५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.49

Wind: 2.06

Humidity: 78

तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु



अ+ अ-

काठमाडौं । नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नववर्ष २०८२ र प्रतिष्ठानको १६ औँ स्थापना दिवसको सन्दर्भ पारेर मङ्गलवारबाट ‘ललितकला मेला– २०८२’ सुरु भएको छ ।

मेलाको प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभयो । उहाँले कलाले ज्ञान, अध्ययन तथा अनुसन्धानको गहिराइमा पुगी समाजको अन्तर्चेतना जगाउने काम गर्ने अनि समाजलाई सही बाटामा लाग्न उत्प्रेरित गर्ने काम गर्ने बताउनुभयो । कला क्षेत्रका परम्परागत ज्ञान, सिपलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उहाँले यही नै पछिका लागि इतिहास बन्ने धारणा राख्नुभयो । ‘यसरी जीवनदर्शन तथा समाजको परिवेश बोकेको कलामा साधनारत कलासाधकहरू आफ्नो गन्तव्य तय गरी लाग्नुपर्दछ ।’, पाण्डेले भन्नुभयो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले पहिलो पटक आयोजना गरेको मेलामा कला सरोकारी, ललितकर्मी, विद्यार्थी, सर्वसाधरणलगायतको उल्लेख्य उपस्थिति रहँदा प्रतिष्ठानलाई थप ऊर्जा मिलेको बताउनुभयो । नेपाली कला क्षेत्रलाई थप चलायनमान बनाउन यस कार्यक्रम गरिएको बताउँदै उहाँले मेलालाई आगामी वर्ष अझ भव्य रूपमा आयोजना गरिने जानकारी गराउनुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै ठुलो कुरा सुरुवात साना–साना प्रयासबाटै हुने बताउनुभयो । प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रम संयोजक लालकाजी लामाले नेपाली ललितकला क्षेत्रमा साधना, सिर्जना र अभ्यासमा रहेका कलाका विविध विधालाई समेटेर मेलाको आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतिष्ठानलाई कला हबका रूपमा विकास गर्न यस मेलाले महत्वपूर्ण सहयोग गर्ने धारणा राख्नुभयो ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले मेलाले ललितकलाका माध्यमबाट नेपाली मौलिक संस्कृतिको प्रचार–प्रसार, नेपाली ललितकलाको बजार प्रवर्धन, कला पर्यटनको विकासलगायतका क्षेत्रमा थप सहयोग गर्ने बताउनुभयो ।

विभिन्न माध्यमहरूमा बनेका चित्रकला, मूर्तिकला, हस्तकलालगायत लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायतका विधा तथा कला सामग्रीको बजार विकास र प्रवर्धन कार्यको थालनीका लागि यस मेला गरिएको हो । मेलाका माध्यमबाट यी विविध विधाका कलाकार, समालोचक, अध्येता, बुद्धिजीवी, अनसन्धाता, कलाकृति तथा कला वस्तुहरूसँगै सर्जकहरूसमेतलाई एकै थलोमा भेला गराई स्थलगत रूपमा ललितकलाको प्रवर्धन तथा कलाकारको सम्मान र ललितकलामार्फत देशको सांस्कृतिक अर्थतन्त्रमा योगदान दिने रहेको छ । समग्रमा यस मेलाले नेपाली ललितकलाको विकासमा टेवा पु¥याउने छ । ४५ भन्दा बढी स्टल रहेको मेला वैशाखको ६ गतेसम्म चल्ने छ ।

तस्बिरहरु ः प्रकास मगर