
पत्रकारितामा सधैँ विवादमा आइरहने विषय हो‐ तस्बिर । यसैसँग जोडिएर आउँछ नागरिकको वैयक्तिक गोपनीयताको हक पनि । यस सम्बन्धमा कानुन, आचारसंहिता, नियम, अभ्यास या प्रचलनहरुको कमी छैन । कयौँ स्थापित मान्यता पनि छन् । तर यति हुँदाहुँदै पनि विवादरहित कहिल्यै पनि हुन सक्दैन ।
यसका केही कारण छन्, ती हुन् मानिसको निजी जीवन र सार्वजनिक जीवन । व्यक्तिको निजी जीवन कस्को हुन्छ ? अर्थात् को व्यक्ति सार्वजनिक व्यक्तित्व हुन् र को होइनन् ? यसलाई सेलिब्रेटी पनि भनिन्छ । पत्रकारिताले तिनीहरुलाई पब्लिक पर्सनालिटी भन्छ । अनि पत्रकारिताले के भन्छ भने ती पब्लिक पर्सनालिटीहरु न्युज मेकर हुन् भन्छ । उनीहरुका दैनिकी पनि समाचार हुन् । किनभने पब्लिक पर्सनालिटीका दैनिकीहरु सर्वसाधारणका चासोका विषय हुन् । त्यसैले ती समाचार हुन् ।
जस्तो कि कहिलेकाहीँ हामीले पढ्छौँ नि राजेश हमालले के खाना खान्छन् ? रेखा थापा कुन मोबाइल बोक्छिन् ? हरिबंश आचार्यको दैनिकी कस्तो छ ? दुर्गेश थापा कस्तो गाडी चढ्छन् ? यस्ता समाचार सर्वसाधारणका बन्दैनन् । मानिसहरु कस्ता मोबाइल बोक्छन् र बिहान बेलुका के खाना खान्छन् भनेर सबैको समाचार बन्दैन । तर सेलिब्रेटीको बन्यो ।
किनभने उनीहरु न्युज पर्सनालिटी हुन् । राजेश हमालको शारीरिक तन्दुरुस्तीकाका कारण उनको खाना समाचार बन्यो । अनि दुर्गेशको आम्दानीका कारण उनले चढ्ने कार पनि समाचार बन्यो । उहिलेदेखि आजसम्मै मानिसहरुलाई हसाइराख्ने हरिबंशको कलाका कारणले उनको दैनिकी समाचार बन्यो । राजनीतिक नेता मन्त्रीहरुमा पनि यो लागू हुन्छ । किनभने उनीहरु पनि सार्वजनिक व्यक्तित्व हुन् ।
यहीँनेर आउँछ गोपनीयताको कुरा । जस्तो कि यिनै पर्सनालिटीको गुनासो रहन्छ कि हामीले खाएको पनि किन समाचार बन्नुपर्ने ? हामीले खाए लाएको, हाम्रा दैनिकीको किन समाचार बन्ने ? के हाम्रो निजी जीवन हुँदैन ? हाम्रा पेशा र व्यवसाय अर्थात् हाम्रा कला र प्रतिभाका कृतिहरु सफल असफल हुँदा समाचार बन्नु त सार्वजनिक विषय नै होला तर हाम्रा दैनिकी किन समाचार बन्छन् ? तर पत्रकारिता उनीहरुका घरकम्पाउण्डमा चियाउने बाहेकका सबै दैनिकीलाई सार्वजनिक सरोकारको विषय हो भन्छ र समाचार बनाउन खोज्छ ।
यसैगरी पछ्याउँथे बेलायती पत्रकारहरुले युवराज्ञी चार्ल्स डायनालाई । त्यसैले बेलायतमा उनीहरुलाई पापाराजी भनिएको थियो । उनको पछि कार दुर्घटनामा मृत्यु भयो, त्यस दिन पनि पत्रकारले पछ्याएकै थिए भनिएको थियो । बेलायतमा राजपरिवार र फोटो पत्रकारका बीचमा यो विवाद रहेकै हुन्थ्यो । पत्रकार बकिङहम प्यालेसका सबै सदस्यको जीवन सार्वजनिक जीवन हो र समाचार बन्नुपर्छ भन्थ्यो । तर राजदरबारले भने पर्खालले बेरिएर बस्न चाहन्थ्यो । डायना छँदै र उनको मृत्युपछि पनि यो विवाद भएको थियो ।
