११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा



अ+ अ-

पाँचथर। पाँच वर्षभन्दा कम उमेरका सबै बालबालिकालाई आवश्यक खोप लगाएको सुनिश्चितता गरी पाँचथरलाई आज पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

जिल्ला खोप समन्वय समितिले फिदिममा एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको हो । जिल्लाभित्रका १५ महिना मुनि उमेरका सबै बालबालिकाले उमेरअनुसारका सबै खोप लगाएको र १६ महिनादेखि ५९ महिनासम्ममा सबै बालबालिकामा १५ महिनाभित्र लगाउनुपर्ने खोप लगाएको सुनिश्चित गरी यस्तो घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समिति प्रमुख रामराज आङ्देम्बेका अनुसार १५ महिनाभन्दा कम उमेरका दुई हजार २९५ जना बालबालिकाले उमेरअनुसारका खोप लगाउँदै आएका छन् । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरणका लागि जिल्लाका ३७ हजार ४४५ घरधुरीको घरधुरी सर्वेक्षण गरिएको थियो । जसमा छ हजार ९३३ घरधुरीमा ५९ महिनाभन्दा कम उमेरका बालबालिका रहेको पहिचान गरी खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइएको थियो ।

कोशी प्रदेशस्तरीय खोप समन्वय समितिका सदस्य भरतराज भण्डारीले प्रत्येक वर्ष सबै घरधुरी सर्वेक्षण भएको निश्चित गर्न स्वास्थ्यकर्मीले विशेष योगदान दिनुपर्ने वताउनुभयो । “बच्चा खोज र खोप लगाउ भन्ने सरकारको नीति हो”, भण्डारीले भन्नुभयो, “यसमा स्थानीय सरकारले नै आर्थिक दायित्व निर्वाह गरेमात्रै कार्यक्रम निरन्तर र प्रभावकारी हुनसक्छ ।”

स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेश सुनारले खोपबाट कुनै पनि बालबालिका छुट्न नदिन स्वास्थ्यकर्मी र जनप्रतिनिधिले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

घोषणा कार्यक्रममा अभियान सफल बनाउन मद्दत गर्ने उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । स्थानीय तहतर्फ हिलिहाङ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चन्द्रप्रसाद शर्मा घिमिरे पुरस्कृत हुनुभयो ।

स्थानीय तहका स्वास्थ्यकर्मीमा हिलिहाङका तारा योङहाङ, फिदिमका टङ्क धमला, फालेलुङका हरिप्रसाद बाँस्कोटा, तुम्बेवाका सविना कुँवर, मिक्लाजुङका हरिकुमार शेर्मा, याङवरकका इन्द्रकुमार बेघा, फाल्गुनन्दका तीर्थराज नेम्बाङ र कुम्मायकका रोहन घिमिरेलाई सम्मान गरिएको थियो ।

उत्कृष्ट स्वास्थ्यकर्मीलाई फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगू, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र जिल्ला समन्वय समितिका उपप्रमुख यामकुमार आङ्बोले प्रमाणपत्र वितरण गर्नुभयो । रासस