१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

उपत्यकामै २ सय ३९ संक्रमित, राजधानीका चारै कोरोना अस्पताल भरिए

उपत्यकामै २ सय ३९ संक्रमित, राजधानीका चारै कोरोना अस्पताल भरिए
अ अ+ अ-

काठमाडौँ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को कन्ट्याक्ट ट्रेसिङ कन्ट्रोल रुम सोमबार बिहान निकै व्यस्त थियो । एउटा कोठामा देशभरका संक्रमितको विवरण बटुलिंदै थियो भने अर्कोमा काठमाडौं उपत्यकामा कोरोना पोजिटिभ देखिएकालाई सम्पर्क गरेर विवरण टिपिँदै थियो । संक्रमितको ट्रेसिङ गरिरहेका दुई जना निकै तनावमा देखिन्थे । काठमाडौं उपत्यकामा आइतबार ३० जनामा संक्रमण पुष्टि भएको थियो ।
उपत्यकामा समुदायमा संक्रमण फैलिएको आशंकामा बस्ती–बस्तीमा नमुना स्वाब संकलन गर्ने क्रममा सोमबार शंखमूल क्षेत्रमा निकालिएको स्वाब र , राजधानीमा बढ्दै गएको संक्रमित संख्याको ग्राफ ।

उनीहरू प्रयोगशालाहरूबाट प्राप्त फोन नम्बरमा संक्रमितलाई फोन गरिरहेका थिए । तर कसैको फोन अफ हुन्थ्यो त कसैले उठाउँदैनथे । ‘हामीले हिजो संक्रमित देखिएका सबैलाई सम्पर्क गरेका थियौं, एक–दुई जनाले हामीले सम्पर्क गरेपछि फोन अफ गर्नुभयो । उहाँहरूलाई अहिले पनि सम्पर्क गर्ने कोसिस गरिरहेका छौं,’ एक कन्ट्याक्ट ट्रेसरले भने, ‘ट्रेसिङको सबैभन्दा गाह्रो पाटो भनेकै संक्रमितलाई अस्पतालको आइसोलेसनसम्म ल्याउनु हो ।’

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना गरी उपत्यकामा हालसम्म २ सय ३९ जना संक्रमित छन् । सोमबार मात्रै काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना गरी ५४ नयाँ संक्रमित थपिएका हुन् । ईडीसीडीका अनुसार सोमबार अपराह्नसम्म १ सय ५३ संक्रमित आइसोलेसनमा छन् । तीमध्ये केहीको आईसीयूमा भर्ना गरेर उपचार भइरहेको छ । ललितपुरमा १ र काठमाडौंमा १ जनाको मृत्यु भएको छ । सोमबार संक्रमण पुष्टि भएका ५४ जना र आइतबार पुष्टि भएका २ जनालाई सोमबार रातिसम्म अस्पताल ल्याइएको छैन ।

अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३२ जना, पाटन अस्पतालमा ४६ जना, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ५७ जना, दुवाकोटको केएमसी अस्पतालमा १८ जना संक्रमित रहेको ईडीसीडीले जानकारी दिएको छ । पाटन अस्पताल स्रोतका अनुसार ४५ शय्याको कोभिड युनिट भरिएको छ । आइसोलेसनमा समेत ८९ जना शंकास्पद बिरामीलाई भर्ना गरेर राखिएको छ । ‘संक्रमितहरूले फोन गरेर हामी कहाँ जाने भनेर सोध्छन्, हामीसँग खाली बेड नै छैन,’ अस्पताल स्रोतले भन्यो, ‘मन्त्रालयको हटलाइनमा फोन गरेर सोध्नुस् भन्नुको हामीसँग पनि अर्को विकल्प छैन ।’

टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जनरल बेड भरिएपछि आईसीयूमा भर्ना गरेर उपचार भइरहेको बताए । उनका अनुसार आईसीयूमा आठ जनालाई भर्ना गरिएको छ । एक सातायता उपत्यकाका तीनै जिल्लामा संक्रमितको संख्या बढ्न थालेपछि ईडीसीडीमा कन्ट्याक्ट ट्रेसिङको जिम्मा पाएकाहरूको व्यस्तता निकै बढेको छ । ईडीसीडीका प्रमुख डा. वासुदेव पाण्डेका अनुसार काठमाडौंमा केही समययता जिल्लाबाट आउने तथा विदेशबाट आउनेको संख्यासँगै संक्रमितको संख्या पनि बढेको हो । ‘अहिले पनि संक्रमितको विश्लेषण गर्दा अधिकांश संक्रमण विदेशबाट भित्रिएको देखिन्छ,’ उनले भने, ‘केही स्थानमा लोकल ट्रान्समिसन पनि छ तर समुदायमै गइसक्यो भनेर ठोकुवा गर्न मिल्ने अवस्था छैन ।’ उनका अनुसार वाग्मती र गण्डकी प्रदेशको अहिलेको अवस्था भनेको ‘स्प्रोडिक केसस’ (छिटपुट) को हो भने अन्य प्रदेशलाई ‘क्लस्टर अफ केसस’ (समूहगत रूपमा) मा राखिएको छ ।