नेपालमा पनि आउँछ यस्तो विवाद समय समयमा । यहाँ पनि चलचित्रका कतिपय नायिकाहरुले आफ्ना तस्बिर र दृश्यहरुप्रति सञ्चारमाध्यमसँग विवाद गरिरहन्थे । उनीहरु आफुखुसी पोशाक लगाएर सार्वजनिक स्थलमा जाने गर्छन् तर पछि छापिएर आउने फोटोमा भने आपत्ति जनाउने गर्छन् । उनीहरु मेरो यस्तो तस्बिर किन खिचेको भन्छन् अनि यता मिडिया भने तपाईँ सार्वजनिक स्थलमा किन यसरी उपस्थित भएको छ ? अरुको जसरी लिएका थियौँ, यहाँको पनि त्यसरी नै लियौँ भन्ने जवाफ पत्रकारले दिन्छन् । हुन पनि के सही हो भने नायिकाहरु कुनै कार्यक्रममा जान्छन् र त्यहाँ अरु मानिस र मिडिया पनि हुन्छन् भन्ने थाहा पाएकै हुन्छन् । तस्बिर लिएको पनि थाहा पाउँछन् । तर भोलिपल्ट छापिएर आउँदा आफ्नै तस्बिर खोइ उनीहरुलाई के कस्तो लाग्छ अनि मिडिया हाउसमा पुगेरै विरोध गर्न थाल्छन् ।
स्थानले तस्बिर लिने, नलिने कुराको निश्चय गर्न सघाउँछ । तर पनि सार्वजनिक स्थानमा लिने तस्बिरले कसैको गोपनीयताको हक हनन् भएको भन्न मिल्दैन । एकपटक काठमाडौँको एक ट्याबलोइड अखबारले चिडियाखानाको चउरमा युवायुवती रमाएका, कतिपय आलिङ्गनमा बाँधिएका र कतिले त चुम्बन गरेका पनि तस्बिर छापेछ । तीमध्ये केही त कुनै कलेजको पोशाकमै रहेछन् । उनीहरु भोलिपल्टै त्यो अखबारमा आए र त्यो तस्बिर किन खिचेको भनेर आपत्ति जनाउन थाले ।
सम्पादकको जिकीर स्वाभाविकै थियो कि ‘हामीले यी तस्बिर यहाँहरु कसैको घर कम्पाउण्डमा चियाएर र त्यहाँ पुगेर खिचेको होइन, सार्वजनिक स्थलमा खिचेका हौँ ।’ हुन पनि चिडियाखाना सार्वजनिक स्थल हो । त्यहाँ त्यसदिन पनि सयौँ मानिस पुगेका थिए । त्यहाँ त मानिस पुगि नै हाल्छन् । ती युवायुवतीका हर्कत चिडियाखानाको भ्रमणमा पुगेका अरुले पनि हेरिरहेका थिए । त्यसैले त्यो यसैपनि पब्लिक भइ नै सकेको थियो । त्यसलाई मिडियामा ल्याउँदा ती व्यक्तिको गोपनीयताको हनन् हुनुपर्ने कुरा पनि भएन ।
फेरि अर्काे कुरा के पनि थियो भने ती दृश्यहरुले एक प्रकारले सार्वजनिक सदाचारको पनि हनन् गरिरहेको थियो । किनभने त्यहाँ पुगेका स्कुले विद्यार्थीहरुले चिडियाखाना जाने त त्यस्तो काम गर्न पो रहेछ भन्ने पो मनमनैले सोचिरहेका थिए कि ? यस्तो कुरा पनि त ती युवायुवतीले विचार गर्नुपर्दथ्यो ।
त्यो अखबारमा पुगेका युवायुवतीको एकमात्र जिकीर यो थियो कि हामी केटासाथी केटीसाथी हौँ । हामीबीच एकअर्कामा आपत्ति छैन भने हामीलाई अपराधीजस्तो बनाएर किन छापेर सार्वजनिक गरेको ?
हो, तस्बिर लिँदा आउने मुख्य तर्क र अवस्था नै यहीँ हो । त्यो ती युवायुवतीले गर्न पाउँछन् । उनीहरु एकापसमा साथी हुन् र उनीहरुबीच आपत्ति पनि छैन । तर के त्यसो गर्नलाई त्यो ठाउँ सही थियो त ? के ती कामहरु सार्वजनिक स्थलमा गर्न मिल्छ ? त्यसबाट अरुले के सिकिरहेका छन् ? बन्द कोठाभित्र गर्नुपर्ने काम यसरी खुलमखुला पार्कमा गर्दा त्यसले सार्वजनिक सदाचार र नैतिकतामा आँच ल्याएको छ कि छैन ?
