१२ श्रावण २०८३, मंगलवार
,
Latest
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त सुरुङमार्ग सञ्चालनमा आएपछि पूर्वप्रधानमन्त्री खनालले भनेः ‘दूरदर्शी राष्ट्रिय संकल्प यथार्थमा परिणत भयो’ मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी अठार वर्षपछि पलेँटीमा मदनकृष्ण श्रेष्ठ, साथमा यमन श्रेष्ठ छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै मोरङमा डिजे प्रयोगमा प्रतिबन्ध नारायणी अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुम्टाखोलामा सम्झौता अघि पक्की पुलः बर्खामा रोकिएनन् सवारी



अ+ अ-

बागलुङ। आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले एक वर्ष अघि सम्पन्न गरेको छ । बागलुङको दक्षिण भेग कुश्मिसेराबाट बरेङ हुँदै शान्तिपुर जाड्ने सडकको रुम्टाखोलामा एक वर्ष अघि पुल निर्माण गरिएको हो ।

पुल अभावमा वर्षायाममा सवारीसाधन ठप्प हुने समस्या अन्त्य भएको भन्दै स्थानीय हर्षित भएका छन् । पुलबाट पछिल्लो एक सातायता सवारीसाधन सञ्चालनमा आउन थालेका हुन् ।

जैमिनी नगरपालिका–९ र १० का नागरिकलाई पालिका सदरमुकाम कुश्मीसेरा बजारसँग जोड्ने उक्त पुल निर्माणका लागि २०८३ वैशाख १० गतेसम्म सम्झौता मिति भए पनि अहिले तयार भइसकेको हो । पुल निर्माण अन्तिम चरणमा पुगेपछि वर्षामा सवारीसधान तार्ने तयारी गरिएको छ । निर्माण कम्पनी सूर्योदय कन्स्ट्रक्सन पर्वतले रु छ करोड नौ लाख ४६ हजार ३६७ लागतमा उक्त पुल निर्माण सम्पन्न गरेको जनाएको छ ।

अधिकांश काम सकिएकाले वर्षामा खोला जलसतह बढ्न थालेपछि पुलबाट सवारीसाधन सञ्चालन गर्न÷गराउन थालिएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयका इञ्जिनियर गोविन्दप्रसाद चौधरीले बताउनुभयो ।

उहाँले वर्षामा सवारीसधान नोरोकिने गरी पुलसँग जोडिएको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । विसं २०८१ वैशाख ११ गते दुई वर्षमा पुल निर्माण सक्नेगरी सम्झौता भएकोमा एक वर्षमा सम्पन्न भएको उहाँको भनाइ छ ।

“यो वर्षामा सवारीसाधन गुड्न थालिसकेका छन्, सामान्य काम बाँकी भएपनि खोला बढेकाले सवारीसधान सञ्चालन थालिएको हो । कुस्मीसेरा–बरेङ–शान्तिपुर सडक विसं २०६५ मा निर्माण सम्पन्न भएर यातायात सञ्चालनमा आए पनि रुम्टाखोलामा पुल नहुँदा जैमिनी–९ पयैँु र १० राङ्खानीसँगै सिङ्गो बरेङ गाउँपालिकाका नागरिकले वर्षायाममा सास्ती खेप्नुपर्ने बाध्यता थियो”, चौधरीले भन्नुभयो ।

यसअघि पुल नहुँदा यातायात ठप्प भएपछि जैमिनी–९ र १० का नागरिक पालिका सदरमुकामसँगै सम्पर्कविहीन हुने गरेका उहाँको भनाइ छ ।सडक निर्माण भएको १७ वर्षपछि उक्त रुम्टाखोलामा पुल बनेपछि दक्षिण बागलुङसँगै गुल्मी शान्तिपुरसम्मका स्थानीयलाई सहजता भएको छ । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का लगाएर पुल निर्माण गरेको हो ।

कुल रु आठ करोड एक लाख ५९ हजार ६०८ लागत अनुमान रहेकामा निर्माण कम्पनीले रु छ करोड नौ लाख ४६ हजार ३६७ लागतमा निर्माणको जिम्मा लिएको थियो । इमानदारीपूर्वक काम गर्दा समयभन्दा अगाडि काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि राम क्षत्रीले बताउनुभयो ।

उहाँले जनताले यो वर्षामा सास्ती खेप्न नपरोस् भनेर आफूले तीव्र गतिमा काम गरेको उल्लेख गर्नुभयो । “आफूले जिम्मा लिएको काम बेलैमा गरौँ भनेर तिव्रता दिएका थियौँँ”, उहाँले भन्नुभयो, “कामदारको सही परिचालन र निर्माण सामग्री समयमा उपलब्ध हुँदा काममा ढिलाइ भएन ।”

पुल वरपर मेसिनरी वाल र ग्याबिन जाली भर्ने काम अन्तिम चरणमा पुगेको क्षत्रीले बताउनुभयो । पुल हस्तान्तरणका लागि केही काम बाँकी भएपनि सवारीसाधन गुडाउन समस्या नरहेको उहाँको भनाइ छ ।

रुम्टाखोला पुलले जैमिनी नगरपालिकासँगै बरेङ गाउँपालिका र गुल्मीका हजाराँै नागरिकलाई सहजता प्रदान गर्ने जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । “निर्माण व्यवसायीको चरम ढिलासुस्ती खेपिरहेको जैमिनी नगरपालिकामा सूर्योदय कन्ट्रक्सनले सम्झौता अगावै पुल निर्माण गरेको हो”, उहाँले भन्नुभयो ।

उक्त सडकको माथिल्लो खण्ड राङ्खानी–बरेङमा कालोपत्र भइसके पनि तल्लो खण्ड कुस्मीसेरा–राङ्खानी खण्ड भने अलपत्र बनेको छ । कालोपत्रका लागि चौथो पटक म्याद थप्दासमेत सडक कालोत्र हुन नसकेको उपप्रमुख शर्माले बताउनुभयो । रासस