काठमाडौं । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक बाढीले बगाएको छ । गएराति आएको बाढीले वैकल्पिक सडक बगाएपछि यातायात आवागमन ठप्प भएको छ ।
गएरातिको वर्षाले चोरमारा, दुम्किबास र दाउन्ने सडकको डाइभर्सन बगाएका कारण यातायात ठप्प भएको हो । ती स्थानमा वैकल्पिक सडक निर्माणको काम सुरु भएको छ ।
बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिन अघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएका कारण राजमार्गको यातायात ठप्प भएको हो । बाढीले तरकारी बोकेको लु ३ च ८४९३ नम्बरको पिकअप भ्यान पनि बगाएको छ ।
यता महेन्द्र राजमार्गअन्तर्गत चोरामाराको फलामे पुल भाँच्चिएपछि निर्माण गरिएको अस्थायी सडक बगाएको छ । उता दुम्किबासस्थित विनयी खोला पुल भाँच्चिदा निर्माण गरिएको डाइभर्सन बगाएका कारण हजारौं यात्रु राजमार्गमा अलपत्र परेका छन् ।
दाउन्ने र आसपासको क्षेत्रमा गएराति हल्का वर्षात भएको थियो । महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम छुटेका सयौँ सवारी साधन चोरमारा र बर्दघाटमा रोकिएका छन् ।










