
काठमाडौं । वर्षाका कारण काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ र नारायणगढ–बुटवल सडकखण्ड अबरुद्ध भएको छ । गएरातिदेखि सडक अवरुद्ध भएपछि यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
गएरातिदेखि परेको वर्षाका कारण बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा काठमाडौं–हेटौंडा जाने कान्तिलोकपथ अवरुद्ध भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोलामा डाइभर्सन बगाउँदा सडक पूर्णरूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि आज बिहान ६ बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली खटिएर अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी नारायगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक हिलाम्मे भएर चिप्लो भएपछि सडक अवरुद्ध भएको छ ।
सडकमा गाडि नै चिप्लिने भएकाले यो सडक भएर यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय नवलपुरले अनुरोध गरेको छ । सडक विस्तारको क्रममा रहेको दाउन्ने खण्डमा पानी पर्दा हिलो र नपर्दा धुलो हुने हुँदा यात्रा कष्टकर हुने गरेको छ ।
सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि वर्षाका कारण सडक बन्द भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।