एजेन्सी । आईपीएल २०२५ सकिएको छ । रोयल च्यालेन्जर्स बैंगलोरले १७ वर्षपछि ट्रफी जितेको छ ।
फाइनल खेलपछि धेरै खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । यसक्रममा १४ वर्षीय वैभव सूर्यवंशीले आईपीएल २०२५ मा उत्कृष्ट ब्याटिङ गरे ।
उनले सुपर स्ट्राइकर अफ द सिजनको अवार्ड पाए । यसका साथै उनले टाटा कर्भ कार पनि पाएका छन् ।
तर, सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनले लाईसेन्स नभएपछि कार के गर्लान् भन्दै प्रश्न गरेका छन् । लाइसेन्स निकाल्नका लागि सामान्यतया १८ वर्ष पुगेको वा सो भन्दा माथि उमेरको हुनुपर्छ ।
सिजनभरि सबैभन्दा धेरै स्ट्राइक रेटमा रन बनाउने तथा कम्तीमा १०० बल खेल्ने खेलाडीलाई सुपर स्ट्राइक अफ द सिजन अवार्ड दिइन्छ ।
राजस्थान रोयल्सबाट खेल्दा वैभवले यो सिजनभरि उत्कृष्ट ब्याटिङ गरे । १४ वर्षीय वैभवले सुरुवाती खेलहरूमा खेल्ने मौका पाएनन् । तर जब उनले मौका पाए, उनले कहिल्यै पछाडि फर्केर हेरेनन् ।
वैभवले यस सिजनमा केवल ३५ बलमा शतक प्रहार गरे । उनी सबैभन्दा कम बलमा शतक प्रहार गर्ने भारतीय ब्याट्सम्यान बने । आईपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बने ।
वैभवले यस सिजनमा सात खेल खेले । यस अवधिमा वैभवको ब्याटले तीव्र गतिमा रन बनाइरहेको थियो । १४ वर्षीय खेलाडीको स्ट्राइक रेट निकोलस पूरन र आन्द्रे रसेल जस्ता दिग्गज खेलाडीहरूभन्दा उच्च थियो ।
वैभवले सिजनभरि २०६.५६ को स्ट्राइक रेटमा रन बनाइरहेका थिए । वैभवले ७ खेलमा ३६ को औसतमा २५२ रन बनाए । यस अवधिमा उनले १ अर्धशतक र १ शतक बनाए ।










