११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ- मन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँ, भक्तपुर र पाटन दरबार क्षेत्रका भूकम्पले भत्किएका सम्पदा जस्ताको तस्तै निर्माण हुनुले विकासको संस्कृति सही रुपमा अघि बढेको प्रमाणित हुने बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) को सहकार्यमा आयोजित ‘विकासका लागि संस्कृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले प्राचीनकालमाझैँ सम्पदा निर्माणका लागि आवश्यक जनशक्ति भएकाले सम्पदा पुनःनिर्माणमा समस्या नभएको बताउनुभयो ।

काठमाडौँ उपत्यकाका तीनवटै सहरमा देगु तलेजु मन्दिर जस्ताको तस्तै निर्माण हुनुले पनि सम्पदा निर्माणमा सकारात्मक सन्देश दिएको उहाँको भनाइ छ ।

“धेरै क्षेत्रमा सकारात्मक संस्कृतिको विकास गर्नु जरुरी छ, नहुने कामलाई हुँदैन भन्ने संस्कृति बनाउन जरुरी छ । यस्ता विषयमा जागरण प्राज्ञले नै गर्नु जरुरी छ”, उहाँले भन्नुभयो । भौतिक विकास मात्र नभई सांस्कृतिक विकास पनि जरुरी रहेकाले मन्त्री पाण्डेले संस्कृतिलाई मेरुदण्ड नबनाए दिगो विकास हुन नसक्ने उल्लेख गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले संस्कृतिको मूल जरा चिन्तन प्रणाली भएकाले यसलाई सकारात्मक रुपले अघि बढाउनुपर्नेमा जोड दिनुभयो । सांस्कृतिक विविधतालाई स्वीकार गरेर विकासमा अघि बढ्न सकिने उहाँको भनाइ थियो ।

प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले भौतिक विकास गरिरहँदा सांस्कृतिक विषय ओझेलमा परेकाले यस किसिमको बहस सुरु गरिएको बताउनुभयो ।

प्रा डा सोमप्रसाद खतिवडाले ‘विकासका लागि संस्कृति’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्कृतिसापेक्ष विकास हुन नसकेको बताउनुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै प्रा डा निर्मला पोखरेलले म्याक्समूलरले वेदमा गरेको अनुसन्धानले वेद विज्ञानसम्मत रहेको प्रमाणित गरेकाले वैदिक संस्कृतिअनुसार अघि बढ्नुपर्ने विचार राख्नुभयो ।

अर्का टिप्पणीकार भोगीराज चाम्लिङले विकाससम्बन्धी कानुन तथा नीति संस्कृतिअनुसार नभएकाले समस्या आएको बताउनुभयो । संस्कृति मन्त्रालयले संस्कृतिलाई असर गर्ने गरी बनेका कानुन र नीति परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का अध्यक्ष पूर्णप्रसाद मिश्रले संस्कृतिका विषय ओझेलमा परिरहेकाले यस विषयमा कलम चलाउने पत्रकारहरु सङ्गठित गरी सरोकारवाला निकायसँगको सहकार्यमा यस्ता छलफललाई निरन्तरता दिइने बताउनुभयो । रासस