११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी



अ+ अ-

दाङ। रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थाल्नुभएको छ ।

घोराही उपमहानगरपालिका–७ घुस्रामा ती युवा मिलेर बबई नदी किनारमा तरबुजाखेतीमा सम्लग्न हुनुहुन्छ । विगतमा बालुवैबालुवाले उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू खुसी भएको किसान खड्का बताउनुहुन्छ ।

कृषि विषय अध्ययन गर्नुभएका उहाँ आफ्नै ठाउँमा कृषि पेसाबाट अगाडि बढ्ने बताउनुहुन्छ । उहाँले भन्नुभयोे, “कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले सात वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, एक जना साथी थपिएपछि अहिले दुईजना मिलेर घोराहीमा व्यावसायिक तरबुजाखेती पनि विगत दुई वर्षदेखि गर्दै आएका छौँ ।” यसबाट राम्रो आम्दानी भइरहेको उहाँले बताउनुभयो । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत व्यवसाय गर्दै आउनुभएको छ ।

घुस्रामा साढे चार बिघा जग्गा तरबुजाखेतीका लागि भाडामा लिएको उहाँले बताउनुभयो । उक्त जग्गाको रु ८० हजार तिर्ने गरेर तीन महिना अवधिका लागि जग्गा भाडामा लिएर तरबुजाखेती गरिरहनुभएको छ ।

अहिले आहाना, सरस्वती र विशाला जातको तरबुजा रु ५० किलोका दरले र आरोही रु ७० किलोका दरले बिक्री गर्दै आइरहेको अर्का किसान वीरेन्द्र वली बताउनुहुन्छ । अहिले दैनिक एक हजार किलो बिक्री हुन्छ । हालसम्म आधाभन्दा बढी बिक्री गरिसकेको उहाँले जानकारी दिनुभयो । बाहिर देशबाट सस्तोमा भित्रिँदा स्थानीय किसान मारमा पर्ने गरेको उहाँको भनाइ छ । गत वर्ष रु १२ लाखको कारोबार गरेको उहाँले बताउनुभयो ।

यस वर्षको हालसम्म रु पाँच लाखको कारोबार गर्न सफल भएको उहाँ बताउनुहुन्छ । “सोचेभन्दा राम्रो आम्दानी भइरहेको छ”, किसान वलीले भन्नुभयो । स्वदेशमै आत्मनिर्भर हुनका लागि कृषि पेसा रोजेको हुँदा यसैलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तर केही बजारीकरणमा समस्या भएको हुँदा सरकारले बाहिरी देशबाट आउने तरबुजालाई रोक्ने प्रयास गर्यो भने आफूलगायत अन्य किसानलाई सहज हुने छ । कम विषादीयुक्त र जैविक उत्पादन गरिरहेकाले आम उपभोक्ताको रोजाइमा परेको उहाँ बताउनुहुन्छ ।

दाङ एग्रोमार्ट कृषि फार्ममा तरबुजा किन्न पुग्नुभएका घोराही –१४ का अर्जुन केसी गर्मीको समयमा यसको महत्व धेरै हुने भएकाले खान मन लागेको समयमा यही आएर लैजाने गरेको उहाँ बताउनुहुन्छ । आफ्नै गाउँठाउँमा उत्पादित वस्तु खान अन्य नागरिकलाई पनि उहाँ आग्रह गर्नुहुन्छ । खेर गइरहेका बगरमा यसरी तरबुजाखेती गर्नसके स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भने सीप र जाँगर भए विदेशिनु पर्दैन भन्ने दरिलो उदाहरण युवा किसानले दिएका छन् । रासस