४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

गणतन्त्रलाई गुरु चाहिन्छ ?

नेपाललाई गुरुराष्ट्र, नेपालीलाई गुरु बनाउन गुरुत्व भएको शिक्षा, वैदिक ज्ञान, आर्ष चेत भएको पाठ्यक्रम चाहिन्छ

गणतन्त्रलाई गुरु चाहिन्छ ?
अ+ अ-

नेपाल राष्ट्र आदिमकालदेखि कुल र मूलको आधारमा चल्दै आएको छ । कुलदेवतालाई पुज्ने, कुलगुरुलाई मान्ने, कुलको परम्परालाई धान्ने परम्पराले हामीलाई नेपाली बनायो । महाभारतयुद्धमा अर्जुनले हजुरबुबा भीष्मपितामहमाथि बाण चलाए, दाजु दुर्योधनमाथि गाण्डिव उठाए तर कुलगुरुलाई मृत्युको मुखमा पुर्‍याउने काम गरेनन् ।

गुरुलाई मानवका रुपमा होइन देवताका रुपमा, पथप्रदर्शकका स्वरुपमा चिनिन्छ, बुझिन्छ र सम्मान गरिन्छ । गुरु ज्ञानको प्रतीक हो, जीवनको बाटो हो, प्रगतिको आधार हो, विज्ञानको आभा हो, संस्कारको जरो हो, परम्पराको सन्देशवाहक हो, आमा र बुबाको दर्पण हो ।

उन्नतिको जगमा गुरुको आशीर्वाद, प्रगतिमा गुरुको ज्ञान हुन्छ । कुल र मूललाई जोगाउन, शिक्षा र संस्कारलाई बचाउन, इतिहास र इष्टदेवलाई चिनाउन, ईश्वर र इमारतलाई बुझाउन गुरु चाहिन्छ ।

राजादेखि रंकसम्म, दानवदेखि देवतासम्मले गुरु माने, पूजे र अस्तित्व संरक्षणमा योगदान दिए । देवताले वृहस्पतिलाई, राक्षसले शुक्राचार्यलाई, रामले विश्वामित्रलाई, जनकले याज्ञवल्क्यलाई, सुदामाले सान्दिपनिलाई गुरु बनाए । गुरु आज्ञाविना अघि बढ्दा दुर्योधन, बर्बरिक र एकलव्यको हालत हुन्छ ।

गुरुपूर्णिमाकै दिन वेदव्यासको जन्मजयन्ति मनाएर अक्षर र आत्माको उपासना गर्न सिकाइन्छ । प्रात: स्मरणीय योगीराज नरहरिनाथ महाराजाका अनुसार वेदव्यास तनहुँजिल्लाको दमौलीस्थित मादी र सेतीको दोभानमा जन्मिएकाले गुरुपूर्णिमा मनाउने परम्परा यही माटोबाट शुरु भयो । गायत्री मन्त्र विश्वामित्र ऋषिले गौरीशंकरहिमालमा साधनापछि प्राप्त गरेकाले नेपालको गरौव जोडिएको छ । महादेवले पार्वतीलाई, भैरवले भैरवीलाई यही भूमिमा तन्त्र सिकाए ।

गुरुगोरखनाथले शाबरतन्त्रको प्रयोग नेपालकै माटोमा गराए । बाल्मीकिले रामायण यहीँ बसेर लेखे, पारुहाङ र सुम्निमाको ज्ञानबाट नेपालकै माटो उर्बर भयो । याज्ञवल्क्यसँग गार्गीले जनकपुरमा नै शास्त्रार्थ गरिन् । ज्ञानको छाल जुन भूमिमा लहरायो, विज्ञानको उदय जहाँ भयो, प्रविधिले जहाँबाट हिँड्न थाल्यो त्यस भूमिमा गुरुको पूजा हुनु स्वभाविकै हो ।

गुरु परम्पराको लहरो परमात्मासम्म पुग्छ । परमात्मालाई गुरु मानेर पृथ्वी घुम्छिन्, प्राणीहरुले प्राण धान्छन्, जीवहरु जन्मन्छन् । खान, लेख्न, हिँड्न, जिउन, अक्षर चिन्न गुरुकै आवश्यकता पर्दछ । गुरु नभए मानिस पशुझैँ चार खुट्टाले टेकेर, वानरझैँ रूखमा, बाघझैँ गुफामा, सर्पझैँ जमिनमा घिस्रिएर हिँड्ने थियो । गुरूपरम्परा मानवलगायतका सम्पूर्ण प्राणीहरूमा आदिम कालदेखि थियो । प्राणीदेखि प्रकृतिसम्म, ब्रम्हा देखि ब्रम्हण्डसम्म चलाउने गुरुलाई ब्रह्म भनिन्छ । सीप, शिक्षा, संस्कार, सभ्यताको हस्तान्तरण तथा पुस्तान्तरण गुरुले गराउँछन् ।

