१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज मोहर्रम पर्व मनाइँदै



अ+ अ-

राँझा । मुसलमान समुदायको मोहर्रम पर्वका अवसरमा घरघरमा राखिएका ताजियाले नेपालगञ्ज ताजियामय बनेको छ ।

मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन् । मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदको नाति हजरत इमाम हुसेनले गरेको साहदतको सम्झनास्वरुप मोहर्रम पर्वका अवसरमा ताजिया राख्ने चलन रहेको बाँकेका मुस्लिम अगुवा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय अध्यक्ष मोहम्मद हारुन हलवाईले बताउनुभयो ।

उहाँका अनुसार इस्लामिक क्यालेन्डरको पहिलो महिनामा मनाइने मोहर्रमको नवौँ दिनमा मुस्लिम धर्मावलम्बीहरूले आ–आफ्नो घरमा राखेको ताजिया १०औँ दिनमा कर्बलामा विसर्जन गर्ने गरिन्छ । ताजिया बाँस, कागजको ढड्ठालगायतका कच्चा सामग्रीको प्रयोग गरी बनाइने गरिएको छ ।

मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रूपमा आज घर नजिकै रहेका कर्बलाहरूमा विसर्जन गर्छन् । नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले पनि आ–आफ्नो घर अगाडि ताजिया राखेर पूजाआजा गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ ।

आफ्नो आर्थिक हैसियतअनुसार ताजिया स्थापना गरिने परम्परा भए पनि पछिल्ला केही वर्ष ठूलो ताजिया राख्ने अस्वस्थ प्रतिस्पर्धा देखिएको मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीको भनाइ छ । उहाँले साना–ठूला जस्तो ताजिया राखे पनि विसर्जन गरिने भएकाले ठूलै राख्नुपर्ने कुनै जरुरी नरहेको बताउनुभयो ।

हिन्दूलगायत अन्य धर्म समुदायले समेत मनाउन थालेपछि मोहर्रम पर्व धार्मिक सद्भावका रूपमा विकसित हुँदै गएको छ । भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृृद्धि तथा मनोइच्छा पूरा हुने विश्वास रहेको उहाँले बताउनुभयो ।

अग्लो ताजिया राख्ने होडबाजी

नेपालगञ्ज उपमहानगरपालिका–११ पासाङल्हामु मार्ग निवासी चाँदबाबु राहीले यो वर्ष ७० फिट उचाइको ताजिया स्थापना गर्नुभएको छ । मोहर्रम पर्वका अवसरमा राहीले केही वर्षयता बाँके जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्ने होडबाजी गर्दै आउनुभएको छ । भारतको बहराइच जिल्लास्थित आलीनगरबाट यो वर्ष रु एक लाखमा खरिद गरेर ल्याएको ताजिया बाँके जिल्लामा सबैभन्दा अग्लो रहेको उहाँको दाबी छ ।

मोटरसाइकल ग्यारेजमा मिस्त्री काम गर्दै आउनुभएका २७ वर्षीय राहीले चन्दा अथवा दानबाट नभई आफ्नो निजी रकम खर्च गरेर आफ्नो टोलमा प्रत्येक वर्ष अग्लो ताजिया राख्ने गर्नुभएको छ । ताजिया खरिदका लागि प्रत्येक महिना आफ्नो आम्दानीबाट रकम छुट्याएर बचत गर्ने गरेको उहाँको भनाइ छ ।

“मेरो मनको खुसी र श्रद्धाका लागि मैले आफ्नै खर्चमा ताजिया लगाउने गरेको छु”, राहीले भन्नुभयो, “यो वर्ष ७० फिटको उचाइको यो बाँके जिल्लामा सबैभन्दा ठूलो ताजिया हो ।” चार महिना अगाडि नै राहीले ताजिया निर्माणका लागि ‘अर्डर’ गर्नुभएको थियो । चारवटा ट्रयाक्टरको ट्रलीमा भारतको बहराइचबाट ल्याएको ताजियालाई गए राति घर अगाडि स्थापना गरेको उहाँले जानकारी दिनुभयो ।

विगत आठ वर्षदेखि राहीले आफ्नै लगानीमा जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्दै आएको उहाँका छिमेकी मोहम्मद जुनेद राहीले बताउनुभयो । बाँकेमा मात्र रु एक करोडभन्दा बढीका ताजिया राखिएको राहीको अनुमान छ । रासस