१५ असार २०८३, सोमबार
,
Latest
पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सके देशले महत्त्वपूर्ण फड्को मार्नेछः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालका कला र सांस्कृतिक सम्पदाको संरक्षणमा ललितकलाको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

उहाँले आज नक्सालस्थित ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’को भ्रमण गर्दै सातै प्रदेश प्रतिनिधित्व हुने गरी राखिएका कलाकृति प्रदर्शनीमा देख्न पाएकामा खुशी व्यक्त गर्दै नेपाल कलाका हिसाबले निक्कै धनी रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “प्रदर्शनी नेपाल कलामा कति धनी छ भन्ने कुराको एउटा प्रमाण पनि हो । सिङ्गो नेपालको कलाकृति, प्रतिभा र क्षमता यहाँ प्रदर्शन भएको छ भन्ने मलाई अनुभूत भएको छ ।”

उहाँले यस्ता कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सकियो भने देशले अर्को एउटा महत्त्वपूर्ण फड्को मार्न सक्ने पनि बताउनुभयो । कलाको प्रचार र विकास गर्दा पर्यटनको विकास हुने अध्यक्ष दाहालको भनाइ थियो । “आम्दानी र रोजगारी सिर्जना हुने यस्ता खालका सबै विषयवस्तुलाई ठिक ढङ्गले व्यवस्थापन गर्नुपर्दछ ।

हामीसँग कला छ, संस्कृति छ । यसलाई व्यवस्थित तरिकाले प्रचार–प्रसारलगायत काम गरेमा  धेरै उपलब्धि हासिल गर्न सकिन्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँले अघिल्लो वर्ष पनि कलाकृति हेर्न आएको स्मरण गर्दै यसपटक विगतभन्दा तुलनात्मक रूपले विकास भएको पाएको पनि बताउनुभयो । ललितकला नेपालको धरोहर भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली जनताका बीचमा यसका महत्व र आवश्यकताबारे बोध गराउने काम गर्नुपर्ने र त्यसका निम्ति आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

केही दिनअघि मात्रै सभामुख देवराज घिमिरेले पनि उक्त प्रदर्शनी अवलोकन गर्नुभएको थियो । त्यस क्रममा उहाँले नेपाललाई कलामार्फत विश्वमा परिचित गराउनुपर्नेमा जोड दिनुभएको थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ मार्फत छानिएका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित कलाकृति गरी देशका ६५ जिल्लाका ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश गरेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को आयोजना गरेको हो ।

जेठ ३१ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ललितकलाका विविध विधाका साथै मुख्यतः थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किरातलाई प्रतिनिधित्व गर्ने कलासमेत राखिएका छन् । रासस