परमात्माले बनाएको नियम, प्रकृतिले दिएको सूचना, समयको संकेत गुरुद्वारा बुझिन्छ । चराचुरुङ्गीलाई उड्न सिकाउने, माछालाई पौडन सिकाउने, चारखुट्टे र दुई खुट्टाले हिँड्न सिकाउने आ–आफ्नै गुरु हुन्छन् । गुरुत्व, गौरव, गरिमा जसबाट लिन्छौ त्यही गुरु हो । गुरुको संख्या, जात, वर्ग, पेशाको सीमा हुँदैन । यसैले त दतात्रयका २४ भए ।

गुरुसँग गुरुत्व हुन्छ, गुण हुन्छ, गुन हुन्छ । गुरुको मार्गदर्शन नमान्दा राष्ट्रको अवसान हुन्छ, स्वीकारे स्रष्टा बनाइदिन्छ । गुरु शब्दको उच्चारण वा दर्शनले शिष्यको शरीर रोमाञ्चले भरिन्थ्यो, हृदयमा श्रद्धा उम्लन्थ्यो र शिष्यहरू गुरुको चरणस्पर्श गरी आशीर्वाद लिने हतारिन्थे ।

गुरु विश्वासको जग हो, आस्थाको केन्द्र हो, जसले शिष्यमाथि सधैँ सन्तानभाव राख्छन् । गुरुको वचनलाई आशीर्वाद र मन्त्र मानेर उहाँका चरणकमलमा शिर राख्नेहरू वेदव्यास, गोरखनाथ, षडानन्, स्वर्गद्वारीमहाप्रभू, फल्गुनन्द महागुरुजस्ता उदाहरणीय शिष्य बन्दछन् । आजका विद्यार्थी भोलिका सचिव, प्रधानसेनापति, प्रधानन्यायाधीश, प्रधानमन्त्री, राष्ट्रपति हुन्छन् । शिक्षा र सरस्वती कहिल्यै बन्ध्या हुँदिनन् तर त्यसका लागि गुरुको वचन वा मार्गदर्शनलाई अनुशरण गर्नुपर्छ ।

गुरुले जन्तुलाई जनार्दन, विषालुलाई विष्णु, नशालुलाई नारायण, बुद्धुलाई बुद्ध, बरालिनेलाई ब्रह्मा, संस्कारबिहीनलाई शंकर बनाउने बाटो देखाउनुहुन्छ । गुरुलाई नमस्कार गर्नु मानवअधिकारको हनन ठान्दा आज शैक्षिक संस्थाले ९९ प्रतिशत विद्यार्थी उत्पादन गरेका छन् । पास नगराइदिए कुट्ने, दुर्गममा सरुवा गराइदिने विद्यार्थीको कर्तव्यजस्तै भएको छ ।

प्रजातन्त्रको पुनर्स्थापनापछि शिक्षण संस्थामा पार्टीका उपासक, झुण्डका अनुयायी, दलका पुजारी बढेर सरस्वती र संस्कारलाई लखेटेका छन् । देवीदेवतास्वरुपका शिक्षकलाई दास बनाउन थाले । शिक्षकले बाटो भुल्दा विद्यार्थीको भविष्यले नेटो काट्छ, विद्यालय बेकुवहरुको अखडा बन्छ ।

वैदिक शिक्षापद्धतिमा विद्या+आलय (विद्याको घर) थियो, अब विद्या+लय अर्थात् विद्याकै नाश हुने ठाउँ बन्न थाले शिक्षणसंस्थाहरु । विद्यालय राजनीति गर्ने अखडा बने, विश्वविद्यालय ढु∙ा–मुडा चलाउने मैदान भए । लोकतन्त्रको आगोले शिष्यको सपना जलाइदियो, गणतन्त्रको ज्वालाले छात्रछात्राहरुको भविष्य पलायन गरायो, निजीकरणले विपन्न तर मेधावी छात्रछात्राहरुले बौद्धिक क्षमतालाई गुमनाम गराए । आर्यावर्तमा विद्याको अपमान, शिक्षकको बदनाम यसरी कहिल्यै भएन । यही रूप लिँदै जाने हो भने विद्यार्थी शैतान, गुरुहरु भूत, शिक्षालय मशानघाट हुने दिन नआउला भन्न सकिँदैन ।

