७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरलाई हराउँदै पिएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ ।

भर्खरै सम्पन्न फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ५-० गोलले हराउँदै पिएसजी पहिलोपटक च्याम्पियन बनेको हो ।

जर्मनीको म्युनिखमा भएको फाइनल खेलमा पिएसजीलाई उपाधि दिलाउन डिजाइर डोएले दुई तथा अच्रफ हाकिमी, ख्भिचा क्भारात्स्खेलिया र सेन्नी माउलुले एक-एक गोल गरे ।

खेलको १२ औं मिनेटमा हाकिमीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । भिटिन्हाले उपलब्ध गराएको पासमा हाकिमिले ट्यापिङ गर्दै वान टचमा सहजै गोल गरे ।

खेलको २० औं मिनेटमा पिएसजीले अग्रता दोब्बर पार्यो । डिजाइर डोएले गोल गर्दै टोलिको अग्रता दोब्बर पारेका हुन् ।

काउन्टरमा अगाडि बढेको पिएसजीका ओस्माने डेम्बेलेले उपलब्ध गराएको पासमा डोएले छातीले बललाई नियन्त्रणमा लिएर प्रहार गरेको बल इन्टरका डिफेन्डर डिमार्कोलाइ लागेर गोलमा परिणत भयो । इन्टरका गोलकिपर यान सोमरले बल रोक्ने कुनै मौका पाएनन् ।

६३ औं मिनेटमा डोएले व्यक्तिगत दोस्रो तथा टोलिका लागि तेस्रो गोल गर्दै पिएसजीलाई ३-० ले अघि बढाए । भिटिन्हाले उपलब्ध गराएको पासमा उनले गोल गरे ।

यता, ७३ औं मिनेटमा ख्भिचा क्भारात्स्खेलियाले गोल गर्दै पिएसजीलाई ४-० ले अघि बढाए । एकपक्षीय बनेको खेलमा डेम्बेलेले दिएको पासको सदुपयोग गर्दै ख्भिचाले गोल गरेका हुन् ।

८६ औं मिनेटमा सेन्नी माउलुले गोल थप्दै पिएसजीलाई ५-० को फराकिलो जित दिलाए । उत्कृष्ट लयमा रहेको पिएसजीले यो उपाधिसँगै चार वटा उपाधि जित्न सफल रह्यो । उसले लिग वान, च्याम्पियन्स लिग, कप दि फ्रान्स र ट्रफि डेस च्याम्पियन्स जितेको हो ।