२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक आज बस्दै, सहमति खोज्ने तयारी हुँदै



अ+ अ-

काठमाडौं । संघीयसंसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३:०० बजे बस्दै छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।

यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक–पटक सहमतिका लागि दलहरूबिच छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । आजको बैठक पनि के हुने भन्ने अन्योल कायमै छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरूबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

प्रतिनिधिसभाको बैठक अघि भिजिट भिसा प्रकरणमा सहमति जुटाउन दलहरुको बैठक बस्दै छ । प्रमुख चार दलका नेताहरुबीच हुने छलफलमा सहमति जुटे प्रतिनिधिसभाको बैठक सञ्चालन हुने छ । अन्यथा विपक्षी दलहरुले अवरोध गर्ने छन् ।