उनका अनुसार काठमाडौं उपत्यका कोरोना संक्रमणको नयाँ ‘हटस्पट’ बन्ने जोखिम बढ्दै गएको छ । सोमबार थपिएको संख्याले उनको दाबीलाई थप बल मिलेको छ । त्यसमा पनि उपत्यकाका विभिन्न १२ स्थानमा ‘ट्राभल हिस्ट्री’ (यात्राको इतिहास) नै नभएका १२ जनामा संक्रमण देखिएको पुष्टि भएपछि ईडीसीडीलाई कतै समुदायमै पो संक्रमण पुगिसक्यो कि भनेर थप तनाव थपिएको छ । ‘अहिलेसम्म उपत्यकामा समुदायमा संक्रमण पुगेको छरछैन यकिन गर्न सक्ने अवस्था छैन,’ डा। पाण्डेले भने, ‘हामीले ट्राभल हिस्ट्री नदेखिएका संक्रमित भेटिएका स्थानबाट करिब एक सय जनाको हाराहारीमा थ्रोट स्वाब संकलन गरेर परीक्षण गर्न थालेका छौं । सबै १२ स्थानमा परीक्षण सकिएपछि अवस्था के हो भन्ने थाहा होला ।’

महाशाखा प्रमुख डा. पाण्डेका अनुसार काठमाडौंको तीनकुने, कपन, खुसिबु, कागेश्वरी, मैतीदेवी, टोखा, कोटेश्वर र शंखमूल, ललितपुरको नख्खु र प्यूटार तथा भक्तपुरको भोलाछें र बोडेबाट नमुना संकलन गर्ने कार्य सुरु गरिएको छ । जसअन्तर्गत तीनकुने, नख्खु र कोटेश्वरबाट नमुना संकलन गरेर परीक्षणसमेत भइसकेको छ । त्यसमा सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै टोखाको रिपोर्ट आउन बाँकी नै छ भने शंखमूल र बोडेबाट सोमबार नमुना संकलन गरिएको छ । डा। पाण्डेका अनुसार अन्य बाँकी स्थानबाट पनि छिट्टै नमुना संकलन गर्ने व्यवस्था मिलाइँदै छ ।

यसरी ट्राभल हिस्ट्री नै नभई संक्रमित भएकाहरूमा सानोमा ४ वर्षीया बालिकादेखि ठूलोमा ६५ वर्षीया महिलासम्म छन् । तीमध्ये ४, ५ १४ र १८ वर्षका बालबालिका १–१ जना, २२ वर्षका २ जना, २५, ३२, ३४, ३५, ४५ र ६५ वर्षका १–१ जना छन् ।

‘आजै हामीले गंगालाल अस्पतालबाट पनि फ्रन्टलाइनमा बसेर काम गर्ने ५० जना स्वास्थ्यकर्मीको पनि नमुना संकलन गरेका छौं,’ डा। पाण्डेले भने । उनका अनुसार हालसम्म उपत्यकाका अस्पतालमा आइसोलेसनमा रहेका संक्रमितमध्ये लगभग सबै जनामा कोरोना संक्रमणको कुनै लक्षण देखिएको छैन । १२ स्थानबाहेक पनि पुनः थप केही स्थानमा ट्राभल हिस्ट्रीबिनाका संक्रमित फेला परेको उनले बताए । ‘हामी उपत्यकाका यी १२ स्थानबाहेकका अन्य केही स्थानबाट पनि थ्रोट स्वाबको नमुना संकलन गरेर परीक्षण गर्छौं,’ उनले भने, ‘त्यसपछि उपत्यकाको वास्तविक अवस्था छर्लंग हुन्छ ।’

डा. पाण्डेको भनाइमा काठमाडौं उपत्यकाको मात्रै नभई ईडीसीडीले देशभर नै संक्रमणको अवस्था के छ भनेर जान्नका लागि सेरोप्रिभेलेन्स सर्भे गर्दै छ । ‘हामीले इम्युनोएस्सेको ईएलआईएसए विधिबाट देशभर नै एन्टिबडी परीक्षणसमेत गर्दै छौं,’ उनले भने, ‘त्यसमा लगभग ४५ हजार जनाको परीक्षण गर्ने लक्ष्य लिएका छौं । त्यसपछि देशभरकै वास्तविक अवस्था थाहा हुनेछ ।’

