काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरु नफर्किएको आफूले नभनेको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो स्पष्टिकरण दिनुभएको हो । सभाको मंगलवारको बैठकमा सांसद गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा सहभागी हुने बहानामा गएर केही मानिस नफर्किएको विषयमा समाचार सार्वजनिक भएको भन्दै संसदको ध्यानाकर्षण गराउनु भएको थियो । उहाँले समाचारमा आएका कुराहरुबारे संसदको ध्यानाकर्षण गराउँदा आफ्नो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग भएकोप्रति पनि आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘यस्तो नागरिक बेचिने र देशकै छविमा आँच आउने सरकारले स्वार्थ बाँझिने अनउपयुक्त आफू मातहतकै कनिष्ट कर्मचारीको नेतृत्वम टालटुले छानविन समिति बनाएर झेली खेल खेलेको छ । यसकै विरोधमा हामी हाम्रो कुरा नसुनेको कारण निरन्तर रुपमा संसद बहिस्कार गरिरहेका छौं । सभामुख महोदय यही विषयमा हिजो मैले बोलेको कुरा संसदबाट हटाउन समेत माग भएको रहेछ । पछि थाहा भयो । प्रधानमन्त्रीज्यूको सचिवालयबाट चुनौती पनि आएको रहेछ । केही माननीयज्यूहरुले बतासे केटाकेटी पनि भन्न भ्याउनु भएको रहेछ । सभामुख महोदय रास्वपा जिम्मेवार पार्टी हो । मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरु फर्किएनन् भनेको छैन । राम्रोसँग कान खुलेर सुन्नुहोस् ।’
सांसद गौतमले प्रधानमन्त्री सहभागि हुन गएका केही नागरिकहरु नफर्किएको दोहो¥याउनु भयो । प्रधानमन्त्रीसँगै नगएतापनि उक्त कार्यक्रममा सहभागि हुन भनि गएका नागरिकहरु नफर्किएको सत्य कुरा भएको उहाँको भनाइ छ ।









