काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खुला सीमाका कारण भन्सार व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्न बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले एकातिर भूपरिवेष्टित र अर्कोतिर खुला सीमानाका कारणले सम्पूर्ण कारोबारलाई भन्सार बिन्दुबाट मात्रै हुने कुराको सुनिश्चितता गर्ने विषय चुनौतीपूर्ण रहेको बताउनु भयो । उहाँले अवैध निकासी–पैठारी रोक्नका लागि कानुनी व्यवस्थासँगै संरचनागत सुधारको पनि खाँचो रहेको बताउनु भयो । उहाँले भन्सार बिन्दुबाट मात्रै कुनै पनि सामानको निकासी र पैठारी हुन्छ भन्ने कुराको आश्वासन दिन सक्नुपरेको बताउनु भयो । उहाँले उक्त चुनौतिको बीचबाट आफूहरूलाई खरो रूपमा उतार्नुपर्ने अवस्था रहेको समेत जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामी खुल्ला सीमानामा छौँ । चारैतिर सिमाना खुल्ला नै छ । एकातिर, भूपरिवेष्टित छौँ, अर्कोतिर हाम्रो सिमाना खुला छ । यस्तो अवस्थामा सम्पूर्ण कारोबारलाई भन्सार बिन्दुबाट मात्रै हुने कुराको सुनिश्चितता कसरी गर्ने भन्ने हाम्रो सामु च्यालेन्ज छ । यसको लागि कानुनी बन्दोबस्त पनि गर्ने र संरचनाका प्रबन्धहरू पनि गर्ने । दुई वटै कुरामा ध्यान दिनुपर्ने आवश्यकता छ । भन्सार बिन्दुबाट मात्रै कुनै पनि कारोबार हुन्छ, सामानको निकासी, पैठारीको कुरा त्यो बाहेक अन्यत्रबाट हुँदैन भन्ने कुराको आश्वासन दिन सक्नुपरेको छ हामीले । एउटा ठूलो चुनौतीको बिचबाट हामीले आफूलाई खरो रूपमा उतार्नुपर्ने अवस्था छ ।”
उहाँले भन्सार बिन्दुबाट मात्रै पैठारी र निकासी हुन्छ भन्ने कुराको आश्वासन दिन नसक्दा चुहावटका समस्याहरू आउने गरेको बताउँदै त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो ।










