काठमाडौँ । गृहमन्त्री रमेश लेखकको राजिनामा माग गर्दै प्रतिपक्षले संसद अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै उनीहरुले संसद चल्न नदिएपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
बैठकको सुरुमै बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने चेतावनी दिएका थिए । उनले गृहमन्त्रीले नै सरुवा गरेको कर्मचारी अध्यागमनको कार्यालय प्रमुख भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले मार्ग प्रसस्त गर्नुपर्ने बताए ।
यस्तै, रास्वपाका सांसद शिशिर खनालले पनि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताए ।
प्रतिपक्षका विरोधका बिच सभामुखले सत्ता पक्षका सांसदलाई बोल्न समय दिएसँगै विपक्षी सांसदले नाराबाजी गरेसँगै बैठक स्थगित गरिएको हो ।
तस्बिरः गोपाल दाहाल÷रासस










