संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपालले जलवायु अभियन्ता र सगरमाथा आरोहीद्वय बंगलादेशी नागरिक इक्रामुल हसन शाकिल र नेपाली नागरिक पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ ।
बुधवार ललितपुरमा एक कार्यक्रका बीच युएनडिपी नेपालले आरोहीद्वय शाकिल र श्रेष्ठलाई सम्मान गरेको हो । शाकिलले पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको हो भने पूर्णिमाले भने एकै सिजनमा तीन पटक सगरमाथा चढ्दै इतिहास रच्नुभएको छ । उहाँ एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला बन्नुभएको छ ।
प्लास्टिक प्रदुषण विरुद्ध जागरुकता भन्ने नाराका साथ सगरमाथा चढ्नुभएका दुवैले हिमालका समस्याहरुलाई सरकारले विकासका एजेण्डासँग जोड्न आवश्यक रहेको बताउनु भयो । सम्मान कार्यक्रममा बोल्दै उहाँहरुले आफूले हिमाल आरोहणको क्रममा देखेका जलवायु परिवर्तनका असरहरू, वातावरणीय जोखिम र स्थानीय समुदायहरूको कठिन जीवनस्थिति कठिन बन्दै गएको बताउनु भयो ।
सम्मान कार्यक्रममा युएनडिपी नेपालका नीति सल्लाहकार विजय सिंहले हिमाल संरक्षणका लागि उहाँहरुले देखाएको जागरुकताको सदुपयोग देशले गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले हिमालका समस्याहरुलाई सरकारको विकासको एजेण्डासँग जोड्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘युएनडिपीको हिमालको संरक्षण गर्नको लागि उहाँहरुको जुन जागरुकता छ त्यसको सदुपयोग गर्न खोजेको हो । उहाँहरुले आफूले भोगेको समस्या र हिमालमा देखेको दुर्गतिको विषयलाई सरकारको विकासको एजेण्डासँग कसरी लिंक गर्न सकिन्छ । त्यो आवश्यक पनि छ ।’
उहाँले मानव जीवनको लागि हिमालको आवश्यकता अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताउनु भयो ।










