४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुङ्गामा तिम्ल्याहा शिशु जन्मिए



अ+ अ-

ओखलढुङ्गा। जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेमा महिलाले एकैपटक तीन वटा बच्चा जन्माउनुभएको छ । मङ्गलबारेका ३२ वर्षीया हिरा तामाङले आज ओखलढुङ्गा सामुदायिक अस्पतालमा तीन छोरीलाई जन्म दिनुभएको हो ।

बिहीबार प्रश्रव व्यथा लागेर अस्पताल भर्ना हुनुभएकी तामाङले आज बिहान १०ः४० देखि १०ः४२ सम्ममा तीन स्वस्थ शिशुलाई जन्मदिनुभएकी अस्पतालका निर्देशक डा रोशन खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार डा रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरी हिराका छोरीलाई जन्म गराएका हुन् ।

तीनमध्ये पहिलो छोरीको तौल १९ सय ग्राम, दोस्रोको २२ सय ग्राम र तेस्रो छोरीको तौल २३ सय ग्राम रहेको अस्पतालले जनाएको छ । उहाँको ३६ हप्तामा शल्यक्रियामार्फत शिशु निकालिएको अस्पतालका निर्देशक डा खरेलले बताउनुभयो । उहाँका अनुसार शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य छ ।

यसअघि उहाँका एक सात वर्षीय छोरा छन् । ओखलढुङ्गामा सम्भवतः एकै पटक तीन वटा शिशु जन्मिएको यो पहिलो घटना भएको अस्पतालले जनाएको छ । रासस