१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबको ५५ दिनमा संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन



अ+ अ-

काठमाडौं । नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको हो । लकडाउन खुकुलो हुँदै जानु, सिमानाका जोडिएको देश भारतबाट आउने क्रम बढ्नु, संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ सुस्त गतिमा हुनुलगायतका कारणले संक्रमणको जोखिम बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । अहिले दैनिक झन्डै ३ हजार जनाभन्दा बढी व्यक्ति भारतबाट नेपाल प्रवेश गर्ने गरेका छन् ।

संक्रमितको संख्या बढ्दै गए ४० हजारमध्ये २ हजार जना गम्भीर प्रकृतिका हुन सक्ने आँकलन गरिएको छ । त्यसैलाई आधार मानेर स्वास्थ्य पूर्वाधारहरुको तयारीमा स्वास्थ्य मन्त्रालय जुटेको छ । हाल देशभर १ हजार भेन्टिलेटर, १ हजार ८ सय आईसीयू बेड स्थापना गरिएका छन् । स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीका अनुसार निजी अस्पताल, मेडिकल कलेजसँग बेड संख्या र लागत खर्चका बारेमा विवरण माग गरिएको छ । लागत खर्च सरकारले बेहोर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी छ ।

यस्तै, आगामी १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गर्ने गरी सरकारले योजना बनाएको छ । हाल दैनिक ६ हजार जनाको दैनिक पीसीआर परीक्षण गरिरहेको र निजी क्षेत्रबाट दैनिक ३ हजार जना बढीको परीक्षण गरिनेछ । विदेशबाट आएकाहरुको संख्या दिन प्रतिदिन बढेकाले स्वाबका नमुनाहरु होल्ड भएको हो । सरकारले आइसोलेसन सेन्टरहरुको व्यवस्थापन गर्ने भएको छ । लक्षण नदेखिएका तर पोजेटिभ केस भएकालाई ती आइसोलेसन सेन्टरमा राखिने तयारी थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइसोलेसनमा चिकित्सकको टिम राख्ने मन्त्रालयको योजना छ ।

संक्रमितसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङका लागि १ हजार ७५ वटा टिम परिचालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । एउटा टिममा तीन जना रहने गरी ३ हजार २ सय २५ जना कर्मचारीहरु खटाइने सरकारको योजना रहेको छ । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च विवरण सार्वजनिक गरेको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार १ अर्ब ४ करोड खर्च भएको छ । १ अर्ब ४ करोड रुपैयाँ खर्च हुँदा १ हजार ४ सय १४ जना डिस्चार्ज भए भने ८ हजार २ सय ४७ जनामा पोजेटिभ केस देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयले २ अर्ब ९३ करोड रुपैयाँ प्राप्त गरेको थियो । जसमध्ये १६ करोड प्रदेशका अस्पताल र प्रयोगशाला स्तरोन्नतिका लागि पठाइएको थियो । जसअन्तर्गत ९ करोड रुपैयाँ खर्च भएको छ । केही रकम भुक्तानी हुन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका सचिव अर्यालले जानकारी दिए । राजधानी दैनिक