गुरुलाई मास्टर बनाउँदा शिक्षाको मेरुदण्ड खुस्काइयो, ज्ञान शिर छेन गरियो, माटोसँगको नाभी टुटाइयो, विज्ञानको खुट्टा भाँचियो । महावीर पुनजस्ता स्रष्टाहरु सडकमा बसेर अनसन गर्नुपर्ने दिन आयो । राजा महेन्द्रले विद्वत्ता संरक्षण गर्न स्थापना गरेको प्रज्ञा प्रतिष्ठान पार्टीभक्तहरुको भर्तीकेन्द्र बन्यो । प्राज्ञिक क्षेत्रलाई लोकतन्त्रले चपाएर पार्टीको भजन केन्द्रमा रुपान्तरण गरिदियो । कलेजहरु विस्तारै विद्यार्थीविहीन हुन पुगेका छन् ।

गुरुकुल र शिक्षालयहरू जङ्कल, नदी एवं प्राकृतिक स्वरूपले सुन्दर, शान्त ठाउँमा हुन्थे । छात्रछात्राहरू हलो जोत्ने, युद्ध गर्ने, संस्कार सिक्ने, जीवन र जगत् पढ्ने, सामूहिक सङ्कठनमा आबद्ध हुनेलगायतका विषयमा निपूर्ण हुनुपर्दथ्यो । गुरुकुलमा नर(मानिस)लाई नारायण बनाइन्थ्यो ।

जहाँ शास्त्र र शस्त्रको अभ्याससहित माला र भालाको प्रशिक्षण गराइन्थ्यो । शास्त्र र मालाले मुक्ति दिलाउँछ, शस्त्र र भालाले खाना र राष्ट्र सुरक्षा गर्न सहयोग गर्छ । सर्वशास्त्र र सर्वशस्त्रमा पारड्डत गुरुहरूसँग शिष्यहरूले विधिसम्मत् तरिकाबाट ज्ञान लिन्थे । कुल र मूललाई जोगाउन गुरुकुलको अहंभूमिका रहन्थ्यो । गोत्र र प्रवर, सामे र पाछा, समाज र स्रष्टाको तन्तुलाई जोड्न गुरुकुलको योगदान थियो ।

शिक्षा र संस्कारको अभ्यास गराउने, शास्त्र र ग्रन्थको अध्ययन गर्ने, पास होइन प्रशिक्षित गर्ने कार्य गुरुकुलमा हुन्थ्यो । श्रद्धा र परिश्रम नभई शिक्षाको अंकुरण एवं समाजको अस्तित्व मौलाउँदैन । गुरुकुलमा विश्वास र श्रद्धा लहराउँथे, संस्कार र संस्कृति फुल्थे, ज्ञान र विज्ञान झुल्थे ।

अहिले शिक्षा एवं शिक्षण संस्थाहरूमा नेपालीपन, संस्कृति र सन्तानको भविष्य छैन । गुरुकुलमा बिहान, दिउँसो, बेलुका कुनै न कुनै विषयमा अध्ययन, चिन्तन, तर्क, अभ्यास भइरहन्थ्यो अर्थात् विद्याको यज्ञ अविच्छिन्न रूपमा चलिरहन्थ्यो । प्रयोग र परीक्षणविना कुनै पनि सीप र शिक्षा सिकाइँदैनथ्यो । गुरुकुललाई प्रमाणपत्र लिने निकाय बनाएपछि ज्ञान  र दक्षता ओझेलमा परेको छ । विद्या  मुक्तिका लागि हो  अर्थात् अवरोध, अज्ञान र अभावलाई बिदा गर्ने साधन हो । योग्यतालाई थर्काएर, चोरेर, किनेर पाएपछि प्रमाणपत्र झोलामा, ज्ञान किताबमा हुन पुग्यो । याज्ञवल्क्यशिक्षामा भनिएको छ–

