३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जबजले सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाको भावना प्रकट गर्दछ

जबजले  सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाको भावना प्रकट गर्दछ
अ+ अ-

जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’को थप व्याख्या र विश्लेषण गर्दै यसलाई समृद्ध बनाउने तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने र प्राज्ञिक वृत्तका अध्येता तथा अनुसन्धानकर्ताहरूलाई जबजका विविध आयामहरूसँग सम्बन्धित दृष्टिकोणहरू उजागर गर्न सहयोग पुर्‍याउने उद्देश्यसहित यो जर्नलको प्रकाशन आरम्भ भएको हो ।

जर्नलका यी उद्देश्यहरू हासिल गर्ने अभिप्रायले हालसम्म यसमा जनताको बहुदलीय जनवादसम्बन्धी व्याख्या र विश्लेषणका साथै अन्तर्राष्ट्रिय सम्बन्ध, वातावरण तथा प्राकृतिक स्रोत–साधनको उपयोग, उद्योग, शिक्षा, नेपाली समाजको वर्गीय संरचना, बसाइँसराइ र समावेशिता जस्ता विविध विषय र क्षेत्रसँग सम्बन्धित सामग्रीहरू समेटिएका छन् ।

जर्नलमा प्रकाशित यी सामग्रीहरू जनताको बहुदलीय जनवादको विषयमा गहन अध्ययन तथा अनुसन्धान गर्न चाहने अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीहरूका लागि मूल्यवान सन्दर्भ सामग्री बन्न सक्ने विश्वास व्यक्त गर्दछु ।

जनताको बहुदलीय जनवादसम्बन्धी उच्च प्राज्ञिक स्तरका सन्दर्भ सामग्रीको अभाव रहेको यथार्थलाई आत्मसात गरी यस सिद्धान्तको बारेमा शैक्षिक एवं प्राज्ञिक अध्ययन र अनुसन्धानका लागि मदन भण्डारी फाउन्डेशनले विभिन्न विश्वविद्यालयहरू तथा उच्च शैक्षिक संस्थाहरूसँग सहयोग र साझेदारी समेत गर्दै आएको छ ।

जबज नेपाली माटोमा हुर्किएको हाम्रो आफ्नो मौलिक सिद्धान्त र विचार हो । यो सिद्धान्तमाथि नेपालभित्र रहेका उच्च शैक्षिक संस्थाहरूमा गहन अध्ययन अनुसन्धान र छलफल हुन आवश्यक छ । साथै, यस्ता विचारहरूको अन्तर्राष्ट्रिय स्तरमा पनि तुलनात्मक रूपमा अध्ययन अनुसन्धान हुनुपर्दछ, किनभने समाज रूपान्तरणको लागि विचार नै सबैभन्दा महत्वपूर्ण कुरा हो ।

यस अर्थमा, यो जर्नल जबजलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने एउटा आधिकारिक माध्यम र प्रयास पनि हो । यसले कम्युनिस्ट आन्दोलनलाई समय र परिस्थिति अनुसार सही रूपमा बुझ्न र व्यावहारिक रूपमा अवलम्बन गर्दै विश्व कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउने दिशामा समेत थप योगदान गर्न सक्दछ भन्ने मलाई लाग्दछ ।

जबज सामाजिक–आर्थिक रूपान्तरणको एउटा बृहत्तर सिद्धान्त हो । यो जर्नल भर्खरै प्रकाशन हुन थालेकाले यसमा जबजका विभिन्न आयाम र क्षेत्रहरू समेटिन नसक्नु अन्यथा होइन । यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक समुदाय, उच्च शिक्षाका अध्येताहरूका बीचमा अझ व्यापक रूपमा पुर्‍याउँदै आगामी दिनमा यसलाई एउटा उच्चस्तरीय प्राज्ञिक सन्दर्भ सामग्रीको रूपमा विकसित गर्दै लैजानुपर्दछ ।

जबजले मार्क्सवाद–लेनिनवादको आधारमा नेपाली समाजको गहिरो विश्लेषण गर्दै यहाँको ऐतिहासिक, सामाजिक–सांस्कृतिक तथा भू–राजनीतिक विशेषतालाई आत्मसात् गरी समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई समावेश गर्दै एउटा विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको छ ।

यसैले, जबज हाम्रो देशको विशिष्ट परिस्थितिमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र अभ्यास हो, जसले हिंसा र अधिनायकत्वबाट होइन, जनताको सहमति र लोकतान्त्रिक विधिबाट राज्य सञ्चालन गर्ने उत्कृष्ट राजनीतिक संस्कारलाई अङ्गिकार गरेको छ ।

जबज केवल एउटा राजनीतिक सिद्धान्त होइन, यो लोकहित, मानव कल्याण र सामाजिक न्यायको लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन पनि हो । हामीलाई थाहा छ, हाम्रो संस्कृतिमा रहेको वैदिक मन्त्र ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया ….’ ले सबै मानिसहरू सुखी र निरोगी हुन्, सबैले शुभ देखून् र कसैलाई दुःख नहोस् भनी यथार्थ भावना प्रकट गर्दछ । जबजको मूल भावना पनि यही नै हो — वर्गीय शोषणलाई अन्त्य गरेर सबै नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारी र अवसरको सुनिश्चितता प्रदान गर्दै सुखी र समृद्ध बनाउनु ।

यसरी, वैदिक चिन्तनधारा र मार्क्सवादी वैज्ञानिक दृष्टिकोणको मिलनबाट जन्मिएको जबजले हाम्रो राष्ट्रलाई समृद्ध बनाउने र नागरिकलाई सुखी बनाउने महान् लक्ष्यलाई अघि बढाएको छ । नेकपा (एमाले) पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय आकांक्षा प्राप्त गर्न यो सिद्धान्त अनुसार अविचलित रूपमा लागिपरेको छ ।

आज जनताको बहुदलीय जनवाद एक वैचारिक मार्गदर्शक सिद्धान्त मात्र नभई नीति निर्माण, शासन अभ्यास, समावेशी विकास र जनउत्तरदायी राजनीतिक संस्कृतिको आधारस्तम्भका रूपमा स्थापित हुनु आवश्यक छ ।

यस सन्दर्भमा, जबजको गहिरो विश्लेषण गर्दै यसलाई पूर्ण, सुदृढ र व्यवहारोन्मुख सिद्धान्तका रूपमा अझ विकसित र समृद्ध बनाउने जिम्मेवारी हाम्रो सामु रहेको छ । तसर्थ, जबजलाई दार्शनिक, व्यावहारिक, शैक्षिक तथा अन्तर्राष्ट्रिय विमर्शको उच्च तहमा पुर्‍याउने हाम्रो साझा प्रयासमा यो जर्नल एक प्रभावकारी र प्रेरणादायी माध्यम बन्न सक्ने गहिरो विश्वास व्यक्त गर्न चाहन्छु ।

श्रीमती विद्यादवी भण्डारी(पूर्व राष्ट्रपति)ले मदन भण्डारी फाउन्डेशनद्वारा प्रकाशित जर्नल ‘State, Society, and Development: PMPD Perspectives’ को तेस्रो अङ्क विमोचन तथा विमर्श कार्यक्रममा गर्नुभएको सम्बोधनको पूर्णपाठ