काठमाडौं । नेपालमा लोकतन्त्र स्थापनाको १९ वर्ष पूरा भएको छ । २०६२/६३ सालको जनआन्दोलन सफल भएपछि २०६३ साल वैशाख ११ गते तत्कालीन राजाको हातबाट राजनीतिक दलहरुले सत्ता खोसे लिएको दिनको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदै छ ।
१९औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुन:स्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।
त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुन:स्थापित गरिएको छ ।”
निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो ।
जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई सङ्घीयतामा प्रवेश गराएको हो । सोहीबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ ।
राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पुर्याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा सङ्घीताको अभ्याससँगै सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ ।
यसैबीच, लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन र शान्तिकामी राजनीतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभएका छन् । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयङ्गम गरी सम्पूर्ण राजनीतिक शक्ति समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।
विसं २०६२/६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
नेपालमा लोकतन्त्र स्थापनाको १९ वर्ष पूरा भए पनि नेतृत्वको प्रवृत्ति परिवर्तन नहुँदा जनताले लोकतन्त्रको प्रत्याभूति गर्न गाएका छैनन् । लोकतान्त्रिक व्यवस्थामा राज्य सञ्चालनको जिम्मेवारी राजनीतिक दलहरुलाई हुन्छ । तर दलहरुले कहिल्यै राजनीतिक स्थायित्व कायम गर्न सकेका छैनन् । पार्टीगत र व्यक्तिगत स्वार्थमा नेताहरु रुमलिँदा जनताको जीवनमा परिवर्तन आउन सकेको छैन ।
देशमा भ्रष्टाचार बढेका छ । अर्थतन्त्रले लय समात्न सकेको छैन । देशबाट दैनिक २ हजारभन्दा बढी युवा शक्ति बाहिरिँदै गएको छ । रोजगारीका अवसर छैनन् । सरकारी सेवा पाउन घूस खुवाउन र बिचौलियाको पछि लाग्नुपर्ने बाध्यता छ । त संविधानको सफल कार्यान्वयन नै भएको छ । संविधान जारी भएको १ दशक हुन लाग्दा पनि यसको कार्यान्वयन भएको छैन । संविधानको आफूखुशी ब्याख्या गर्ने र यसको मर्मविपरित काम हुने गरेका छन् । त्यही कारण पनि जनतामा निराशा देखिएको छ ।
पछिल्ला दिनहरुमा लोकतान्त्रिक व्यवस्थाविरुद्धका आवाजहरु पनि बलियो हुँदै आएको सुनिन्छ । जनताले लोकतन्त्रको विरोध भन्दा पनि नेतृत्वको कार्यशैलीको अक्षमताको विरोध गरेका छन् । त्यसैको घानमा लोकतन्त्र परेको हो । लोकतान्त्रिक व्यवस्था सञ्चालनको जिम्मेवारी बोकेका दल र उनीहरुको नेतृत्व नसुध्रिने हो भने लोकतान्त्रिक व्यवस्था भनेर मात्र जनता चुप लागेर बस्ने अवस्था देखिँदैन ।