१० दिनमा तीन गुणा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १० दिनअघि कोरोना संक्रमितको संख्या ७८ जना मात्रै थियो । सोमबार यो संख्या तीन गुणा ९२ सय ३९० पुगेको छ । तीमध्ये १ सय १३ जना महिला र १ सय २६ जना पुरुष छन् ।

तीनै जिल्लामा पछिल्लो एक सातामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १५ सम्म ९२ जना संक्रमित रहेकामा १६ गते १ सय ६ जना पुग्यो । १७ गते १ सय २३ संक्रमित थिए भने १८ गते यो संख्या बढेर १ सय ५५ पुग्यो । आइतबार १ सय ८५ जना संक्रमित रहेकामा सोमबार २ सय ३९ पुगेको छ ।

देशमा पहिलोपटक कोराना देखिएको युवालाई पनि काठमाडौंकै तथ्यांकमा समावेश गरिएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ मा नेपाल आएकी मैतीदेवीकी एक युवतीमा चैत ९ मा कोरोना देखिएको थियो । उनी मुलुककै दोस्रो संक्रमित हुन् । उनलाई कोरोना देखिएलगत्तै चैत ११ देखि सरकारले देशमा लकडाउन घोषणा गरेको थियो । वैशाख ३० मा कञ्चनपुरबाट आएकी एक महिलामा कोरोना पुष्टि भएको थियो । त्यही दिन सुनसरीबाट आएकी एक युवती र नेकपाका नेता भीम रावलका सुरक्षामा खटिने सशस्त्र प्रहरी जवानलाई कोरोना देखिएको थियो । वैशाख ३० सम्म संक्रमितको संख्या सात जना मात्रै थिए । जेठ १५ मा संक्रमितको संख्या २४ जना पुग्यो । जेठ अन्तिममा भने संक्रमितको संख्या ३९ मा सीमित रहेकामा असार १३ मा ८३ जना भयो ।

यसरी काठमाडौं उपत्यकामा देखिएको संक्रमितको तथ्यांक केलाउँदा असार १६ देखि मात्रै तीन अंकले बढेको देखिन्छ । भक्तपुर र ललितपुरको तुलनामा काठमाडौंमा संक्रमित दर पनि बढी छ । असार १६ मा ७२ जना संक्रमित रहेकामा १८ मा १ सय १० पुगेको थियो । काठमाडौंमा आइतबार संक्रमितको संख्या १ सय ३७ थियो । सोमबार यो संख्या बढेर १ सय ६१ पुगेको छ । ललितपुरमा जेठ ६ मा कन्ट्याक्ट ट्रेसिङमै खटिएका चिकित्सकलाई संक्रमण देखिएको थियो । भक्तपुरमा भने सुनसरीबाट आएर ठिमीमा साथीको कोठामा बसेकी युवती र सशस्त्र प्रहरीको जवानलाई पहिलो पटक कोरोना देखिएको थियो ।

२१–३० वर्षका बढी संक्रमित

मन्त्रालयका अनुसार देशभरका संक्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका बढी छन् । सोमबारसम्म संक्रमित १५ हजार ९ सय ६४ संक्रमितमध्ये ५ हजार ९ सय ४३ जना २१ देखि ३० वर्ष उमेर समूहका छन् । काठमाडौँ उपत्यकामा पनि यही उमेर समूहका संक्रमित बढी छन् ।

कान्तिपुरलाई प्राप्त तथ्यांकअनुसार उपत्यकामा १० वर्ष उमेर समूहका ७ जना, ११ देखि २० वर्षका ९ जना रहेका छन् । यस्तै २१ देखि ३० वर्ष उमेर समूहका ४७ महिला तथा ३७ जना पुरुष छन् । यस्तै ३१ देखि ४० वर्ष उमेर समूहका ३५–३५ जना महिला र पुरुष छन् । ४१ देखि ५० वर्ष उमेर समूहका १८ जना महिला तथा २२ जना पुरुष, ५१ देखि ६० वर्ष उमेर समूहका २ जना महिला तथा १३ जना पुरुष, ६१ देखि ७० वर्ष उमेर समूहका ३ महिला तथा ६ पुरुष, ७१ देखि ८० वर्ष उमेर समूहका १ महिला, ८० वर्षमाथिका २ महिला र २ पुरुषलाई कोरोना संक्रमण देखिएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।