गुरुशुश्रूषया विद्या पुष्कलेन धनेन वा ।

अथवा विद्यया विद्या चतुर्थं नैव कारणम् ।।

अर्थात्, “गुरुको सेवा गरेर, पैसा तिरेर, विद्या साटासाट गरी यी तीन तरिकाले विद्या प्राप्त गर्न सकिन्छ, त्योबाहेक चौँथो उपाय छैन ।” मिहिनेतबाट प्राप्त ज्ञान र सीपमात्र भविष्यमा उपयोगी हुन्छ । सजिलै पाइएको वस्तुको अर्थ हुँदैन, महŒव बुझिँदैन । टेलिभिजन, पत्रिका, नेट आदिबाट प्राप्त सूचना विद्या होइन जानकारी हो । योग्य र संस्कारी गुरुका साथमा रही ज्ञान लिनुपर्छ ।

छात्र हुँदाको परिश्रम, पुस्तकको महत्व  बुझेमात्रै विद्याको महिमा थाहा हुन्छ । अध्ययन अवधिमा कागको जस्तो चेष्टा(होशियारी), बकुल्लाको जस्तो एकाग्रता, कुकुरको जस्तो छोटो निद्रा, आवश्यकमात्र भोजन, ब्रम्हचर्यको पालन आदि नियम अनिवार्य हुन्छ । हरेक क्षेत्रमा सफलता पाउन परिश्रम र पुनरावृत्ति गर्न छोड्नुहुँदैन, नियमलाई तोड्न हुँदैन, ध्यानलाई मोड्न हुँदैन, आलस्यलाई जोड्न हुँदैन ।

व्यवहारमा प्रयोग गर्ने, शङ्का लागेमा सोध्ने परम्परा छुटेर निश्चित समयमात्र शिक्षक र विद्यार्थी भेट हुन्छन् । नजानेको सोध्न टिउसन धाउनुपर्छ, नगदलाई समर्पण गर्नुपर्छ । यसरी गरिबका लागि ज्ञान आर्जन गर्नु भनेको ‘आकाशको फल आँखा तरी मर’ बनेको छ ।

आदिमकालदेखि आर्यावर्तमा ऋषिहरुले पढाए, गुरुहरुले सिकाए, मुनिहरुले प्रशिक्षण दिए । गुरुमा गुरुत्व, श्रीमतीमा सतीत्व, श्रीमान्मा अभिभावकत्व थियो । यहाँका जमिन, जीव र वनस्पतिमा अलौकिक गुण एवं ऊर्जा हुनाले गुरुभूमिका नामले चिनियो । नेपालमा धर्म र साधनाको केन्द्र, ज्ञान तथा विज्ञानको विकास, साधक एवं ऋषिको जन्म हुनाले गुरुराष्ट्र भयो ।

आर्यावर्तका ऋषिकुल, वंशकुल र गुरुकुलको जरो नेपालको भूगोल हो । वेदव्यासको भूमिमा गुरु नपाइनु, मुन्धुमको ज्ञान फैलिएको भूगोलमा शिक्षक नहुनु, त्रिपिटकको भूमिमा आचार्य नभेटिनु, वेद उत्पत्ति भएको राष्ट्रमा ज्ञानी नपाइनु दुर्भाग्य हो । पशुपतिले पाशुपतास्त्र दिए, दमौलीले श्रीमद्भगवत्गीता दियो, जनकपुरले अष्टावक्रगीता एवं जनकदर्शन दियो, पहाडहरुले शाक्ततन्त्र दिए, लुम्बिनीले बौद्धदर्शन दियो, पारुहाङ र सुम्निमाले तन्त्र तथा योग सिकाएर नेपालाई गुरुराष्ट्र बन्ने सौभाग्य जुटाइदियो ।

पाथीभरा, कालिञ्चोक, गोरखकाली, शैलेश्वरी, वडिमालिका आदिले दशमहाविद्यालाई जगाइरहे । देवीघाट, देवघाट, वर्दघाट, आर्यघाटजस्ता मुक्ति दिने घाटहरु यहीँ पर्छन् । देवीको आशीर्वाद र ऊर्जा बोक्ने महाकाली, विष्णुको ऊर्जा र आशीर्वादको प्रवाह गर्ने कालगण्डकी, महादेवको आशीर्वाद र ऊर्जा बोक्ने त्रिशूली, ऋषिहरुको ज्ञान र तपलाई बोक्ने कोशीले गुरुराष्ट्र नेपालको आत्मालाई जगाइदियो ।

