९ बैशाख २०८२, मंगलवार
,
Latest
नेपाल उसु महासंघको जज र डिप्लोमा कोर्षको मन्त्री चौधरीद्वारा उद्घाटन अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ की के बिनाकोः प्रधानमन्त्री ओली शिक्षामन्त्रीले राजीनामा दिनुभयो, सञ्चारमाध्यमले ममाथि योजनावद्ध रुपमा आक्रमण गरेः प्रधानमन्त्री ओली शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिनू, गम्भीर परिणाम भोग्नुपर्लाः अध्यक्ष दाहाल नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोपः टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

साँखुमा बज्रयोगिनी माई जात्राको रौनक



अ+ अ-

काठमाडौँ। नेपाल शिरोमणिसमेत भनिने बज्रयोगिनी माईको जात्रा साँखुमा सुरु भएको छ । चैत्र शुक्ल अष्टमीका दिन बज्रयोगिनी माईलाई निमन्त्रणा दिने पूजा भए लगत्तै जात्रा सुरु भएको मानिन्छ । औपचारिक जात्रा भने चैत्र शुक्ल पूर्णिमादेखि नै सुरु हुन्छ ।

नेवारी परम्पराअनुसार चैत्र शुकल अष्टमी अर्थात् गत चैत २३ गतेदेखि नै साँखु बजारमा छालाको जुत्ता निषेध गरिएको छ । यो जात्रा चलेका बेला पानी पर्दासमेत साँखुमा छाता ओढ्न नपाइने नियम  छ । यसैगरी घोडा हात्ती चढ्न नपाइने, घर भत्काउन र नयाँ बनाउन नपाइने, छतमा चढेर काम गर्न नपाइने जस्ता नियम लागू भएको छ ।

साथै झै–झगडा गर्न नपाइने, साहुले ऋणीलाई समात्न नपाइने, यी र यस्ता नियमहरु उर्दी लाउने परम्परा छ । पूर्णिमाका दिन चैत ३० गते बज्रयोगिनी माता, सिंहिणी, व्याघ्रिनीलगायत देवीदेवता रथमा सवार गराइ बज्रयोगिनीबाट साँखु बजार ल्याइएको छ । यो जात्रा साँखुका आठ वटै टोलमा प्रत्येक वर्ष पालैपालो राख्ने परम्परा रहेको स्थानीयवासी बताउँछन् ।

यो जात्रालाई साँखुको मात्रै हैन उपत्यकाकै विशेष जात्राको रुपमा लिइन्छ । यहाँको रथ ठूला ठूला हुने र देवी देवता पनि खुला रुपमा राखिने हुँदा अन्य सहरहरुमा हुने जात्राको तुलनामा देवीदेवताको मूर्ति भव्य देखिने गर्छ ।

पूर्णिमादेखि सुरु हुने जात्रामा प्रतिपदाको दिनलाई शून्यका भनिन्छ । द्वितीयाको दिनलाई नखः र तृतीयाको दिन साँखु बजारमा बज्रयोगिनी माईलाई सिंहिणी, व्याघ्रिनीलगायत बसुन्धरा माताको समेत नगर परिक्रमा गराइन्छ ।

चतुर्थीको दिनलाई मू–भुज्या भनिन्छ भने पञ्चमीको दिनलाई धुँभूज्या र षष्ठीको दिनलाई बौविज्या भनिन्छ । सप्तमीको दिनलाई थहाँ विज्याः भनिन्छ । यस दिन बज्रयोगिनी माईलाई बज्रयोगिनी फर्काउन विशेष होम गरी साँखुमा पूजा आजा सकिएपछि मात्रै देवी देवताहरु रथमा सवार गराउने परम्परा रहेको यहाँको संस्कृतिका बारेमा खोज अनुसन्धान गरिरहनुभएका प्रकाशमान श्रेष्ठ सक्वले राससलाई जानकारी दिुनुभयो ।

राति रथमा राखिने भएकाले एक आधा घण्टा जात्रा गरी सकिन्छ । भोलिपल्ट अष्टमीको दिन भने साँखुबाट देवी देवताहरुको रथ बज्रयोगिनी पु¥याई जात्रा समापन गरिन्छ । यस क्रममा साँखुको कोलागाल कटेपछि घुमारचोकका स्थानीय तामाङ समुदायले माईलाई माईती फर्काउने भन्दै जात्रामा सहभागी हुनुका साथै उनीहरुले सो दिन विशेष पूजा आजाका साथ भोज भतेर गर्दछन् । यो जात्रामा नेवार र तामाङ समुदायको मिलन हुने गर्छ ।

नेवार समुदायले दशमी र एकादशीको दिन राजा रानीको तर्फबाट विचाः पूजा भनी बज्रयोगिनी माईलगायत सम्पूर्ण देवीदेवताको पूजा आजा गरी वनभोज खान जाने चलन छ । यसरी पूजा गर्न जाने कामलाई नेवार समुदायले विचाःपूजा भन्दछन् । यसको अर्थ देवी देवताको हालखबर बुझ्न जानु हो भन्ने बुझिन्छ ।

बज्रयोगिनी जात्राका लागि मल्लकालमा राजा आफँै आउने  व्यवस्था थियो ।  अन्तिम मल्ल राजा जयप्रकाश मल्ल युद्धमा रहँदा उनले खड्गलाई नै आफ्नो प्रतिनिधित्व मान्नु भनेर पठाएपछि हालसम्म राज खड्ग ल्याउने परम्परा कायमै रहेको विश्वास गरिन्छ । बज्रयोगिनी जात्रामा साँखु वरपरका बासिन्दा मात्र नभई उपत्यका बाहिरका श्रद्धालु दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । रासस