ओस्लो। नर्वेको राजधानी ओस्लोले बिहीबार विद्यालयमा ‘स्मार्ट चस्मा’को प्रयोगमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । यो कदम बालबालिकालाई ‘मेटाको डाटा सङ्कलनमा अतिरिक्त सहयोगी’ बन्नबाट रोक्नका लागि लिइएको हो ।
“यो प्रतिबन्ध सबै विद्यालय र शैक्षिक संस्थाकासबै तहमा लागू हुन्छ,” ओस्लो नगर प्रशासनले जारी गरेको एक विज्ञप्तिमा जनाएको छ ।
“हामी राजनीतिज्ञहरूले यसको वास्तविक उद्देश्यबारे इमानदार हुने साहस राख्नुपर्छ, संसारकै सबैभन्दा धनी कम्पनीहरूमध्ये एकले यस्तो उत्पादन ल्याएको छ जसको सम्पूर्ण व्यापारिक विचार नै तपाईंलाई फिल्म गरिरहेको बेला थाहा नहोस् भन्ने हो,” ओस्लोका शैक्षिक उपमेयर जुली रेमेन मिड्टगार्डेनले भन्नुभयो ।
“ओस्लोमा हामी हाम्रा बच्चाहरूलाई मेटाको डाटा सङ्कलनमा अतिरिक्त कलाकार बन्न दिँदैनाँै,” उहाँले भन्नुभयो ।
उहाँले नर्वेको वामपन्थी सरकारको पनि आलोचना गर्नुभयो । नगरले यस्ता उपकरण र सार्वजनिक स्थानमा अनुहार पहिचान प्रविधिको नियमनबारे विचार गर्दै विशेषज्ञ समूह गठन गरेको बताएको छ ।
“आज नै नर्वेमा यी चस्मा बिक्री भइरहेका छन्, आज नै नर्वेका विद्यालयका मैदानमा प्रयोग भइरहेका छन्, र समस्या अहिले नै छ । विषयमाथि अध्ययन गर्नु भनेको कारबाही गर्नु होइन,” मिड्टगार्डेनले भन्नुभयो ।
स्मार्ट चस्माले लगाउने व्यक्तिलाई फोटो र भिडियो खिच्न, सङ्गीत सुन्न, फोन कल गर्न, विदेशी भाषाका सङ्केत अनुवाद गर्न, दृष्टि क्षेत्रमा पाठ वा नक्सा प्रोजेक्ट गर्न वा एकीकृत एआई सहायकसँग अन्तरक्रिया गर्न अनुमति दिन्छ ।
मेटाले आफ्ना स्मार्ट चस्मामा अनुहार पहिचान सुविधा विकास गरेको बताइएको छ ।
ओस्लोका विद्यालयमा यो प्रतिबन्ध अगस्ट २७ देखि लागू भएको थियो, तर अगस्ट २८ मा राजा हेराल्ड पाँचौको निधनपछि नर्वेली दलहरूबीच भएको राजनीतिक गतिविधि नगर्ने सहमतिपछि घोषणा बिहीबारसम्म स्थगित गरिएको थियो । (रासस/एएफपी)