दु:ख बिसाउने चौतारी, ज्ञान मिल्ने मन्दिर, अभिभावकीय ओत मिल्ने आवास, गुरुनिबास भनिन्छ । गुरुकहाँ जान, बस्न, बोल्न शंकोच मान्नुपर्दैनथ्यो । नेपालमा गुरुकुल र संस्कृतभाषाको अन्त्यसँगै मिसहरूलाई छात्रको कोठामा पस्नलाई साथी चाहिन्छ । शिक्षकहरू छात्राको कक्षामा जाँदा चारित्रिक प्रश्न उठ्छ ।

यो कस्तो दयनीय, लज्जास्पद विषय ? सीताले बाल्मीकिको आश्रममा, हिरण्यकश्यपुकी श्रीमती नारदको आश्रममा कैयौँ वर्ष एक्लै बसे तर चरित्रको प्रश्न उठेन । शिक्षक र छात्रा, शिक्षिका र छात्रसँगै हिँड्दा, बोल्दा शंका गर्नुपर्ने, प्रश्नपत्रले ज्ञान मापन गर्ने, शिक्षामा व्यावसायीकरण हुनाले गुरु र शिष्यको महिमालाई बगाउँछ, वैदिक शिक्षाको धज्जी उडाउँछ ।

स्वामी दयानन्द सरस्वतीलाई उनका चेलाले आर्थिक प्रलोभनमा परेर शिशा पिसेर खुवाए । शिशाको विष शरीरमा फैलिएर मरणासन्न अवस्थामा पुगेका दयानन्दले चेलालाई बाटो खर्च दिई भाग्ने आज्ञा दिए । दयानन्दले भन्नुभयो– “विषवृक्षोद्रपि स्वयं छेत्तुमसाम्प्रतम्” अर्थात् आफैँले रोपेको बिरुवा विषै भए पनि काट्न र मास्न हुँदैन ।

महाभारतको युद्धमा द्रोणाचार्यले आफ्ना शिष्य युधिष्ठिरको वचन सत्य ठानेर अश्वस्थामा मरेको विश्वास गरी प्राण छोडे । गुरुको हृदयको कोमलता र निष्पक्षताको मापन गर्ने एकाई संसारमा छैन । गुरुले सर्टिफिकेट होइन ज्ञान दिने हो, नम्बर दिने होइन अमर बनाउने हो, अक्षरमात्र चिनाउने होइन अजय गराउने हो । गुरु तलबका दास, द्रव्यका उपासक, दलको कार्याकर्ता हुन सक्दैन ।

गुरु शब्दमा रहेको ‘गु’को अर्थ अँध्यारो, ‘रु’को अर्थ उज्यालो अर्थात्, जसले अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी उज्यालोतर्फ डोर्‍याउने गुरु हो । गुरु कसैको दास र पाठ्यक्रमको ठेकेदार होइन, ईश्वरको स्वरुप हो । गुरुको ईशारामा शासक घुम्छन्, आशीर्वाद बर्सन्छ, संस्कार फूल्छ, विश्वविद्यालयहरू फक्रन्छन्, परम्पराहरु ओत लाग्छन्, ज्ञानको सुबास एवं विज्ञानको उज्यालो फैलन्छ ।

गुरुको तागतलाई गोरखनाथको आशीर्वादबाट जान्न पाइन्छ, चाणक्यबाट सिक्न सकिन्छ, समर्थगुरु रामदासबाट बुझ्नुपर्छ । बहुदलबाट गणतन्त्रसम्म आइपुग्दा नेपालको मौलिक ज्ञान ओइलिँदा गुरुहरूले शिर निहुराएर, आँखा झुकाएर, मन दु:खाएर बाँच्दै छन् । उपकुलपतिको नियुक्त, प्रधानाध्यापकको छनोट, शिक्षकको सरुवा गराउन नेता भेट्नुपर्छ, पार्टीहरुको चौतारीमा ओत लाग्नुपर्छ ।

बुबाआमाको सम्पत्ति सन्तानले समानरूपमा नपाउन सक्छन् तर गुरुको ज्ञान विना भेदभाव सबैले बराबर पाउने हुँदा ईश्वर भनिन्छ । ईश्वरको आशीर्वाद प्राप्त गर्न समय लाग्छ तर गुरुको कृपा तुरुन्त मिल्छ । भीष्मपितामहले आफ्ना गुरु परशुरामलाई हराए । चेलाले हराएको बदलामा परशुरामले भीष्मलाई आशीर्वाद दिए । युगको संकेत गुरुले गराउँछ, इतिहास चेलाले बनाउँछ, शिक्षा र शिक्षकलाई शिष्यले संरक्षण र विस्तार गर्छ । कवीरदासले भनेका छन्–

