९ असार २०८२, सोमबार
,
Latest
भिजिट भिसा प्रकरणको छानबिन गर्न पूर्वमुख्यसचिव वैरागीको नेतृत्वमा समिति गठन अमला रोका रिहालगत्तै पक्राउ विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त बजेटको सफल कार्यान्वयनमा सहकार्यको अपेक्षाः महिला मन्त्री सुडी घरेलु मदिराको बजारीकरण विशेष प्राथमिकतामा छः उद्योगमन्त्री भण्डारी खेलाडीको क्षमता अभिवृद्धिका लागि सरकारले योजनाबद्ध प्रयास गरेको छः मन्त्री चौधरी अनमोल केसीले साइन गरे ‘ए मेरो हजुर ५’ सलमान खान ‘ब्रेन एन्युरिज्म’ रोगबाट पीडित श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगी दर ०.६ प्रतिशतमा सीमित ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलरको रक्षा सम्झौतामा हस्ताक्षर



अ+ अ-

काठमाडौं । अमेरिका र साउदी अरबबीच १ खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा अमेरिका र साउदीबीच रक्षा सम्झौता भएको हो ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सम्झौता अनुसार साउदी अरबले एक दर्जनभन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध लडाइँसम्बन्धी उपकरण तथा सेवाहरू प्राप्त गर्नेछ । दुई देशबीच भएको यो सम्झौता इतिहासकै ठूलो रक्षा सम्झौता भएको ह्वाइट हाउसले जनाएको छ । सम्झौतामा राष्ट्रपति ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमानले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा वायु सेनाको उन्नति र अन्तरिक्ष क्षमता, हवाई तथा क्षेप्यास्त्र रक्षा, समुद्री तथा तटीय सुरक्षा, सीमा सुरक्षा र स्थल सेनाको आधुनिकीकरण तथा सूचना तथा सञ्चार प्रणालीको स्तरोन्नति लगायतका विषय समावेश छन् । त्यस्तै दुई देशबीच ऊर्जा, खनिज स्रोत, संक्रामक रोगसम्बन्धी सहयोग लगायत विषयमा पनि सहमति भएको छ ।

दुई देशबीचको सम्झौतामा हस्ताक्षर गर्ने क्रममा राष्ट्रपति ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमानलाई साथीको रूपमा सम्बोधन गरेका थिए ।

साउदी अरबले ‘अमेरिकामा लगानी गर्ने प्रतिबद्धता’ समेत जनाएको ह्वाइट हाउसले उल्लेख गरेको छ । अमेरिका वरपरका कृत्रिम बुद्धिमत्ता तथ्यांक केन्द्रमा साउदीको २० अर्ब डलरको लगानी छ । अमेरिकी प्रविधि फर्महरूबाट दुवै देशमा अत्याधुनिक रूपान्तरणकारी प्रविधिमा ८० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता गरेका छन् । त्यस्तै, साउदी अरबले १४ अर्ब २० करोड डलरको ग्यास टर्बाइन र ऊर्जा समाधान तथा ४ अर्ब ८० करोड डलरको बोइङ ७३७–८ यात्रुवाहक विमान निर्यात गर्ने भएको छ ।

गत २० जनवरीमा ट्रम्पले पदभार ग्रहण गरेलगत्तै भएको एक टेलिफोन कुराकानीमा साउदी युवराज एमबीएसले चार वर्षभित्र अमेरिकामा ६ खर्ब अमेरिकी डलर लगानी गर्ने वाचा गरेका थिए । सन् २०१७ मा ट्रम्पले १ खर्ब १० अर्ब डलरको सैन्य उपकरणसहित ४ खर्ब ५० अर्ब डलरभन्दा धेरैको सम्झौता भएको दाबी गरेका थिए । यसपटकको भ्रमणबाट ट्रम्पले साउदी अरबबाट १० खर्ब डलरसम्मको लगानी भित्र्याउने बताइएको छ ।

ट्रम्पले खाडी राष्ट्रबाट हुने लगानीले अमेरिकामा रोजगारी सिर्जना गर्न मद्दत गर्ने बताएका थिए । ‘मलाई साँच्चै विश्वास छ कि हामी एकअर्कालाई धेरै मन पराउँछौं,’ ट्रम्पले युवराज सलमानलाई भनेका थिए । त्यसक्रममा ट्रम्पले सन् २०१७ मा पहिलो कार्यकालमा गरेको साउदी भ्रमण पनि सम्झिएका थिए ।

राष्ट्रपति ट्रम्प पश्चिम एसियाको चार दिने भ्रमणका क्रममा मंगलबार साउदी अरबको राजधानी रियाद पुगेका हुन् । ट्रम्पसहितका वरिष्ठ अमेरिकी अधिकारीलाई साउदी युवराज मोहम्मद बिन सलमान (एमबीएस) ले किङ खालिद विमानस्थलमा स्वागत गरेका थिए ।

आफ्नो दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक यात्राका क्रममा उनले साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा निस्केका हुन् । पोप फ्रान्सिसको अन्तिम संस्कारमा सामेल हुन अप्रत्यासित रूपमा २७ अप्रिलमा भ्याटिकन पुगेका भए पनि ट्रम्पको साउदी भ्रमण दोस्रो कार्यकालको पहिलो कूटनीतिक भ्रमण हो ।

यसअघि अमेरिकी राष्ट्रपतिले बेलायत, क्यानडा वा मेक्सिको भ्रमण गर्ने परम्परा तोड्दै ट्रम्पले साउदी अरबलाई रोजेका हुन् । अमेरिकी राष्ट्रपतिको पहिलो विदेश भ्रमणले अमेरिकी विदेश नीतिको प्राथमिकता झल्काउने ठानिन्छ । त्यसकारण ट्रम्पले औपचारिक रूपमा पहिलोपटक कुन देशको भ्रमण गर्छन् भन्नेमा चासो थियो ।

राष्ट्रपति ट्रम्पको यो भ्रमण व्यापारमा केन्द्रित देखिएको छ । ट्रम्प अर्गनाइजेसनले साउदी अरबमा आफ्नो घर जग्गा साम्राज्य विस्तार गर्ने योजनामा छ । त्यस्तै राष्ट्रपति ट्रम्पले पश्चिम एसियाली साझेदारसँग सम्बन्ध बलियो बनाउन खोजिरहेका छन् । गत फेब्रुअरीमा साउदी सरकारी निकायले अमेरिकाको मियामीमा गरेको लगानी सम्मेलनमा पनि ट्रम्पले उक्त योजनाबारे बोलेका थिए ।