जस्तो कि मानौँ न हामी श्रीमान श्रीमती हौँ अरुलाई केको आपत्ति भनेर कुनै एउटा जोडीले बन्द कोठाभित्र गर्नुपर्ने काम सार्वजनिक पार्क या भनौँ बाटोमै गरिदियो भने त्यसलाई के भन्ने ? त्यही प्रकृतिको तस्बिर यदि कुनै मिडियाले उनीहरुको घरकम्पाउण्डमा पुगेर, चियाएर खिचिदियो र सार्वजनिक गर्यो भने मिडिया दण्डनीय हुन्छ, अन्यथा यस्तो हर्कत गर्ने त्यो जोडी नै दण्डनीय हुन्छ । किनभने यसले नेपालको प्रचलित मान्यता, आचरण र सार्वजनिक सदाचारमा खलल् पुर्याएको मानिन्छ ।
यस्तै प्रसंग यतिखेर बजारमा खुब चर्चामा छ । गत शुक्रबार अपराह्न नेकपा एसको पार्टी कार्यालयबाट निस्कँदै गर्दा एक फोटो पत्रकारले वरिष्ठ अधिवक्ता शम्भु थापाको तस्बिर खिच्न खोज्छन् तर थापाले आफैंले हातले सो क्यामेरालाई धकेल्छन् र अनुमति नलिइ किन तस्बिर लिएको भन्छन् । यहाँनेर पत्रकारले यो सार्वजनिकस्थल हो तस्बिरका लागि अनुमति लिनु पर्दैन भन्ने तर्क गर्दछन् । तर अधिवक्ता थापा भने सार्वजनिक स्थल भए पनि अनुमति लिनुपर्छ भन्छन् ।
यो पनि पढ्नुहोस- वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार
तर वास्तविकता के हो भने कुनै पनि दलको पार्टी कार्यालय सार्वजनिक स्थल नै हो । नेकपा एस वैधानिक रुपमा निर्वाचन आयोगमा दर्ता भएको र जनताले निर्वाचित गरेर संसदमा समेत पठाएको राजनीतिक दल भएकाले उसको पार्टी कार्यालय सार्वजनिक स्थल नहुने कुरै भएन ।
अर्काे कुरा त्यसैदिन सो पार्टीका अध्यक्ष माधव नेपाललाई अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरेको थियो । त्यो घट्ना त झन् सार्वजनिक सरोकारको विषय नै भैहाल्यो । सोही विषयमा सल्लाह गर्नका लागि पार्टीले थापासहित केही बरिष्ठ अधिवक्ताहरु बोलाएको थियो । त्यो सूचना पार्टीले नै गरेर ती पत्रकार त्यहाँ पुगेका थिए । त्यसैले मिडियाले थापाको विचार बुझ्न खोजेका थिए ।
यसरी सार्वजनिक सरोकारको विषयमा, सार्वजनिकस्थलमा र सार्वजनिक व्यक्तित्वसँग विचार लिन र तस्बिर खिच्न मिडियाले पाउँछ । यसका लागि अनुमति लिइरहनु पर्दैन । तर सम्बन्धित व्यक्तिले यसबारेमा आफू नबोल्न र तस्बिर खिच्न नदिन भने पाउँछ । म यो विषयमा बोल्दिन र यहाँहरुले मेरो तस्बिर पनि प्रयोग नगर्नुहोला भन्न सक्छ । त्यसो गर्दा मिडियाले पनि व्यक्तिको नबोल्न पाउने अधिकारको सम्मान गर्नुपर्छ र तस्बिर पनि छाप्नु हुँदैन ।
तर यो अवस्थासम्म घटना पुग्दैन, सुरुमै क्यामेरामा सम्बन्धित व्यक्तिले भौतिक रुपमा हमला गर्छन र तस्बिर किन खिचेको भनेर आपत्ति जनाउँछन् । त्यो शोभनीय हुँदैन, देखिँदैन । मिडिया पनि आफ्नै दायरमा छन् त्यहाँ किनभने उनीहरु भित्र बैठक भएकाले बाहिरै कुरेर बसेका छन् र बैठक सकिए लगत्तै तस्बिर र विचारका लागि आग्रह गर्दैछन् ।
विचार या धारणाजस्तै तस्बिर पनि अफ दि रेकर्ड हुन्छ, गर्न मिल्छ । त्यसैले थापाले मेरो तस्बिर प्रयोग नगर्नु र म यस विषयमा केही बोल्दिन भन्न सक्थे । त्यसो गर्दा मिडियाले जबर्जस्ती गर्न मिल्दैनथ्यो । मिडियाले तपाइँले यो विषयमा बोल्नै पर्छ भन्न मिल्दैन र प्राय:त्यस्तो गर्ने गरेका पनि छैनन् ।
त्यसैले यो आलेखको अन्तिम आसय यो हो कि सार्वजनिक स्थलमा, सार्वजनिक सरोकारको विषयमा र सार्वजनिक व्यक्तित्वको तस्बिर लिन र विचार माग्न अनुमति लिनु पर्दैन । त्यस्तो व्यक्तिले नबोल्न र तस्बिर नखिचाउन पाउने हक सुरक्षित नै छ । यसका लागि सञ्चारकर्मीमाथि या उनीहरुले प्रयोग गर्ने सामाग्रीमाथि हमला गर्नु हुँदैन । फेरि यसो भनेर ती व्यक्तिको तस्बिर उनीहरुका आफ्ना घरकम्पाउण्ड भित्रै पुगेर अनुमति बिना तस्बिर लिने अधिकार भने मिडियालाई छैन । यसो गर्दा कुनै पनि व्यक्तिको वैयक्तिक गोपनीयताको हक हनन् हुन पुग्दछ ।