२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान

तस्बिर : के नखिच्ने ? कहाँ खिच्ने ?

तस्बिर : के नखिच्ने ? कहाँ खिच्ने ?
अ अ+ अ-

पत्रकारितामा सधैँ विवादमा आइरहने विषय हो‐ तस्बिर । यसैसँग जोडिएर आउँछ नागरिकको वैयक्तिक गोपनीयताको हक पनि । यस सम्बन्धमा कानुन, आचारसंहिता, नियम, अभ्यास या प्रचलनहरुको कमी छैन । कयौँ स्थापित मान्यता पनि छन् । तर यति हुँदाहुँदै पनि विवादरहित कहिल्यै पनि हुन सक्दैन ।

यसका केही कारण छन्, ती हुन् मानिसको निजी जीवन र सार्वजनिक जीवन । व्यक्तिको निजी जीवन कस्को हुन्छ ? अर्थात् को व्यक्ति सार्वजनिक व्यक्तित्व हुन् र को होइनन् ? यसलाई सेलिब्रेटी पनि भनिन्छ । पत्रकारिताले तिनीहरुलाई पब्लिक पर्सनालिटी भन्छ । अनि पत्रकारिताले के भन्छ भने ती पब्लिक पर्सनालिटीहरु न्युज मेकर हुन् भन्छ । उनीहरुका दैनिकी पनि समाचार हुन् । किनभने पब्लिक पर्सनालिटीका दैनिकीहरु सर्वसाधारणका चासोका विषय हुन् । त्यसैले ती समाचार हुन् ।

जस्तो कि कहिलेकाहीँ हामीले पढ्छौँ नि राजेश हमालले के खाना खान्छन् ? रेखा थापा कुन मोबाइल बोक्छिन् ? हरिबंश आचार्यको दैनिकी कस्तो छ ? दुर्गेश थापा कस्तो गाडी चढ्छन् ? यस्ता समाचार सर्वसाधारणका बन्दैनन् । मानिसहरु कस्ता मोबाइल बोक्छन् र बिहान बेलुका के खाना खान्छन् भनेर सबैको समाचार बन्दैन । तर सेलिब्रेटीको बन्यो ।

किनभने उनीहरु न्युज पर्सनालिटी हुन् । राजेश हमालको शारीरिक तन्दुरुस्तीकाका कारण उनको खाना समाचार बन्यो । अनि दुर्गेशको आम्दानीका कारण उनले चढ्ने कार पनि समाचार बन्यो । उहिलेदेखि आजसम्मै मानिसहरुलाई हसाइराख्ने हरिबंशको कलाका कारणले उनको दैनिकी समाचार बन्यो । राजनीतिक नेता मन्त्रीहरुमा पनि यो लागू हुन्छ । किनभने उनीहरु पनि सार्वजनिक व्यक्तित्व हुन् ।

यहीँनेर आउँछ गोपनीयताको कुरा । जस्तो कि यिनै पर्सनालिटीको गुनासो रहन्छ कि हामीले खाएको पनि किन समाचार बन्नुपर्ने ? हामीले खाए लाएको, हाम्रा दैनिकीको किन समाचार बन्ने ? के हाम्रो निजी जीवन हुँदैन ? हाम्रा पेशा र व्यवसाय अर्थात् हाम्रा कला र प्रतिभाका कृतिहरु सफल असफल हुँदा समाचार बन्नु त सार्वजनिक विषय नै होला तर हाम्रा दैनिकी किन समाचार बन्छन् ? तर पत्रकारिता उनीहरुका घरकम्पाउण्डमा चियाउने बाहेकका सबै दैनिकीलाई सार्वजनिक सरोकारको विषय हो भन्छ र समाचार बनाउन खोज्छ ।

यसैगरी पछ्याउँथे बेलायती पत्रकारहरुले युवराज्ञी चार्ल्स डायनालाई । त्यसैले बेलायतमा उनीहरुलाई पापाराजी भनिएको थियो । उनको पछि कार दुर्घटनामा मृत्यु भयो, त्यस दिन पनि पत्रकारले पछ्याएकै थिए भनिएको थियो । बेलायतमा राजपरिवार र फोटो पत्रकारका बीचमा यो विवाद रहेकै हुन्थ्यो । पत्रकार बकिङहम प्यालेसका सबै सदस्यको जीवन सार्वजनिक जीवन हो र समाचार बन्नुपर्छ भन्थ्यो । तर राजदरबारले भने पर्खालले बेरिएर बस्न चाहन्थ्यो । डायना छँदै र उनको मृत्युपछि पनि यो विवाद भएको थियो ।

