुभएको छैन । उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणसमेत आएको छैन । बरु संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका पुग्नुभएको छ । यस्तै थाइल्यान्ड र स्पेनको भ्रमण गर्नुभएको छ । तर छिमेकी देशको भ्रमण नहुँदा सम्बन्ध बलियो भएको देखिँदैन ।

सरकारलाई सघाउन भन्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगसहित कानुन निर्माणमा देखिएको अप्ठारालाई फुकाउन समेत कार्यदल गठन गरेर सरकारले काम गर्यो तर त्यसको नतिजा परिणाममुखी देखिएन । सरकारलाई सघाउन भन्दै सत्तारुढ दल कांग्रेस एमालेका शीर्ष नेता रहेको १० सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरेको भए पनि आन्तरिक विवादका कारण त्यसले प्रभावकारी काम गर्न सकेन ।

अहिले प्रधानमन्त्री ओलीकै नेतृत्वमा सुशासन आयोग गठन भएको छ । तर त्यसले पनि कुनै काम गरेको देखिएको छैन । विगत एक वर्षमा ओली नेतृत्वको सरकारले संसद्मा विपक्षीको अवरोध पटकपटक सामना गर्नुपरेको छ । सहकारी ठगी, भिजिट भिसा र कुलिङ अफ पिरियडको विषयलाई लिएर सरकार संसदीय छानबिन समिति गठन गर्नुपर्ने बाध्यतामा पर्‍यो । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई मात्र कारबाही गरिएको र अन्यलाई उन्मुक्ति दिइएको भन्दै सरकारले आलोचना खेप्नुपरेको छ ।

निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा जालसाजी गर्दै इतिहासमै संसदमाथि कु गर्ने काम समेत भएको छ । गत वर्षको असोजमा आएको बाढीमा राजधानीभित्रै तत्काल उद्धार हुन नसक्दा केही व्यक्तिको ज्यान गएको घटनामा सरकारको निकै आलोचना भयो । संसद्बाट कानुन निर्माणको विषयमा पनि सरकार नकारात्मक अंक मै रह्यो । संघीयता कार्यान्वयनका लागि महत्त्वपूर्ण मानिएको विद्यालय शिक्षा विधेयक र प्रहरी विधेयक अझै अघि बढेको छैन । बल्ल बल्ल पास भएको निजामती सेवा विधेयक विवादमा पर्यो ।

अर्कोतर्फ सरकारलाई समर्थन गरेका दलहरु धमाधम छाड्दै जाँदा नैतिक संकट पनि बढेको छ । जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीले त सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरिसकेका छन् । यसरी सरकारमाथि दबाब सिर्जना भइरहेको देखिन्छ ।

त्यसैगरी अहिले मन्त्रिपरिषद्का सदस्य नै भ्रष्टाचारमा संलग्न रहेको आरोप लागेको छ । सरकारले कानुन बनाउन नसकेको त झन् छँदैछ । त्यसबाहेक पनि कहिले विवाद त कहिले प्रतिवादमा उत्रिँदा सरकारले एक वर्षमा अपेक्षित काम गर्न सकेको देखिँदैन ।