११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग–नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्कोः अध्यक्ष अकिहिको राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर) देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हलेसी तुवाचुङ नगरपालिका : बेरुजु फछ्र्योटमा बन्यो जिल्ला प्रथम



अ+ अ-

खोटाङ। जिल्लाको दोस्रो ठूलो स्थानीय तह हलेसी तुवाचुङ नगरपालिकाको नेतृत्वमा विमला राई हुनुहुन्छ ।

विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार एमालेका खडेन्द्र राईलाई पराजित गर्दै नेपाली कांग्रेसको तर्फबाट राई नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।

स्थानीय तह कार्यान्यवनमा आएपछि पहिलोपटक २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख राई यही नगरपालिकाको उपप्रमुखमा विजयी हुनुभएको थियो । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीसमेत रहेको यस नगरपालिकाको वर्तमान नगर उपप्रमुखमा कांग्रेसकै रमेशकुमार राउत हुनुहुन्छ ।

एघार वडा रहेको हलेसी तुवाचुङले गरेको सेवा प्रवाह जनपक्षीय रहेको सबै क्षेत्रबाट प्रतिक्रिया आउने गरेको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी रहेकाले पनि यो नगरपालिकाको सेवा प्रवाहमा सबैको नजर पुग्ने गरेको छ ।

महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले यस नगरपालिकामा शून्य दशमलव १५ प्रतिशतमात्र बेरुजु औँल्याएको छ । महालेखापरीक्षकले सार्वजनिक गरेको आव २०८०/८१ को प्रतिवेदनअनुसार हलेसीको रु २३ लाख ६७ हजार बेरुजु देखिएको छ । रु एक अर्ब ५६ करोड ८१ लाख ६२ हजारको लेखापरीक्षण गर्दा उक्त रकम बेरुजु देखिएको महालेखाको प्रतिवेदनले जनाएको छ ।

नगरपालिकाले बेरुजु फछ्र्योटमा उल्लेख्य सुधार गरेको विषयमा नगरप्रमुख राईले हरेक काम नियम, कानुन तथा कार्यविधिअनुसार गर्दा सकारात्मक नतिजा आएको बताउनुभयो । “हामीले हरेक काम नियम, कानुन तथा कार्यविधिभित्र रहेर गरिरहेका छौँ । नियम, कानुन तथा कार्यविधिले दिएको अधिकार प्रत्यायोजन गर्दा सकारात्मक नतिजा आउँछ”, “जुनसुकै क्षेत्रमा पनि महिलाले नेतृत्व गर्न सक्छ र महिलाले नेतृत्व गरेको निकाय पारदर्शी र सुशासनयुक्त हुन्छ भन्ने पुष्टि गर्नुछ । यसमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयको साथ, सहयोग र समन्वय आवश्यक छ ।”

दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिका बेरुजु फछ्र्योट गर्नेमा जिल्ला प्रथम भएको छभने प्रदेशमा तेस्रो तथा देशभरका सात सय ५३ स्थानीय तहमध्ये १०औँ स्थानमा आएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ऐसेलुखर्क गाउँपालिका दोस्रो तथा रावाबेँसी गाउँपालिका तेस्रो भएका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका पनि महिलाले नै हाँकिरहनुभएको छ । कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अरुणादेवी राईले ‘दीक्षा’ले हाँकिरहनुभएको यस गाउँपालिकाको बेरुजु एक दशमलव ४६ प्रतिशत अर्थात् रु ९७ करोड ५४ लाख आठ हजार लेखापरीक्षण गर्दा रु एक करोड ४२ लाख ५६ हजार बेरुजु देखिएको छ ।

जिल्लाका आठ गाउँपालिकामध्ये ऐसेलुखर्क गाउँपालिकाको सबैभन्दा कम शून्य दशमलव ५० प्रतिशत बेरुजु देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निर्वाचित गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले नेतृत्व गर्नुभएको ऐसेलुखर्क गाउँपालिकाको रु एक अर्ब १५ करोड १५ लाख आठ हजार लेखापरीक्षण गर्दा रु ५७ लाख ३५ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, गाउँपालिकातर्फ साकेला गाउँपालिकाको सबैभन्दा बढी २ दशमलव ४३ प्रतिशत बेरूजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । साकेलाको रु ८५ करोड ३२ लाख ५७ हजारको लेखापरीक्षण गर्दा रु दुई करोड ७१ लाख दुई हजार बेरुजु देखिएको हो ।

जिल्लाको सबैभन्दा सानो (पाँच वटामात्रै वडा रहेको) साकेला गाउँपालिकामा कांग्रेसका रविप्रकाश राई गाउँपालिका प्रमुख हुनुहुन्छ । गाउँपालिका प्रमुख राईको एकोहोरो जिद्धीले योजना बनाउँदा जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु देखिएको अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले प्रतिक्रिया दिएका छन् ।

रावाबेँसी गाउँपालिकाको रु ९० करोड २३ लाख छ हजार लेखापरीक्षण गर्दा शून्य दशमलव ७३ प्रतिशत अर्थात् रु ६५ लाख ७६ हजार, केपिलासगढी गाउँपालिकाको रु ९४ करोड २८ लाख ३६ हजार लेखापरीक्षण गर्दा शून्य दशमलव ४८ अर्थात् रु ७९ लाख ५२ हजार र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु एक अर्ब १४ करोड ४३ लाख ५५ हजार लेखापरीक्षण गर्दा एक दशमलव ०७ प्रतिशत अर्थात् रु एक करोड २२ लाख छ हजार बेरुजु देखिएकोे छ ।

त्यसैगरी, बराहपोखरी गाउँपालिकाको रु ८१ करोड ७८ लाख ९८ हजार लेखापरीक्षण गर्दा १ दशमलव ८८ अर्थात् रु एक करोड ५३ लाख ५४ हजार र खोटेहाङ गाउँपालिकाको रु एक अर्ब २८ करोड ९५ लाख १० हजार लेखापरीक्षण गर्दा १ दशमलव ४६ प्रतिशत अर्थात् रु एक करोड ८८ लाख ४३ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह ( १५ वटा वडा रहेको) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १ दशमलव २४ प्रतिशत बेरुजु देखिएको छ । नगरपालिकाको रु दुई अर्ब २९ करोड ६१ लाख एक हजारको लेखापरीक्षण गर्दा रु दुई करोड ८५ लाख दुई हजार बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पार्टी निकट व्यक्तिलाई योजना दिने र कार्यान्वयनमा समस्या आउने गरेकाले योजना फछ्र्योटमा समस्या देखिएपछि स्थानीय तहमा बेरुजु आउने गरेको जनाइएको छ । अघिल्लो वर्षहरूको तुलनामा यो वर्ष भने, जिल्लाका सबै स्थानीय तहले बेरुजु घटाएका छन् । रासस