नेपालमा पनि आउँछ यस्तो विवाद समय समयमा । यहाँ पनि चलचित्रका कतिपय नायिकाहरुले आफ्ना तस्बिर र दृश्यहरुप्रति सञ्चारमाध्यमसँग विवाद गरिरहन्थे । उनीहरु आफुखुसी पोशाक लगाएर सार्वजनिक स्थलमा जाने गर्छन् तर पछि छापिएर आउने फोटोमा भने आपत्ति जनाउने गर्छन् । उनीहरु मेरो यस्तो तस्बिर किन खिचेको भन्छन् अनि यता मिडिया भने तपाईँ सार्वजनिक स्थलमा किन यसरी उपस्थित भएको छ ? अरुको जसरी लिएका थियौँ, यहाँको पनि त्यसरी नै लियौँ भन्ने जवाफ पत्रकारले दिन्छन् । हुन पनि के सही हो भने नायिकाहरु कुनै कार्यक्रममा जान्छन् र त्यहाँ अरु मानिस र मिडिया पनि हुन्छन् भन्ने थाहा पाएकै हुन्छन् । तस्बिर लिएको पनि थाहा पाउँछन् । तर भोलिपल्ट छापिएर आउँदा आफ्नै तस्बिर खोइ उनीहरुलाई के कस्तो लाग्छ अनि मिडिया हाउसमा पुगेरै विरोध गर्न थाल्छन् ।

स्थानले तस्बिर लिने, नलिने कुराको निश्चय गर्न सघाउँछ । तर पनि सार्वजनिक स्थानमा लिने तस्बिरले कसैको गोपनीयताको हक हनन् भएको भन्न मिल्दैन । एकपटक काठमाडौँको एक ट्याबलोइड अखबारले चिडियाखानाको चउरमा युवायुवती रमाएका, कतिपय आलिङ्गनमा बाँधिएका र कतिले त चुम्बन गरेका पनि तस्बिर छापेछ । तीमध्ये केही त कुनै कलेजको पोशाकमै रहेछन् । उनीहरु भोलिपल्टै त्यो अखबारमा आए र त्यो तस्बिर किन खिचेको भनेर आपत्ति जनाउन थाले ।

सम्पादकको जिकीर स्वाभाविकै थियो कि ‘हामीले यी तस्बिर यहाँहरु कसैको घर कम्पाउण्डमा चियाएर र त्यहाँ पुगेर खिचेको होइन, सार्वजनिक स्थलमा खिचेका हौँ ।’ हुन पनि चिडियाखाना सार्वजनिक स्थल हो । त्यहाँ त्यसदिन पनि सयौँ मानिस पुगेका थिए । त्यहाँ त मानिस पुगि नै हाल्छन् । ती युवायुवतीका हर्कत चिडियाखानाको भ्रमणमा पुगेका अरुले पनि हेरिरहेका थिए । त्यसैले त्यो यसैपनि पब्लिक भइ नै सकेको थियो । त्यसलाई मिडियामा ल्याउँदा ती व्यक्तिको गोपनीयताको हनन् हुनुपर्ने कुरा पनि भएन ।

फेरि अर्काे कुरा के पनि थियो भने ती दृश्यहरुले एक प्रकारले सार्वजनिक सदाचारको पनि हनन् गरिरहेको थियो । किनभने त्यहाँ पुगेका स्कुले विद्यार्थीहरुले चिडियाखाना जाने त त्यस्तो काम गर्न पो रहेछ भन्ने पो मनमनैले सोचिरहेका थिए कि ? यस्तो कुरा पनि त ती युवायुवतीले विचार गर्नुपर्दथ्यो ।

त्यो अखबारमा पुगेका युवायुवतीको एकमात्र जिकीर यो थियो कि हामी केटासाथी केटीसाथी हौँ । हामीबीच एकअर्कामा आपत्ति छैन भने हामीलाई अपराधीजस्तो बनाएर किन छापेर सार्वजनिक गरेको ?

हो, तस्बिर लिँदा आउने मुख्य तर्क र अवस्था नै यहीँ हो । त्यो ती युवायुवतीले गर्न पाउँछन् । उनीहरु एकापसमा साथी हुन् र उनीहरुबीच आपत्ति पनि छैन । तर के त्यसो गर्नलाई त्यो ठाउँ सही थियो त ? के ती कामहरु सार्वजनिक स्थलमा गर्न मिल्छ ? त्यसबाट अरुले के सिकिरहेका छन् ? बन्द कोठाभित्र गर्नुपर्ने काम यसरी खुलमखुला पार्कमा गर्दा त्यसले सार्वजनिक सदाचार र नैतिकतामा आँच ल्याएको छ कि छैन ?

