११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया



अ+ अ-

काठमाडौँ। पूर्वशिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले अमेरिकाको नर्थ क्यारोलाइनास्थित मोरिसभिलमा स्थानीय नेपाली समुदायसँग नेपालको शिक्षाका विषयमा हालै एक अन्तरक्रिया गर्नुभएको छ ।

नेपालमा रहँदा शिक्षण पेसामा आबद्ध नेपाली विद्वत वर्गले नेपाल र अमेरिकाबीचको शिक्षण विधिका भिन्नता र एकरूपताका बारेमा आफ्ना धारणा राखेका थिए । सो अवसरमा नेपालको पाठ्यक्रम तथा शिक्षणमा गर्न सकिने परिवर्तन र सुधारका बारेमा छलफल भएको थियो ।

नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी)का संस्थापक अध्यक्ष ईश्वर देवकोटाले पोख्रेललाई स्वागत गर्दै नेपालका  विद्यालयमा पनि विद्यार्थीले क्षमता र रुचिअनुसार  कलेजका केही कोर्ष विद्यालयमै अध्ययन गर्न पाउने अवसर प्रदान गर्ने नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

एनसिएनसीका अध्यक्ष डा विकास शाक्यले अमेरिकी शिक्षणमा जस्तै  नेपालमा  अनुसन्धानलाई अझ बढी समावेश गर्न सके उचित हुने बताउनुभयो । योगमाया विश्वविद्यालय परिषद् सदस्य तथा साहित्यकार डा नीलम कार्की ‘निहारिका’ले कोर्षका किताबबाहेक अतिरिक्त पुस्तक पढ्ने वातावरण सृजना गर्न र त्यसका लागि उमेर तथा तहअनुसारका पुस्तक प्रकाशन र पुस्तकालय व्यवस्थापनमा जोड दिनुभयो ।

हाल केही सामुदायिक विद्यालयले अनुकरणीय कार्य गरेको हुँदा त्यस्ता विद्यालयलाई नमूनाको रूपमा प्रस्तुत गर्दै शिक्षकलाई बेलाबेला तालिमका साथै निश्चित वर्षपछि लाइसेन्स नवीकरणको अवधारणा प्रभावकारी हुने उहाँको धारणा थियो । नर्थ क्यारोलोइना नेपाली साहित्य समाजका अध्यक्ष  शिखर दुलालले सानै उमेरदेखि ‘हेल्थ फुल लिभिङ’सम्बन्धी नैतिक शिक्षा दिनुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री पोख्रेलले आर्थिक  समृद्धि नभई  शिक्षामा सुधार गर्न नसकिने, आर्थिक विकासका लागि प्रवासमा बस्ने प्रबुद्ध वर्ग पनि जोडिनुपर्ने धारणा राख्नुभयो । अबको शिक्षालाई बढी प्रयोगात्मक बनाउन, सूचना प्रविधि र नीति निर्माणमा जोड दिँदै सामुदायिक विद्यालयलाई  गुणात्मक बनाउन सरकारले चासो दिई त्यहीअनुसारको नीति निर्माण तर्जुमा गर्नुपर्ने उहाँको भनाइ छ ।

“सम्बन्धित विषयमा निपूण, अनुभवीहरूलाई समेटेर शिक्षा नीति र पाठ्यक्रम तय गरी अगाडि नबढी उपायै छैन”, उहाँले भन्नुभयो, “प्रवासमा रहनेहरूलाई कुनै न कुनै माध्यमबाट आफ्नो माटोमा जोडिन अनुरोध गर्छु ।”

पछिल्लो समय केही नयाँ विश्वविद्यालयहरू खुलेका र तिनले विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्न सक्ने, नेपालको प्रकृति  र स्रोतअनुसार अध्ययन अनुसन्धान हुने उहाँले जानकारी दिनुभयो । उहाँले योगमाया विश्वविद्यालयको अवधारणा र मुख्य विषय आयुर्वेद, योग, ध्यान तथा वैकल्पिक चिकित्सा रहेको प्रष्ट पार्नुभयो । रासस