काठमाडौं । देशकै जेठो अस्पताल वीरले पर्याप्त शय्या अभावका कारण विरामीलाई रेफर गर्ने गरेको छ । वीर अस्पतालले आकस्मिक सेवाका विरामीका लागि आईसियू पर्याप्त नभएका कारण अन्यत्र रेफर गर्ने गरेको हो । स्वास्थ्य सेवा सञ्चालन मापदण्ड–२०७० मा अस्पतालमा कुल शय्याको न्यूनतम १० प्रतिशत आकस्मिक सेवाका लागि हुनुपर्ने उल्लेख छ । अस्पतालमा हाल ४ सय ६० शय्या रहेको आधारमा आकस्मिक सेवाका लागि न्यूनतम ४६ शैया हुनुपर्छ । तर, आकस्मिक सेवाका लागि ४३ शय्यामात्र सञ्चालनमा छ ।
एउटा शैया दुईदेखि तीन विरामी राखी उपचार सेवा दिएको देखिएको छ । विरामीलाई आकस्मिक सेवा दिने अवस्थाअनुसार शय्या वर्गीकरण नगरेको महालेखा परीक्षकको ५७औं प्रतिवेदनले औंल्याएको छ । उता, वीर अस्पतालमा कार्यरत २६ चिकित्सक दैनिक तीन घण्टा हाजिर गरेर टाप कस्ने गरेको पाइएको छ । २६ चिकित्सकको २०७५ साउनको विद्युतीय हाजिर परीक्षण गर्दा महिनामा ९३ घण्टादेखि १ सय ४३ घण्टासम्म मात्रै उपस्थित हुने गरेको पाइएको हो । जसका कारण विरामी सहजसरल सेवा लिनबाट बञ्चित छन् । अस्पतालमा उपकरण अभावमा विरामी प्रत्यक्ष मारमा परेका छन् । उपकरण र आवश्यक चिकीत्सक अभावमा न्यूरो, हाडजोर्नीजस्ता शल्यक्रियाका लागि तीन महिनासम्म प्रतिक्षा गर्नुपर्ने बाध्यता छ ।
अस्पतालले क्यान्सर उपचारका लागि अत्यावश्यक मानिएको सीटी सिमुलेटर र टोमोथेरापी मेसिन दुई वर्षअघि ४७ करोड ९० लाख ६० हजार रुपैंयामा खरिद गरे पनि उपयोेग गरेको छैन । मेसिन प्राप्त भएको दुई वर्ष ९ महिना बितिसक्दासमेत जडान नहुँदा क्यान्सर उपचार सेवा प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । मर्मत गर्नुपर्ने उपकरण थन्किएका छन् । वीर अस्पतालले नियमविपरीत कर्मचारीलाई सेवासुबिधा उपलब्ध गराएको पनि देखिएको छ । अस्पताल विकास समितिले नियुक्त गरेका कर्मचारीको पारिश्रमिक एवंम अन्य सुविधा नियमविपरीत सरकारको अनुदानबाट १४ करोड १० लाख २२ हजार खर्च लेखेको पाइएको छ ।
पछिल्लोपटक एक वर्षमा बहिरंगतर्फ ३ लाख ७८ हजार ५ सय १८, आकस्मिकतर्फ ४४ हजार ५ सय ३९ र भर्ना भएका १३ हजार १ सय ६८ विरामीले उपचार सेवा पाएका छन् । प्रत्येक वर्ष विरामी चाप बढ्दै गए पनि सेवा प्रवाह गुणस्तर सुधारमा वीरले ध्यान दिनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ । राजधानी दैनिक