जस्तो कि मानौँ न हामी श्रीमान श्रीमती हौँ अरुलाई केको आपत्ति भनेर कुनै एउटा जोडीले बन्द कोठाभित्र गर्नुपर्ने काम सार्वजनिक पार्क या भनौँ बाटोमै गरिदियो भने त्यसलाई के भन्ने ? त्यही प्रकृतिको तस्बिर यदि कुनै मिडियाले उनीहरुको घरकम्पाउण्डमा पुगेर, चियाएर खिचिदियो र सार्वजनिक गर्‍यो भने मिडिया दण्डनीय हुन्छ, अन्यथा यस्तो हर्कत गर्ने त्यो जोडी नै दण्डनीय हुन्छ । किनभने यसले नेपालको प्रचलित मान्यता, आचरण र सार्वजनिक सदाचारमा खलल् पुर्याएको मानिन्छ ।

यस्तै प्रसंग यतिखेर बजारमा खुब चर्चामा छ । गत शुक्रबार अपराह्न नेकपा एसको पार्टी कार्यालयबाट निस्कँदै गर्दा एक फोटो पत्रकारले वरिष्ठ अधिवक्ता शम्भु थापाको तस्बिर खिच्न खोज्छन् तर थापाले आफैंले हातले सो क्यामेरालाई धकेल्छन् र अनुमति नलिइ किन तस्बिर लिएको भन्छन् । यहाँनेर पत्रकारले यो सार्वजनिकस्थल हो तस्बिरका लागि अनुमति लिनु पर्दैन भन्ने तर्क गर्दछन् । तर अधिवक्ता थापा भने सार्वजनिक स्थल भए पनि अनुमति लिनुपर्छ भन्छन् ।

यो पनि पढ्नुहोस- वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार

तर वास्तविकता के हो भने कुनै पनि दलको पार्टी कार्यालय सार्वजनिक स्थल नै हो । नेकपा एस वैधानिक रुपमा निर्वाचन आयोगमा दर्ता भएको र जनताले निर्वाचित गरेर संसदमा समेत पठाएको राजनीतिक दल भएकाले उसको पार्टी कार्यालय सार्वजनिक स्थल नहुने कुरै भएन ।

अर्काे कुरा त्यसैदिन सो पार्टीका अध्यक्ष माधव नेपाललाई अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरेको थियो । त्यो घट्ना त झन् सार्वजनिक सरोकारको विषय नै भैहाल्यो । सोही विषयमा सल्लाह गर्नका लागि पार्टीले थापासहित केही बरिष्ठ अधिवक्ताहरु बोलाएको थियो । त्यो सूचना पार्टीले नै गरेर ती पत्रकार त्यहाँ पुगेका थिए । त्यसैले मिडियाले थापाको विचार बुझ्न खोजेका थिए ।

यसरी सार्वजनिक सरोकारको विषयमा, सार्वजनिकस्थलमा र सार्वजनिक व्यक्तित्वसँग विचार लिन र तस्बिर खिच्न मिडियाले पाउँछ । यसका लागि अनुमति लिइरहनु पर्दैन । तर सम्बन्धित व्यक्तिले यसबारेमा आफू नबोल्न र तस्बिर खिच्न नदिन भने पाउँछ । म यो विषयमा बोल्दिन र यहाँहरुले मेरो तस्बिर पनि प्रयोग नगर्नुहोला भन्न सक्छ । त्यसो गर्दा मिडियाले पनि व्यक्तिको नबोल्न पाउने अधिकारको सम्मान गर्नुपर्छ र तस्बिर पनि छाप्नु हुँदैन ।

तर यो अवस्थासम्म घटना पुग्दैन, सुरुमै क्यामेरामा सम्बन्धित व्यक्तिले भौतिक रुपमा हमला गर्छन र तस्बिर किन खिचेको भनेर आपत्ति जनाउँछन् । त्यो शोभनीय हुँदैन, देखिँदैन । मिडिया पनि आफ्नै दायरमा छन् त्यहाँ किनभने उनीहरु भित्र बैठक भएकाले बाहिरै कुरेर बसेका छन् र बैठक सकिए लगत्तै तस्बिर र विचारका लागि आग्रह गर्दैछन् ।

विचार या धारणाजस्तै तस्बिर पनि अफ दि रेकर्ड हुन्छ, गर्न मिल्छ । त्यसैले थापाले मेरो तस्बिर प्रयोग नगर्नु र म यस विषयमा केही बोल्दिन भन्न सक्थे । त्यसो गर्दा मिडियाले जबर्जस्ती गर्न मिल्दैनथ्यो । मिडियाले तपाइँले यो विषयमा बोल्नै पर्छ भन्न मिल्दैन र प्राय:त्यस्तो गर्ने गरेका पनि छैनन् ।

त्यसैले यो आलेखको अन्तिम आसय यो हो कि सार्वजनिक स्थलमा, सार्वजनिक सरोकारको विषयमा र सार्वजनिक व्यक्तित्वको तस्बिर लिन र विचार माग्न अनुमति लिनु पर्दैन । त्यस्तो व्यक्तिले नबोल्न र तस्बिर नखिचाउन पाउने हक सुरक्षित नै छ । यसका लागि सञ्चारकर्मीमाथि या उनीहरुले प्रयोग गर्ने सामाग्रीमाथि हमला गर्नु हुँदैन । फेरि यसो भनेर ती व्यक्तिको तस्बिर उनीहरुका आफ्ना घरकम्पाउण्ड भित्रै पुगेर अनुमति बिना तस्बिर लिने अधिकार भने मिडियालाई छैन । यसो गर्दा कुनै पनि व्यक्तिको वैयक्तिक गोपनीयताको हक हनन् हुन पुग्दछ ।