गुरु गोविन्द दोऊ खडे काके लागौँ पाय ।

बलिहारि गुरु आपनु गोविन्द दियो दिखाय ।।

कवीरको अगाडि एकै समयमा भगवान् र उनका गुरु रामानन्द उभिदा पहिले कसलाई नमस्कार गरौँ भन्ने दोमन भएछ । भगवान्सम्म पुर्‍याउने गुरु हुनुहुन्छ भन्ने बुझेर पहिले गुरुको पाउमा लागेछन् । त्यो घटनाले भगवान्् र गुरु दुबै प्रसन्न भए । गुरुविना सीप, शिक्षा, अनुभव, संस्कार हस्तान्तरण हुँदैन । प्राचीन शिक्षा जनमुखी, माटोमुखी, सेवामुखी, राष्ट्रमुखी, जीवनमुखी भएकाले विद्या वन्द्या थिइनन् अहिले पनि संस्कृतशिक्षा पढेकाहरू बेरोजगार बस्नुपरेको छैन ।

नेपाललाई गुरुराष्ट्र, नेपालीलाई गुरु बनाउन गुरुत्व भएको शिक्षा, वैदिक ज्ञान, आर्ष चेत भएको पाठ्यक्रम चाहिन्छ, वैदिकशिक्षा र संस्कृतिमा फर्कनुपर्छ । समयानुकूल विदेशीको शिक्षा, पश्चिमाको सीप, युरोपको प्रविधि पनि आवश्यक पर्छ तर मौलिकता, माटो आदिलाई बिर्सन हुँदैन ।

नेपालीविद्यार्थीलाई अमेरिकाका फिल्म, भारतीय पपगीत, बेलायतका शहर, चीनका गल्ली, जापानका टापूको ज्ञानले के फाइदा ? हामीलाई जुम्लाको स्याउ र ओखरको, भोजपुरकै काँसका भाँडा, काभ्रेको बुद्धचित्त, कालीगण्डकीको शालग्राम, डोल्पाको यार्चागुम्बा–पाँचऔलेको ज्ञान हुनुपर्छ । हाम्रा नदी र तीर्थस्थलको सदुपयोग, खनिज र पौरस्त्य दर्शनको गरिमाबाट लाभ लिने विधि थाहा हुनुपर्छ । छेउ न टुप्पाको विद्याले दल जन्माउँछ, विदेशीका दलाल बनाउँछ, विवेकबिहीन नेता उत्पादन गर्छ ।

सरस्वतीको हातमा पुस्तक छ, विश्वकर्माको हातमा प्रविधि छ, लक्ष्मीको हातमा सम्पत्ति छ, कालीको हातमा तन्त्र छ, ब्रह्माजीको चारै मुहारबाट चारवेद प्राप्त भए, वुद्धबाट त्रिपिटक आयो यसकारण हामी आर्य भयौँ, नेपाल आर्यावर्त भयो । आर्य हुनका लागि, देवीदेवताका सन्तान हुनका लागि, मन्त्र देख्ने ऋषिमुनिका वंशज हुनका लागि ज्ञानमा डुब्नुपर्छ, विज्ञानअनुसार दौड्नुपर्छ, परम्पराअनुसार पौडनुपर्छ ।

अहिलेको गणतन्त्रका खुट्टा लुला छन्, हात कमजोर छन्, मुटुमा समस्या छ किनकि यसले वेद, त्रिपिटक र मुन्धुमलाई चिन्दैन, वेदव्यास, पारुहाङ र बुद्धलाई बुझ्दैन, नेपालको प्रकृति र विरासदलाई देख्दैन । यसकारण गणतन्त्रले गुरुलाई चिन्नुपर्छ, गुरुपूर्णिमा मनाउनुपर्छ, गुरुपरम्पराअनुसार हिड्नुपर्छ ।

गणतन्त्रले गुरु चिनेन भने नेपाल बुझ्दैन, नेपाली चिन्दैन र आफैँ अवसानको ओरालो लाग्छ । आफूलाई राख्नु छ, भविष्यलाई बचाउनु छ, स्वाभिमानलाई जोगाउनु छ भने गणतन्त्रले गुरुभूमि नेपालको माटोलाई चन्दन सम्झेर लगाओस्, जललाई अमृत मानेर पिओस्, वीर र शहिदलाई मार्गदर्शक मानेर अगाडि बढोस् ।