काठमाडौँ । प्रधानमन्त्री केपी ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्ड सोमबार राति राष्ट्रपति विद्या भण्डारी निवासमा पुगेका थिए । राष्ट्रपति भण्डारी समेत सम्मिलित रहेर उनीहरुले राति ९ बजेबाट करिब डेढभन्टा छलफल गरेका छन् ।
शीतल निवासबाट प्राप्त सूचनामा राष्ट्रपति समेतको संलग्नतामा भएको सो छलफलमा विशेषगरी नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारेमा कुराकानी भएको थियो । नेपालको संसदले हालै नेपालको भारतद्धारा अतिक्रमित भूमि समेटेर तयार पारिएको नक्सालाई संविधान संशोधन गरेर आफ्नो बनाएपछिको परिस्थितिका साथै एमसिसिको विषयमा पनि सो बैठकमा छलफल भएको अनुमान गरिएको छ ।
नक्सा तथा एमसिसिको विषयमा समेत नेकपाका अध्यक्ष प्रचण्ड विगत लामो समयदेखि नै मौन रही आएका छन् । उनले अस्तीको संसदमा १५ मिनेट बोल्ने बाहेक प्रचण्डले खासै कुनै प्रतिक्रिया दिएका छैनन् । उनी वर्तमान सरकारसँग पनि असन्तुष्ट रही आएको बताइन्छ ।
त्यसैले यो पछिल्लो बैठकमा उनीहरुको छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ । सुरुमा एमसिसिका विषयमा पनि आलोचक देखिएका प्रचण्ड अहिले पछिल्ला दिनहरुमा भने मौन रही आएकोले उनी यसप्रति नरम देखिएको अनुमान पनि केहीले लगाएका छन् ।