काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सरकारसँग वार्तासमेत नगर्ने अड्डी कसेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका शिक्षकप्रति आक्रोस व्यक्त गरेकी छन् ।
नेतृत्व झाँक्रीले आज सामाजिक सञ्जालमार्फत् सरकारसँग वार्ता नै नगर्ने अडान नै गलत भएको बताएकी छन् । उनले शिक्ष ऐन पास नभएसम्म विद्यालय फर्कंदैनौं भन्ने कुरा गर्नु उचित नहुने बताइन् । ‘के ऐन सडकबाट पास हुने हो र ?’ उनले भनेकी छन् ।
नेतृ झाँक्रीले शिक्षकहरुलाई जिम्मेवारीमा फर्कनसमेत आग्रह गरेकी छन् ।
उनले ‘अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो’ भन्दै सामाजिक सञ्जालमा लेखेकी छन् –
मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु । यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ । के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखें । मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौं भन्ने लाग्यो । शिक्षक, सरकार र संसदको बिचमा समन्वय र संवाद गराउनुपर्यो भनेर धेरै कोणबाट उहाँहरूसँग कुरा पुरार्याउने, संवाद गर्ने प्रयास पनि गरें । तर उहाँहरू त संवाद नै नगर्ने रे ? शिक्षा ऐन ऐले पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्कदैनौ भन्नुहुन्छ । के ऐन सडकबाट पास हुने हो र ?
विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुँदैन ? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौ भन्न मिल्छ ? राज्यको तलव खाएका शिक्षक कर्मचारीले ? भर्नाको बेला विधालय बन्द गरेर लाखौ विधार्थीको भविश्य अन्योल बनाउन मिल्छ ? निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेका छन् । यहाँहरूले पढाएका कयौं विद्यालयको एसईईको रिजल्ट सून्य छ । के यो विषयमा चिन्चित हुनहुन्छ ? आगामी दिनमा सुधार्न के गर्नुपर्छ भनेर कतै छलफलमा रूचि देखाउनु भएको छ ? ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको छ । सरोकारवाला सबैको चासो पनि छ । शिक्षकहरूले यतिसम्म ध्यानाकर्षण गराउनु ठिकै हो । किनभने ऐन पहिले नै आउनुपर्ने थियो, आउन सकेन । अब आउँछ । विधेयक समितिमा दफाबार छलफलमा छ । विधेयक संशोधनसहित पास हुने भएकाले पनि छलफलले समय लिएको हो । अब भने विधेयक समितीबाट पास हुने प्रक्रिया छ । समितीले पास गरेपछि हाउसमा जान्छ । सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ । सर/मेडमहरू अब विद्यालयमा फर्कनुस् । आफ्नो जिम्मेवारी बहन गर्नुस् । सरकार र संसदलाई विश्वास गर्नुस् । जिम्मेवार नेता साथिहरू! ऐक्यवद्धताको रमिता तपाईहरू पनि नगर्नुस बल र कोर्ट दुबै तपाईकै खुट्टामा छ ।










