११ श्रावण २०८३, सोमबार
,
Latest
व्यावसायिक योजना बिना बनेका विमानस्थलमा करोडौँ लगानी, चार विमानस्थल वर्षौँदेखि बन्द काठमाडौंमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ : आँपको स्वादसँगै व्यापार र कूटनीतिक सम्बन्ध प्रवर्द्धन झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा पोखरामा अमेरिकी नागरिकको मृत्यु कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम सेयरविरुद्धको रिट खारेज, प्रिमियम रकम जगेडा कोषमा राख्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दिगो संरक्षणका लागि प्रकृतिमा आधारित समाधान’



अ+ अ-

काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले दिगो संरक्षणका लागि प्रकृतिमा आधारित समाधानलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

चीनको बेइजिङमा अन्तरराष्ट्रिय बाँस तथा बेत सङ्गठन (इन्बार) को सचिवालयको मुख्यालयमा आयोजित इन्बार परिषद्को १३औँ बैठकको आज उहाँले अध्यक्षता गर्नुभएको थियो ।

उहाँले विश्वका जल्दाबल्दा चुनौती, जलवायु परिवर्तनका प्रभाव, जैविक विविधता संरक्षण, दिगो जीविकोपार्जन र हरित आर्थिक वृद्धिलाई सम्बोधन गर्न बाँस तथा बेतको रूपान्तरणकारी क्षमता आवश्यक रहेकामा जोड दिनुभएको चीनस्थित नेपाली दूतावासले जनाएको छ ।

उहाँले सदस्य राष्ट्रहरूबीच ज्ञान र विशेषज्ञता आदानप्रदानले विश्वव्यापी दिगोपनाका प्रयास सुनिश्चित गर्दै प्रकृतिमा आधारित समाधानलाई विस्तार गरिने उल्लेख गर्नुभयो ।

बैठकमा मन्त्री शाहीले अध्यक्षताका क्रममा नेपालप्रति दर्शाएको विश्वासका लागि जनवादी गणतन्त्र चीन सरकार, सबै सदस्य राष्ट्रहरू र इन्बार सचिवालयप्रति आभार व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री शाहीले उरुग्वे र डोमिनिकन गणतन्त्रलाई इन्बारको नयाँ सदस्यका रूपमा स्वागत गर्नुभयो । कार्यक्रममा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले नेपालमा पाइने बाँस तथा बेतका विभिन्न प्रजातिको महत्त्वमाथि प्रकाश पार्दै माटो तथा पानी संरक्षण र जनताको जीविकोपार्जनमा सुधारका लागि बाँस तथा बेत महत्त्वपूर्ण रहेको बताउनुभयो ।

परिषद्को बैठकमा इन्बारका सदस्य राष्ट्रहरू तथा पर्यवेक्षक राष्ट्रहरूका प्रतिनिधिहरूको सहभागिता थियो । सन् १९९७ मा स्थापित, अन्तरराष्ट्रिय बाँस तथा बेत सङ्गठन एक अन्तरसरकारी विकास सङ्गठन हो, जसले बाँस तथा बेतको प्रयोग गरी वातावरणीय रूपमा दिगो विकासलाई प्रवर्द्धन गर्दै आएको छ ।

मन्त्री शाही नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही जेठ १० गते स्वदेश फर्कने कार्यक्रम छ । नेपाल हाल इन्बारको अध्यक्ष राष्ट्र हो । रासस