
एजेन्सी । भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईपीएल एक हप्ताको लागि स्थगित गरेको छ । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले शुक्रबार यो जानकारी दिए ।
उनले भने, ‘यो अब एक हप्ताको लागि स्थगित गरिएको छ । नयाँ तालिका एक हप्ता पछि जारी गरिनेछ ।’
यसैबीच, मिडिया रिपोर्टका अनुसार सबै विदेशी खेलाडीहरूलाई आफ्नो देश फर्कन भनिएको छ । नयाँ मिति घोषणा भएपछि उनीहरूलाई जानकारी गराइनेछ ।
हाल आईपीएलमा १२ लिग खेल र ४ प्लेअफ खेल बाँकी छन् । प्रतियोगिताको फाइनल मे २५ मा हुने तय भएको थियो । यसैबीच, अगस्टमा हुने भारतको बंगलादेश भ्रमण समेत रद्द हुने अनुमान गरिएको छ ।
हिजो राति करिब पौने ९ बजे पाकिस्तानले भारतको जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोनले आक्रमण गर्यो। यसै क्रममा हिमाचल प्रदेशको धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल भइरहेको थियो । यसलाई बीचैमा रोक्नुपर्यो ।
पहिले ब्याटिङ गरेको पञ्जाबले १०.१ ओभरमा १ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । त्यसपछि मैदानको फ्लडलाइटहरू निभाइयो र दर्शकहरूलाई घर पठाइयो । युद्धको अवस्थाका कारण शहरमा ब्ल्याकआउट लगाइयो र खेल रद्द गरियो । यो लिग चरणको ५८ औं खेल थियो ।