१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको अनुरोधमा इरानमा रहेका नेपालीलाई भारतीय दूतावासले उद्धार गर्दै



अ+ अ-

इजरायल इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ । नेपाल सरकारको अनुरोधमा उनीहरुलाई इरानस्थित भारतीय दूताबासले उद्धार गर्ने भएको हो । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इरानमा १६ जना नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री डा राणाले भन्नुभयो “इरानमा हाम्रा पनि सानो संख्यामा नेपाली नागरिक हुनुहुन्छ । यहाँहरुले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरिदिनुहोला भनी मैले भारतीय राजदूत नविन श्रीवास्तव मार्फत भारत सरकारलाई आग्रह गरेकी थिएँ । हामीहरु उहाँहरुको सहयोगको प्रतिक्षामा छौँ ।”

केही दिनयता जारी इजरायल इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि मन्त्री डा राणाले भारत सरकारसँग सो आग्रह गर्नुभएको थियो । यस प्रयोजनका लागि मन्त्री डा राणाले भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको थियो ।

इरानस्थित भारतीय दूताबासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरुलाई सम्पर्क गरी भारतीय दूताबासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूताबासले पनि सो सूचना जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीहरु र इरानस्थित भारतीय दूतबासका डिसिएम राखी मायुरीसँग सम्पर्क र समन्वय गरिरहनुभएको छ ।

यससँगै भारतीय दूताबासले नेपाल र त्यहाँ स्थित श्रीलंकाली नागरिकहरुलाई पनि सम्पर्कमा आउन भनेको छ । १६ नेपालीमध्ये अध्यागमन सम्बन्धी कानुनका कारण पाँच जना नेपाली इरानी जेलमा रहेकाले उनीहरुलाई पनि जेलमुक्त गरी स्वदेश फर्काउने पहल मन्त्रालयले जारी राखेको छ ।