३१ जेष्ठ २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार



अ+ अ-

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । थापाले आफ्नो फोटो खिचिरहेका पत्रकारको क्यामेरामा मुक्का प्रहार गरेका छन् ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयबाट बाहिर निस्कने क्रममा थापाले पत्रकार उमेश कार्कीको क्यामेरामा हातपात गरेका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध बिहीबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गृहजिल्ला रौतहटमा रहेका अध्यक्ष नेपाल काठमाडौं फर्केपछि पार्टी नेताहरूसँग छलफलमा जुटेका थिए ।

छलफलकै लागि नेपालले वरिष्ठ अधिवक्ता थापा र गोविन्द बन्दीलाई पार्टी कार्यालयमै डाकेका थिए । नेपालसँग छलफल सकेर पार्टी कार्यालयको गेटबाट बाहिरिँदै गरेका थापालाई पत्रकारहरूले क्यामेरामा कैद गर्दै केही प्रश्न सोध्न खोजेका थिए । तर अनुमति नलिई फोटो लिएको भन्दै थापाले पत्रकार कार्कीको क्यामेरामा प्रहार गरेका हुन् ।

थापाले दुर्व्यवहार गरेको भन्दै पत्रकारहरूले प्रतिवाद गरेपछि केहीबेर विवादसमेत भएको थियो ।

त्यसपछि एकीकृत समाजवादीका नेता सुदेश पराजुलीले थापालाई गाडीतिर पुर्याएका थिए।

यो घटनालाई लिएर थापाको आलोचना भइरहेको छ । घटनाप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राख्दै नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले विज्ञप्ति जारी गरेको छ ।