काठमाडौं । रास्वपा कार्यवाहक सभापति डोल प्रसाद अर्यालले ‘दलतन्त्र’को एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममाथि नै प्रहार भएको जनाउनु भएको छ । गणतन्त्र दिवसको अबसरमा शुभकामना व्यक्त गर्नुहुदै अर्यालले सीमित दल र नेताहरूको वरिपरि घुम्ने शक्ति अभ्यासले नागरिकका वास्तविक सरोकार ओझेलमा परेका जनाउनु भएको छ ।
शुभकामना सन्देशमा भनिएको छ- नागरिक सर्वोच्चता, विधिको शासन र समावेशी लोकतन्त्र गणतन्त्रका आधारभूत स्तम्भ हुन् । तर, आज यी स्तम्भ कति बलिया छन् भन्ने प्रश्न हाम्रासामु टड्कारो रूपमा खडा छ ।
शुभकानमा सन्देशमा भनिएको छ- नागरिकका स्वभाविक आकांक्षा र सामान्य चाहनासमेत सम्बोधन नहुँदा उनीहरूमा बढेको निराशा आक्रोशमा रूपान्तरण हुँदैछ, जुन व्यवस्थाको सुव्यवस्थित सञ्चालन र स्थायीत्व लागि शुभसंकेत होइन । राज्य र शासकले नागरिकको आवाज र उनीहरूको जीवनस्तर सुधारको चाहना मात्र होइन आफू र आफ्नै संरचनाको जनमैत्री रुपान्तरणमा निरन्तर गरेको बेवास्ता व्यवस्थाप्रतिकै विश्वास संकटोन्मुख बनाउने मूल कारण हो ।
सन्देशमा भनिएको छ -प्रमुख दुई दलको सत्ता समीकरणको रसायन भनिएको संविधान संशोधनलाई उनीहरुले नै रणनीतिक रूपमा ओझेलमा पारेका छन् । नागरिकले शासकीय स्वरुप र शैली तथा केही गणतान्त्रिक संरचनाप्रति व्यक्त गर्दै आएको असन्तुष्टिको सम्बोधनसहित गणतन्त्रलाई थप गतिशील बनाउन संवैधानिक सुधार अपरिहार्य भइसक्यो । यसतर्फ सरकार, राजनीतिक नेतृत्व र आमनागरिकको गम्भीर ध्यानाकर्षण गराउँछौं ।
सन्देशमा भनिएको छ -नयाँ सोच र विचारमा जनम्याण्डेटसहित अगाडि आउन खोजेका वैकल्पिक राजनीतिक दलविरुद्ध राज्य र राज्य संरक्षित समूहकको प्रहारले लोकतान्त्रिक प्रतिस्पर्धाको मर्ममै घातक आक्रमण गरिरहेको छ । यसले स्थापित शक्तिहरू परिवर्तन र नयाँपनप्रति कति असहिष्णु छन् भन्ने प्रष्ट्याएको छ ।
सन्देशमा भनिएको छ -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि साँधिएको प्रतिशोधले त गणतान्त्रिक मूल्य–मान्यता तथा राज्यका अगं र संरचनाप्रति नै चरम अविश्वास बढाएको छ । रवि लामिछाने प्रकरण राज्यका तीनवटै निकायले व्यक्तिमाथि गरेको संगठित अपराधको निकृष्ठ उदाहरण हो ।
सन्देशमा भनिएको छ- राजनीतिक शक्ति सन्तुलनका आधारमा व्यवस्थापिकाले दिएको प्रतिवेदन कार्यान्वयनको आवरणमा कार्यपालिकाले झुटा मुद्दा लगाउनु र न्यायपालिकाबाट समेत कार्यपालिकाको अभिष्टको अस्थायी अनुमोदन हुनुले विधिको शासनप्रति संशय बढाएको छ । संस्थागत राजनीतिक प्रतिशोधका यस्ता घटनाले विधिको शासनलाई कमजोर बनाउँछ र नागरिकमा भय पैदा गर्छ ।
सन्देशमा भनिएको छ- यी तमाम चुनौतीका बाबजुद, गणतन्त्र नै हामीले रोजेको र स्थापित गरेको सर्वोत्तम व्यवस्था हो । यसका कमजोरीलाई औंल्याउँदै सुधारका लागि आवाज उठाउनु राजनीतिक नेतृत्व, सामाजिक अगुवा र सचेत नागरिकको कर्तव्य हो । गणतन्त्र दिवसले हामीलाई आत्मसमीक्षा गर्न, विगतका गल्तीबाट सिक्न र गणतन्त्रका आदर्शलाई जीवन्त राख्न थप प्रतिबद्ध हुने प्रेरणा प्रदान गरोस् ।
सन्देशमा भनिएको छ- आशा गरौं, आगामी दिनमा दलहरूले आफ्नो एकाधिकारवादी चिन्तन त्यागेर नागरिकका आकांक्षालाई केन्द्रमा राखी संविधानको गतिशील संशोधन र कार्यान्वयनमा ध्यान दिनेछन् । र, राजनीतिक प्रतिशोधको भावनाबाट माथि उठेर स्वस्थ लोकतान्त्रिक अभ्यासलाई प्रवर्द्धन गर्नेछन् ।










