नेपालकै प्रसूति इतिहासमा पहिलोपटक १ सय ६८ किलो तौल भएकी महिलाले स्वस्थ बच्चा जन्मिएकी छिन् ।
नर्भिक इन्टरनेसनल अस्पतालमा असार १० गते कलंकीकी मेरिना हमालले शल्यक्रियामार्फत २ दशमलव ९५ किलो तौल भएकी शिशुलाई जन्म दिनुभएको हो ।
बरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्माले सफलतापूर्वक ती महिलाको शल्यक्रिया गरी प्रसूति गराउनुभएको थियो ।
नवजात शिशु र आमाको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ । डा. शर्माको नेतृत्वको चिकित्सकीय टोलीले करिब एक घण्टा १० मिनेट लगाएर शल्यक्रिया गरेको थियो ।
असाधारण तौल र शारीरिक वनावटका कारण निकै कठिन भए पनि उच्च सावधानीपूर्वक ती महिलाको शल्यक्रियामार्फत प्रसूति गराइएको डा। शर्माले बताउनुभयो ।
सामान्यतः यति ठूलो तौल र शारीरिक बनोट भएका महिलाको शल्यक्रियामार्फत प्रसूति गराउनु आफैंमा निकै कठिन हुने चिकित्सकहरुको भनाइ छ ।
डा. शर्माले गर्भाधानको सुरुआती अवस्थादेखि नै ती महिलालाई उच्च जोखिम समूहमा राखेर उपचार गर्दै आएको बताउनुभयो ।
‘यो सफलताले केवल मोटोपन मात्रै गर्भाधानको बाधक हुन सक्दैन भन्ने देखाएको छ’, डा. शर्माले भन्नुभयो– ‘जटिल र जोखिम अवस्थालाई पनि आधुनिक प्रविधि र दक्षताले सम्भव गराउन सकिन्छ भन्ने प्रमाणित गरेको छ ।’
लामो समयदेखि बाँझोपनको क्षेत्रमा उच्च जोखिमयुक्त बिरामीको उपचार गर्दै आएकाले पनि जटिल र जोखिमयुक्त प्रसूति सेवालाई सफलतापूर्वक व्यवस्थापन गर्न सकिएको डा. शर्मा बताउनुहुन्छ ।
नर्भिक अस्पतालले नेपालकै पहिलो रेकर्डका रुपमा रहेको जटिल खाले शल्यक्रियात्मक प्रसूति गराउन सफलता प्राप्त गरेकोमा डा. नूतन शर्मालाई बधाई दिँदै नवजात शिशु र आमाको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
बच्चा जन्माउनका लागि अस्पतालको नर्मल बेड सहज नहुने भएकाले अस्पतालले विशेष बेडको समेत व्यवस्था गरेको थियो ।
नवजात शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । यही अवस्थामा सुधार आएको खण्डमा उहाँलाई तत्कालै डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको जनाएको छ । नेपाल समाचारपत्र दैनिक