काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ ।
बाइडेनको कार्यालयले विज्ञप्ति जारी गर्दै उनलाई प्रोस्टेट क्यान्सर भएको र क्यान्सर हड्डीसम्म फैलिसकेको जानकारी दिएको हो । ८२ वर्षीय बाइडेनलाई युरिनसँग सम्बन्धित केही लक्षण देखिएपछि गत हप्ता चिकित्सककोमा जाँच गराएका थिए ।
परीक्षणपछि शुक्रबार उनलाई क्यान्सर भएको पुष्टि भएको हो । उनको क्यान्सर ‘हाई ग्रेड’ श्रेणीको रहेको जनाइएको छ, जसको अर्थ क्यान्सर कोशिकाहरू तीव्र गतिमा शरीरमा फैलिन सक्ने हुन्छन् । क्यान्सर रिसर्च यूकेका अनुसार यस्तो क्यान्सर बढी आक्रामक हुने सम्भावना हुन्छ ।
हाल बाइडेन र उनको परिवार क्यान्सरको उपचारका सम्भावित विकल्पहरूबारे समीक्षा गरिरहेको कार्यालयले जनाएको छ । साथै, यो क्यान्सर ‘हर्मोन–सेन्सेटिभ’ रहेकोले यसको उपचार सम्भव हुने जनाइएको छ ।
पूर्वराष्ट्रपति बाइडेनलाई क्यान्सर भएको खबर सार्वजनिक भएपछि अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको स्वास्थ्यप्रति चासो व्यक्त गरेका छन् । उनले बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छा व्यक्त गरेका छन् ।









