काठमाडौं । सरकारले नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने तयारी गरिएको छ। शनिबार १ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठकले संविधान संशोधन विधेयक पारित गर्ने तय भएको हो ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले संशोधन हाल्ने समय सकिएकाले शनिबारको बैठकमा संविधान संशोधन पारित गर्ने कार्यसूची तयार भएको जानकारी दिए।
सरकारले नेपालको वास्तविक भू-भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो।
सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ।
विधेयक पारित भएर राष्ट्रपतिले लागू भएको घोषणा गरेसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ।