
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीतिक आन्दोलनमा नेपालमै निर्णय गर्नसक्ने सामथ्र्यको आवश्यकता रहेको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शासक बन्न चाहने मनोवृत्ति सबैमा रहेपनि नागरिकलाई कसरी सुख र शान्ति दिने भन्नेकुराको योजना नरहेको बताउनु भयो । उहाँले अहिले पनि थाइल्याण्डमा सरकारको बारेमा कुरा हुनु लज्जास्पद भएको बताउनु भयो । उहाँले अस्थिरता छ भन्ने सबैलाई लागेको तर स्थरताको आधार तयार पार्न राष्ट्रिय सहमति नै बन्न नसकेको बताउनु भयो ।
उहाँले नेपालमै निर्णय गर्नसक्ने र नेपालको व्यवस्थाको बारेमा निर्णय लिनसक्ने सामथ्र्य नेपालको राजनीतिक आन्दोलनमा जरुरी रहेको बताउनु भयो । नेपाली समाज अन्तरघुलित समाज भएको भन्दै नेपालमा केन्द्रिकृत राष्ट्रियता निर्माण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले बहुदलमा पनि विदेशीकै नक्कल, संविधान लेख्न पनि विदेशीकै नक्कल गरिएको बताउनु भयो । नेपालका नागरिक सुन्नमात्रै विवश हुनुपरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाली समाज हाम्रो गाउँ घरमा बस्दा अन्तरघुलित समाज हो । त्यहाँ जाति, जनजाति छ, श्रमीक छ । मधेस छ, पहाड छ । यि सबै चिजको फरक छ । शिष्टता, भावनात्मकता । सामुहिकता फरक छन् । नेपालमा केन्द्रिकृत राष्ट्रियता निर्माण गर्न सकिरहेको छैन । केन्द्रिकृत सिस्टमको अवधारणा विकास गर्न सकिरहेको छैन । बहुदल भन्यो भने पनि विदेशीकै नक्कल । हाम्रो संविधान लेख्नुप¥यो भने पनि हाम्रो अगाडि ब्रिटेन, भारतको संविधान राख्ने, अरु अरुको संविधान राख्ने । तिनै बुँदाहरु सार्ने, अनि लाद्ने । नेपाली समाजको लोकतन्त्र यही हो । बोल्न पाइन्छ, लेख्न पाइन्छ, यसो गर्न पाइन्छ, उसो गर्न पाइन्छ, यस्तो टाइपको छ । समाजवाद भन्यो भनेपनि रसियाको लेनिनको पालाको दस्ताबेज उल्ट्याउने, माओको उल्ट्याउने, त्यही ट्याप ट्याप टिप्ने सार्ने आफ्नो अलिकति राख्ने अनि देखाउने । यसले नेपालमा केन्द्रिकृत बन्न सकिरहेको छैन । १ सय २० वटा पार्टी दर्ता छन् अहिले । सबैले आफूलाई नै ठिक भन्छन् । कसैले कसैलाई सपोर्ट गर्दैनन् । अस्थिरता छ भन्ने छ तर स्थिरताको आधार तयार पार्न राष्ट्रिय सहमति नै बन्न सकिरहेको छैन । शासक बन्न चाहने मनोवृत्ति सबैमा रहने, तर त्यसले आफ्नो अवधारणा सुव्यवस्थित गर्न नसक्ने हुँदा अलग थलग परिरहेको छ । नेपालमै निर्णय गर्नसक्ने सामथ्र्य नेपालको राजनीतिक आन्दोलनमा जरुरी छ । यहाँको सिस्टमको बारेमा निर्णय लिने । अधिकृत भन्दा माथि जाँदा दुतावास धाउने स्थिति आउन थालिसक्यो । प्रहरी वा आर्मीमा त के छ सबैतिर एउटा निश्चित पोस्ट भन्दा माथि जाँदा विदेशीका घर घर धाउनुपर्ने स्थिति निर्माण नेपालमा भएको छ । राष्ट्र निर्माणको आधार नै छैन । सरकारको कुरा थाइल्याण्डमा हुने भनेपछि यस्तो लज्जास्पद कुरा के हो । नेपालमा नागरिक सुन्न मात्रै विवश भए । नयाँ बहसको आवश्यकता छ ।’
महासचिव चन्दले अर्काको टेको बिना बाँच्नै सकिँदैन भन्नेकुरा गलत रहेको बताउनु भयो । उहाँले नेताहरुले यस्तो मनस्थिति हटाउनुपर्ने बताउनु भयो । उहाँले संघीयता मात्रै भनेर नहुने भन्दै एकीकृत राष्ट्रियता निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको अवस्था खेतमा मुसाले प्वाल नै प्वाल पारेको जस्तो देखिएको बताउनु भयो । उहाँले नेपालमा संस्कृति नै मासिँदै गएको उल्लेख गर्नुभयो । बालुवाटार र सिंहदरबारमा नभइ जनताको झुपडीमा बसेर देशको नेतृत्व गर्ने चाहना आफ्नो रहेको बताउनु भयो ।