५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन



अ+ अ-

झापा। यहाँस्थित नारी सञ्चार गृहले पत्रकार महिलाहरूलाई पत्रकारितामा पेसामा प्रोत्साहित गर्ने उद्देश्यले स्थापना गरिएको अक्षय कोषमा रु ५१ लाख सङ्कलन भएको छ ।

संस्थाले उक्त कोषको ब्याजबाट रु एक लाख नगद राशिको नारी सञ्चार साधना पत्रकारिता पुरस्कार र रु २५ हजार नगद राशिको नारी सञ्चार युवा प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

विसं २०६८ मा पत्रकारितामा महिलालाई आकर्षित गर्ने, सङ्गठित गरेर तालिम प्रदान गर्ने र पेसामा टिकाइरहन प्रोत्साहित गर्ने लक्ष्य राखेर सावित्रा दाहालको अध्यक्षतामा नारी सञ्चार गृहको स्थापना भएको थियो । संस्थाले विसं २०७५ मा अक्षयकोषका लागि रकम जुटाउन सुरु गरेको हो ।

“पूर्वअध्यक्ष अम्बिका भण्डारीले रु १० हजार जम्मा गरेर अक्षयकोषको थालनी गर्नुभएको थियो”, संस्थाकी पूर्वअध्यक्ष भीमा शिवाकोटी भन्नुभयो, “उहाँको कार्यकालमा देउसीभैली खेलेर र पालिकाहरूबाट सहयोग जुटाएर अक्षयकोषमा रु २५ लाख पुर्‍याउने लक्ष्य राखिएको थियो । मेरो कार्यकालमा कोष वृद्धि गरेर रु ३४ लाख पुर्‍याएका थियौँ ।”

उहाँका अनुसार निवर्तमान अध्यक्ष रेजिना गौतमको कार्यकालमा अक्षयकोष वृद्धि गरेर रु ५१ लाख पुर्‍याइएको हो । दाताहरूले कोषमा सहयोग गर्ने क्रम जारी रहेकाले रु एक करोडसम्म पुर्‍याउने संस्थाको नयाँ लक्ष्य रहेको गौतमले बताउनुभयो ।

महिला पत्रकारहरूद्वारा मोफसलमा स्थापित यो सबैभन्दा ठूलो राशिको अक्षयकोष र पुरस्कार हो । संस्थाले बर्सेनि महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि पत्रकारितासम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आएको अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिनुभयो ।

नारी सञ्चार गृहले पत्रकार महिलाहरूको हितका लागि रचनात्मक कार्यहरू गर्दै आएकाले जिल्लाका विभिन्न सामाजिक सङ्घ संस्था र पालिकाहरूले अक्षयकोष वृद्धिका लागि सहयोग पुर्‍याउँदै आएका उहाँको भनाइ छ ।

नेपालको पहिलो महिला सम्पादक साधना प्रधानको स्मृतिमा संस्थाले महिला पत्रकारहरूलाई प्रदान गर्नेगरी नारी सञ्चार साधना पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।

हालसम्म सावित्रा दाहाल र अम्बिका भण्डारी गरी दुई जना पत्रकार उक्त पुरस्कारबाट सम्मानित हुनुभएको छ । युवा प्रोत्साहन पुरस्कारबाट सुष्मा राजवंशी र चिरञ्जीवी घिमिरे पुरस्कृत हुुनुभएको छ । रासस