२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने



अ+ अ-

काठमाडौं । सरकारको निर्णयअनुसार भोली (सोमबार) बाट सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । 

सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलीबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् । आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलिदेखि यातायात सञ्चालन गर्ने बताएका छन् ।

विभागका महानिर्देशक गोगन बहादुर हमालले भोली (सोमबार) बिहानबाट यातायात सञ्चालन गर्ने बताउनुभयो । सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उहाँले बताउनुभयो ।

कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन भएको उहाँले बताउनुभयो ।

अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् । अहिले पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन् ।

व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।